कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४
522

 कोसीटप्पु वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ मानिएका चरा र अर्नाको अवलोकनका लागि आउने पर्यटकको संख्यामा कमी आएको छ । सुनसरीको सप्तकोसी नदीको जलाधार क्षेत्रमा पर्ने कोसीटप्पुमा पर्यटकलाई घुमाउन प्रयाप्त हात्ती नहुँदा पर्यटकहरू आउन छाडेको बताइएको छ ।
हात्तीमाथि चढेर जंगल सफारी गर्दै विश्वमै दुर्लभ मानिएको बबुल जातीको अर्ना र विभिन्न प्रजातिका चराहरूको अवलोकनका लागि देश तथा विदेशबाट पर्यटकहरू कोसीटप्पु आउने गर्छन् । तर, पछिल्लो समय जंगल सफारी गराउने हात्तीको संख्या कम भएसँगै यहाँ आउने देशी तथा विदेशी पर्यटकको संख्यामा कमी आएको आरक्ष प्रशासनले जानकारी दिएको छ । हाल ५ हात्तीले मात्रै जंगल सफारी गराउँदै आएका छन् ।

सप्तकोसीको नदी किनार तथा वन्यजन्तुको आरक्ष केन्द्र रहेको कोसीटप्पु वन्यजन्तु आरक्षमा घुम्न आउने पर्यटकको प्रमुख चाहना हात्ती सफारी नै हुने गरेको छ । चितवनपछि हात्ती सफारी पूर्वमा सुनसरीको कोसीटप्पुमा मात्रै हुने गरेको छ । विशेष गरी विदेशी पर्यटक हात्तीमा सफारी गर्दै चरा अवलोकनका लागि आउने गरेका छन् । हात्तीको कमी हुँदा केही ट्राभलिङ एजेन्टको रूपमा काम गर्दै आएका होटलहरूले पर्यटकलाई गाडिबाटै जंगल सफारी गराउन थालेका थिए । तर, सुरक्षाको कारण देखाउँदै त्यो पनि अहिले बन्द गरिएको छ ।
आरक्षका संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार यस वर्ष कोसीटप्पुमा करिब ८ हजार मात्रै पर्यटक आए । अघिल्लो वर्ष करिब ९ हजार पर्यटकले आरक्षको भ्रमण गरेका थिए । घुम्न आउने पर्यटकको संख्या प्रत्येक वर्ष घट्दै गएको अधिकृत शाहले जानकारी दिए ।
आरक्षमा रहेका १० दरबन्दि हात्तीमध्ये ५ हात्ती काजमा चितवन लगिएको थियो । ०४५ सालमा लगिएका हात्ती हालसम्म फर्काइएको छैन । आरक्ष क्षेत्रमा रहेका हात्तीका कारण जंगली हात्तीहरू आरक्ष क्षेत्रमा आएर दुःख दिने गरेको कोसीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत श्यामकुमार शाह बताउँछन् । कोसीटप्पुको क्षेत्रफल सानो भएका कारण हात्तीलाई असहज भएको अधिकृत शाहको भनाइ छ ।
यता, आरक्षसँगै जोडिएको सुनसरीको कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी चितवन लगिएका हात्ती आरक्ष फर्काउनुपर्ने बताउँछन् । चितवनमा रहेका हात्तीलाई यतैको आरक्षबाट रासन खुवाउने गरेको भन्दै अध्यक्ष अन्सारीले भने, “हात्ती आरक्षको सम्पत्ति हो जसरी पनि सुनसरी फर्काउनुपर्छ ।”
वन्यजन्तु सम्बन्धि धेरै अधिकार केन्द्र सरकारसँग मात्रै रहेको आफूले थाहा पाएको भन्दै अन्सारीले भने, “हामीलाई यससम्बन्धि अधिकार त दिइएको छैन तर हामी आरक्ष प्रशासनसँग समन्वय गरी हात्ती फर्काउन प्रयत्न गर्दैछौँ ।”
हात्तीकै कारण कोसीटप्पुमा पर्यटकको चहलपहलमा कमी आएको स्थानियहरू बताउँछन् । पर्यटक ल्याउन पनि चितवनबाट हात्ती ल्याएर सेवा थप गर्नुपर्ने स्थानियको माग छ । पर्यटकहरू आए आफ्नो ठाउँको विकास हुने स्थानीयको अपेक्षा छ ।
वि.सं. २०३२ सालमा स्थापना भएको कोसीटप्पु वन्यजन्तु आरक्ष १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । सुनसरी, सप्तरी र उदयपुर गरी ३ जिल्लामा आरक्ष फैलिएको छ । सन् १९८७ मा रामसार सूचीमा सूचीकृत भएको यस आरक्षमा विभिन्न ४सय ८९ प्रजातिका चरा, करिब ३ सय ५० को संख्यामा दुर्लभ अर्ना पाईन्छ । कोसीटप्पु आरक्ष क्षेत्रलाई लोपोन्मुख अवस्था मानिएको बबुल प्रजातिको अर्नाको सुरक्षित बासस्थानका रूपमा पनि लिइन्छ । केही समयअघि मात्रै चितवनमा पनि अर्ना राख्ने भन्दै केही अर्नालाई टप्पुबाट चितवन स्थानान्तरण गरिएको थियो ।

 -विवेक भट्टराई