कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
466

वायु सेवा सञ्चालक संघले हवाइ इन्धनको मूल्य घटाउन माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै कम भन्दा कम मुनाफा राखि (लिटरको १० रुपैयाँभन्दा कम) मूल्य समायोजन गर्न माग गरेको हो ।
हवाइ इन्धनको मूल्य घटेमा सर्वसाधारणको यात्रालाई सुलभ र सहुलियतपूर्ण हुने संघले विज्ञप्तिमा उल्लेख गरेको छ । यसबाट वायु सेवा कम्पनीहरुलाई पनि राहत पुग्न जाने संघको धारणा छ ।

हवाई इन्धनको मूल्यमा उतारचढाव हुँदा वायुसेवा उद्योगको सञ्चालन खर्च लगायत नाफाघाटा निकै प्रभावित हुने गरेको संघले जनाएको छ । वायु सेवाको कूल खर्चको ३५ देखि ४० प्रतिशत हवाई इन्धनको रहने गरेको छ ।
संघले विश्व बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अप्रत्याशित ढंगले घटेको उल्लेख गर्दै छिमेकी मुलुकलगायत अन्य मुलुकहरुले डिजल र पेट्रोलको मूल्य स्थिर राखी बढी रकम अन्य राष्ट्रिय खर्चमा लगाएको जनाएको छ । लामो भूमिका बाँधेर संघले हवाइ इन्धनको भाडा घटाउन भनेको हो ।
छिमेकी राष्ट्रहरुको दाजोमा नेपालको आन्तरिक वायु सेवा कम्पनीहरुले किन्ने इन्धन महँग परेकाले ब्ययभार पनि बढी रहेको विज्ञप्तिमा उल्लेख छ । त्यसैले मूल्य घटाउनु पर्ने संघको भनाइ छ । अहिले लकडाउनका कारण हवाइ सेवा बन्द छ ।