प्रकाश पाक्साँवा
मंगलबार, जेठ १३, २०७७
424

तेह्रथुम-तक्मिनाक्ला (हात्तीचौतारी) तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा निर्माण गरिएको ऐतिहासिक स्तम्भ हो । पूर्वी नेपालमा बसोबास गर्दै आएका खेवा लिम्बूहरूको ऐतिहासिकतासँग जोडिएको योस्तम्भ संरक्षणमा ध्यान नपुग्दा जीर्ण बन्दै गएको छ ।
स्थानीय तथा देशविदेशमा रहेका युवाको सहयोगमा निर्माण गरी यो स्तम्भ संरक्षणका लागि कार्यसमिति तथा स्थानीय सरकारले चासो नदिँदा जीर्ण बन्दै गएको हो । स्थानीय तथा विभिन्न मुलुकमा रहेका युवाबाट रकम संकलन गरी २०७० सालमा यो स्तम्भ निर्माण गरिएको तक्मिनाक्ला संरक्षण समितिका पूर्वअध्यक्ष महेन्द्र मादेनले बताए ।

पर्यटन प्रवद्र्धनका निम्ति स्थानीय सरकारले बर्सेनि लाखौं रुपैयाँ खर्चे पनि यो स्तम्भका लागि चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । छथरमै पहिलो पटक युवाको पहलमा निर्माण गरिएको यो स्तम्भ संरक्षण अभावमा जीर्ण देखिँदा आन्तरिक पर्यटकको नजर कमै मात्रामा पर्ने गरेको छ । यो स्तम्भ र खेवा लिम्बूहरूको छुट्टै किम्वदन्ती रहेको निर्माण समितिका पूर्वसचिव कमान सिंह आंखेवाले बताए ।
पर्यटन विकास तथा ऐतिहासिकतालाई संरक्षण गर्न निर्माण गरिएको स्तम्भ संरक्षणमा समितिले नै ध्यान दिएको छैन । खेवा लिम्बूहरूको इतिहास बोकेको स्तम्भ संरक्षणका लागि स्थानीय सरकारमा अहिलेसम्म कुनै कार्ययोजना नआएकाले सरकारको पनि ध्यान पुग्न नसकेको छथर गाउँपालिका–६ का वडाध्यक्ष टेकराज लिम्बूको भनाइ छ । यस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको सरंक्षणमा सरोकारवाला वर्गको ध्यान जान आवश्यक देखिन्छ ।