कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
432

लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी हुन अब एक हप्ताको समय बाँकी रहेको छ । हालसम्म ५ सय भन्दा बढी तस्बिरहरु प्राप्त भइसकेको छ ।
प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिनेछ । सहभागीहरुले आगामी जेठ १८ सम्म फोटोहरु पठाइसक्नुपर्ने छ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट फोटो नेपाल डट ट्राभलमार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीले जनही दश हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भने, “उत्साहजनक सहभागिताले नेपालका विविधता सशक्त रुपमा प्रस्तुत गरिरहेको र अब बाँकी एक हप्तामा सहभागिताको संख्याले अर्को चरण पार गर्नेछ ।”
जेठ १९ देखि असार १ सम्म मन परेको फोटोमा भोट गर्न सकिनेछ । यसका लागि फोटो नेपाल डट ट्राभलमा गएर मन परेको फोटो लाइक गर्न सकिन्छ । भोटिङ पछि विज्ञ सम्मिलित टोलीको निर्णायक समितिले विजेताको घोषणा गर्ने छ ।