कारोबार संवाददाता
शुक्रवार, असार १२, २०७७
668

साना तथा मझौला होटल व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् । व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघ नेपालले १४ बुँदे माग राख्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो ।
विहिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर महांसघले कोरोना महामारीका कारण गरिएको लकडाउनले मुलुकभर करिब ८० हजार होटल व्यवसाय पूर्ण रुपमा बन्द रहेको अवस्थामा सरकारले ठूला तारे होटल र साना होटलहरु बीच विभेद गरेको आरोप समेत लगाएको छ । महासंघका अध्यक्ष हिराध्वज शाहले कोरोना संक्रमण सुरु भए लगतै क्वारेन्टाइन राख्न बिना शुल्क होटल दिन तयार रहँदा समेत छ महिनाका लागि सबै होटल बन्द गर्ने निर्णय गरेका तारे होटलसँग सम्झौता गरेर महँगो शुल्क तिर्न बाध्य पारिएको भन्दै विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्न माग गरे ।

व्यवसायीहरुले तीन वटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउन समेत उनले माग गरे ।
होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन् । यस्तै, लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महशुलमा १ वर्ष सम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न पनि व्यवसायीहरुले माग गरेका छन् ।