कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
539

निजी क्षेत्रका आन्तरिक हवाई कम्पनीले अधिकतम भाडादर घटाएका छन् । निजी क्षेत्रका श्री एयरलाइन्स, बुद्ध एयर यती एयरलाइन्सले आइतबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी अधिकतम भाडादर घटाएका हुन् ।
आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाएको घोषणा गरेका छन् । निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नयाँ भाडादर सार्वजनिक गरेका हुन् । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजी वायुसेवा सञ्चाल संघ र हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग छलफल गरी भाडादरमा पुर्नविचार गरिदिन आग्रह गरेका थिए । छलफल गर्नु अगावै श्री एयरलाइन्सले भने शनिबार नै अधिकतम भाडादर घटाएको थियो भने बुद्ध र यती एयरले आइतबार अधिकत्तम भाडादर भन्दा कम सीमा भाडा कायम गरिएको जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका थिए । कम्पनीहरुले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ को सम्भावित जोखिम रोकथाम गर्न सरकारले लामो दूरीका सार्वजनिक सवारी बन्द गरेको र यात्रुको सेवालाई ध्यान दिँदै अधिकतम भाडा दर भन्दा तल भाडा दर कायम गरिएको हो ।” कम्पनीहरुले काठमाडौबाट बाहिरीने यात्रुको संख्यामा वृद्धि हुँदै गएसँगै यात्रुको सहजिकरणका लागि भाडादरको सीमा कम गरिएको जनाएका छन् ।