सागर परियार
सोमवार, चैत्र १०, २०७६
396

जुम्ला -कोरोना भाइरसको त्रासका कारण कर्णालीमा पदयात्रा ठप्पप्रायः भएको छ । पदयात्रा गर्ने पर्यटक नभएपछि यससँग सम्बद्ध व्यवसायी तथा मजदुर पनि मारमा परेका छन् ।
पर्यटन व्यवसायी नोर्वु लामाले अहिले व्यवसाय घाटामा परेको बताए । करिब तीन दशक ट्रेकिङ गाइडका रुपमा काम गरी पर्यटन व्यवसायमा होमिएका लामाले कोरोनाकै कारण पर्यटन क्षेत्रमा पारेको असरले दुःखी बनाएको उल्लेख गरे ।
अहिले जुम्लाको चन्दननाथदेखि डुडुल चैत्यमा समेत आन्तरिक पर्यटकको आगमन ह्वात्तै घटेको छ । शनिबारका दिन फोटो खिच्नकै लागि भए पनि डुडुल चैत्य अर्थात् बौद्ध स्तुप पुग्ने आन्तरिक पर्यटक घट्दा पर्यटन क्षेत्रहरु सुनसान भएका छन् ।
डोल्पाको शेफोक्सन्डो, हुम्लाको मानसरोवर, मुगुको रारा र जुम्लाको पातारासी हिमाल ट्रेकिङका लागि आकर्षक गन्तव्य हुन् । जसको प्रवेशद्धार जुम्ला हो । जुम्लाको कान्जिरोवा होटलको सम्पर्कमा आई हजारौ पर्यटकले कर्णालीमा ट्रेकिङ गर्दै आएका छन् ।

११ टोलीको अर्डर फिर्ता
कान्जिरोवा होटल साविक कर्णालीका पर्यटकीय गन्तव्यमा पर्यटकलाई ट्रेकिङ गराउने एक मात्र होटल हो । भारतको कुल्लु मनालीदेखि नेपालका पोखरा, मनाङ, मुस्ताङ ट्रेकिङ गरी लामो अनुभव बटुलेका नोर्वु लामा पर्यटकको इच्छा अनुसारको ट्रेकिङ गराउँदै आएका थिए । तर हाल विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोना भाईरसकै कारणले गर्दा ट्रेकिङका लागि आएको ११ टोलीको अर्डर समेत फिर्ता गर्दा लाखौंको घाटा लागेको उनले बताए ।
“ट्रेकिङ गर्न खच्चडमा खाने सामान, बस्ने टेन्टसहित तयार गरेर अमेरिकाको टोली तयार थियो,” उनले भने, “सरकारले तत्काल कुनै पनि यात्रा नगर्न भनेपछि शनिबार अमेरिकाको सात जनाको टोली फिर्ता भएको छ । जापान, फ्रान्स, भारत लगायतका करिब ११ टोलीले अर्डर फिर्ता लिएको छ । ट्रेकिङ गर्दा खच्चडको ट्रिपबाट पनि कमाइ हुन्थ्यो । यसपाली जुम्लाबाटै डोल्पा, मुगु, सिमिकोट रारा हुँदै मुस्ताङ जाने टोलीको अर्डर कोरोनाका कारण फिर्ता भयो ।”
ट्रेकिङका लागि प्याकेज कार्यक्रम अगाडि नै तयार गरिन्छ । कर्णालीको अर्गानिक खाजाले समेत बजार पाउँथ्यो, डाँडाकाँडा हेर्दै पर्यटक रमाउँथे । कर्णालीमा होटल व्यवसाय गरिरहेका अन्यभन्दा पर्यटकका लागि धेरै खटेको कारणले पनि आफू घाटामा परेको लामाको दुखेसो छ ।
सिधै घुम्न जहाज चढेर भन्दा गन्तव्यमा पुग्ने भन्दा ट्रेकिङ गरेर पर्यटन गन्तव्यमा पुग्ने पर्यटकबाट आम्दानी बढी हुन्छ । सरकारले पनि प्राथमिकता नदिएको ट्रेकिङ व्यवसायलाई होटल कान्जिरोवाले आफ्नै लगानीमा वर्षौदेखि पर्यटकलाई सेवा दिएर राम्रो आम्दानी गर्दै आएको थियो । कोरोनाबाट सुरक्षित रहन तथा घुम्नका लागि ट्रेकिङ गर्न पहाडतिर आएका पर्यटकहरु पनि अहिले फर्किएका छन् ।

ब्याज मिनाहाको माग
कान्जिरोवा होटलका संचालक नोर्वु लामा मासिक बैंक तथा सहकारीमा करिब पाँच लाख ब्याज तिर्छन् । “कोरोनाको त्रास नहुनु पहिले ट्रेकिङबाटै महिनामा ५ लाख बढी र होटमा १०-१५ लाख कमाइ हुन्थ्यो । सजिलै ब्याज तिरिन्थ्यो, कर्मचारीलाई तलब दिइन्थ्यो,” लामाले भने, “करिब तीन महिला यता होटलमा पाहुना शून्य छन् । ट्रेकिङको आशा गरेको थिएँ, सोहि अनुसार ११ टोलीको अर्डर समेत लिएको हुँ । त्यो पनि फिर्ता भयो । अब कसरी होटल चलाउने ?” अब सरकारले ब्याज मिनाहाका लागि पहल गरिदिन उनको माग छ । १० जना कर्मचारी सहित ९ जना परिवार गरेर १९ जना होटलमा खटिएका छन् । तर कर्मचारीलाई तलब कसरी दिने चिन्ता छ ।
नोर्बु जस्तै बेहाल कर्णालीका सयौं होटल व्यवसायीको छ । सानादेखि ठूला होटल व्यवसायीहरुको थाप्लोमा बैंक तथा सहकारीको ब्याज थपिँदै गएको छ ।
व्यापारी लोकेश परियारले पनि सरकारले बैंक तथा सहकारीसँग समन्वय गरी ब्याज मिनाहा गरिदिन माग गरे । कोरोना भाइरसले सबै भन्दा पर्यटन क्षेत्रमा पारेको प्रभावले होटल व्यवसाय धराप भएपछि व्यवसायीहरुले बैंक तथा सहकारीको ब्याज मिनाहा गरिन दिन सरकारलाई माग गरेका हुन् ।
व्यवसायीले गरेको माग अनुसार अहिले नै ब्याज मिनाहा गर्ने वा नगर्ने भन्ने बारे बैंक तथा बित्तिय संस्थाका प्रमुखहरुले आधारिक धारणा सार्वजनिक गरेका छैनन् । तीनै तहका सरकारलाई व्यवसायीले ब्याज मिनाहाको माग गरे पनि कार्यान्वयनका लागि राज्य गम्भीर नभएको व्यवसायीहरुको गुनासो छ ।
देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रले दिएको योगदानलाई सम्झेर पनि सरकारले यस्तो विपत्तिमा ब्याज मिनाहाका लागि ठोस नीति लिनुपर्नेमा सत्कार होटलका संचालक तजेन्द्र रावलको जोड छ । करिब एक महिनाअघिबाट मात्रै संचालनमा आएको जुम्लाको सत्कार होटल करिब ५ करोड लगानी गरिएको छ ।