कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
342

लमजुङ - कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सार्क नमूना गाउँको रुपमा विश्वभर चर्चा पाएको लमजुङको पर्यटकीय घलेगाउँमा पर्यटक आगमनमा रोक लगाइएको छ । घलेगाउँ पर्यटन विकास समितिले आइतबारदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।
स्मार्ट भिलेजको अवधारणा सहित अघि बढेको घलेगाउँमा हालसम्म केहि मात्रामा पर्यटकहरु आउने गरेको तर विश्वव्यापी समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि अर्को सूचना जारी नभएसम्म आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रोक लगाइएको स्थानीय पर्यटन व्यवस्थापन समितिका संयोजक दिर्घ घलेले बताए ।

“पर्यटक आगमन रोकिएको छैन,” घलेले भने, “तर आइतबारदेखि आन्तरिक र बाह्य पर्यटकहरु आगमन पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ ।”
कोरोना भाइरसको विश्वव्यापी त्रास बढेसँगै जोखिम न्यूनीकरणका लागि आन्तरिक तथा बाह्य पर्यटक आगमनमा रोक लगाइएको समितिले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको आग्रह अनुसार घलेगाउँले पनि सतर्कता अपनाएको घलेगाउँ पर्यटन विकास समिति अध्यक्ष प्रेम घलेले बताए ।
“अहिले विश्वव्यापी समस्याले गर्दा हामी पनि सतर्क हुन जरुरी छ,” अध्यक्ष घलेले भने, “अर्को सूचना जारी नहुँदा सम्म पर्यटक आगमनमा रोक लगाएका हौँ ।”
कोरोना संक्रमणको त्रास बढेसँगै जिल्लाका अन्य पर्यटकिय गाउँहरुमा पनि पर्यटक आगमन घट्दै गएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिभराउ हुने जिल्लाका पर्यटकिय गाउँहरुमा पछिल्ला दिनहरुमा पर्यटकहरुको आगमनमा कमी आएको हो ।
जिल्लामा अत्यधिक पर्यटकको आगमन हुने गाउँशहरको काउलेपानीमा पनि पछिल्ला दिनहरुमा पर्यटक आगमन कमी हुँदै गएको छ । काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङका अनुसार पछिल्ला दिनहरुमा पर्यटक कमी हुँदै गएको र ठूलो समूहमा आउन खोज्ने पर्यटकहरुलाई नआउन आग्रह गरिएको बताए ।
“अहिले पर्यटकको चाप घट्दै गएको छ,” गुरुङले भने “ठूलो समूहमा आउने र अग्रिम बुकिङ गर्ने पर्यटकहरुलाई नआउन आग्रह गरेका छौँ ।”
अध्यक्ष गुरुङले विश्वव्यापी कोरोना भाईरस जोखिमसँगै सरकारले गरेको आग्रहलाई मध्यनजर गरी अग्रिम बुकिङ गरी आउन खोज्ने पर्यटकहरुलाई नआउन आग्रह गरिएको बताए । अध्यक्ष गुरुङका अनुसार केहि दिन यता थोरै संख्यामा मात्रै आन्तरिक पर्यटकहरु आउने गरेका छन् । सरकारको आग्रहसँगै अग्रिम बुकिङ गर्ने प्रकृया हाल स्थगित गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
घलेगाउँ र काउलेपानीसँगै जिल्लाका अन्य होमस्टेहरुमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन घट्दै गएको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेसँगै थप उत्साहित भएका स्थानिय पर्यटन व्यवसायीहरु विश्वव्यापी कोरोना संक्रमणको जोखिम र त्रासले निराश भएका छन् । कोरोना जोखिम बढेसँगै सरकारले पर्यटन वर्षका कार्यक्रमहरु पनि स्थगित गरेको छ ।
विश्वभर कोरोना भाइरस संक्रमण जोखिमको त्राससँगै लमजुङको पर्यटन व्यवसायमा प्रतिकुल असर पर्न थालेको छ । विशेषगरी लमजुङका पर्यटकीय रिसोर्ट तथा होटलहरुमा पर्यटकको आगमन घटेपछि व्यवसायमा पनि ह्रास आएको होटल व्यवसायीहरूले बताएका छन् ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण पछिल्ला दिनमा पर्यटक आगमन घट्नुका साथै अग्रिम बुकिङ गरिएका कार्यक्रमहरु रद्द गरिएका हुन् । बेसीशहरस्थित गेटवे हिमालयन रिसोर्टका अनुसार आगामी दुई महिनासम्मका लागि गरिएका बुकिङहरु रद्द हुन थालेको छ ।
पर्यटकको आगमन कम भएसँगै लमजुङ मनाङका यातायात व्यवसायीहरु पनि मारमा परेका छन् । पर्यटक आउने सिजनमा रात दिन नभनी काम गरीरहने व्यवसायीहरु हाल यात्रु नपाएर हैरान भएका छन् । पर्यटक आउने मुख्य सिजनमै पर्यटक नभएपछि उनिहरुको व्यवसायमा संकट नै आईपरेको मस्र्याङदी यातायात ट्रान्सपोट कम्पनी प्रालीका अध्यक्ष किशोरकुमार बस्नेतले बताए ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा केहिदिन यता पर्यटकहरुको आगमन घट्दै गएको छ । अघिल्लो वर्षको तुलनामा गत फेब्रुअरी महिनामा पर्यटकहरुको संख्या नघटे पनि पछिल्ला दिनहरुमा विदेशी पर्यटकहरुको आगमनमा उल्लेख्य कमी आएको बेसीशहरस्थित टिम्सले जनाएको छ ।

सन्देश पौडेल