मनोरञ्जन शर्मा
बिहिवार, फाल्गुन १५, २०७६
1105

रुपन्देही-करिब ६ महिनाअघि परीक्षणका रूपमा सुरु भएकोे भैरहवा बसन्तपुरमा रहेको सबैभन्दा ठूलो रेडसन वाटर फन पार्क नेपालका अन्य वाटरपार्कभन्दा भिन्दै छ । भिन्दै यस अर्थमा कि त्यहाँ समुद्रको छालको मज्जा लिन सकिन्छ । समुद्रको किनारमा जसरी समुद्रको छाल आउँछ र त्यसमा रमाउने गर्छन्, यस्तै छालको निर्माण यो वाटरपार्कमा बनाइएको छ । परीक्षण रूपमा सफल भएपछि व्यावसायिक रूपमा यो वाटर पार्क आज (बिहीबार)बाट सञ्चालनमा ल्याउने तयारी रहेको पार्कका प्रबन्ध सञ्चालक बुद्धीराम यादवले बताए ।
अन्यत्र पनि वाटरपार्कहरू छन्, तर हामीहरूकोमा मुख्य आकर्षण भनेको समुद्रको छाल आउने वेभ पुल हो, यादवले भने । परीक्षण समय २ महिना समयमा पनि नेपालीसहित धेरै भारतीय पर्यटक आए, हामी निकै उत्साहित छौं, अब व्यावसायिक रूपमा सुरु हुन्छ, उनले भने ।

समुद्रको किनारमा आउने छाल जस्तै बनाउनका लागी अमेरिकन प्रविधिको प्रयोग गरिएको छ । ६०-६० हर्स पावरको २ वटा विद्युत् मोटरको माध्यमबाट पानीलाई घुमाएर तरंगित बनाई छाल उत्पन गरिन्छ । यस्तै खाले वेब पुल भक्तपुरमा रहे पनि सो पुल अहिले बन्द अवस्थामा रहेको र नेपालमा रहेको वेब पुल भएको यहीँ वाटर पार्क रहेको सञ्चालकको दाबी छ । त्यहाँ वेब पुलसँगै अन्य धेरै सुबिधा छन् । अन्य सुबिधामा पार्कमा ३५ र १५ फिटको स्लाइडिङ, रेन डान्स, लेजी रिभर, बच्चाहरूको बेबी स्लाइडिङ, जेट स्प्रे, अम्ब्रेला सावरलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि हुनेछ ।
पार्कमा २ किलोमिटर लम्बाइको कृत्रिम खोला समेत निर्माण भएको र त्यहा पाइडेल बोटिङ गर्न मिल्ने बनाइएको छ । अन्य थप पूर्वाधारहरू आईस वल्र्ड(स्नो फल हुने), ट्रेन, स्टिमर, पोमा पिंग, कोलम्बसलगायत पनि छिट्टै आउने व्यवस्थापन समूहका कुन्दन बज्राचार्यले बताए । वाटरपार्कमा आउनेका लागि एसी र नन एसी गरी दुई बर्गका रेस्टुराँसमेत रहेको बज्राचार्यले जानकारी दिए । भैरहवा क्षेत्रमा रहेको द पिक बोधीरेडसन होटल क्षेत्रमा सञ्चालनमा आएको वाटरपार्कका अध्यक्ष प्रमोदकुमार यादव हुन् । विगत आधा दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रलाई मुख्य उद्यम बनाउँदै आएका यादव रुपन्देही(क्षेत्र नम्बर ४बाट) निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् । वाटरपार्क निर्माणमा १५ करोड लगानी छ । बाँकी पूर्वाधारहरू छिट्टै निर्माण सम्पन्न हुने र अधिकांश सामान चीनबाट आयात गर्नुपर्ने तर अहिले त्यहाँ फैलिएको कोरोना भाईरसका कारण रोकिएको द पिक बोधी रेडसन होटलका निर्देशक यादवराज पाण्डेले जनाए । पूर्वाधार थपमा अतिरिक्त ३० करोड लाग्ने बताइएको छ ।
नेपाल भ्रमण वर्ष–२०२० र लुम्बिनी भ्रमण वर्ष–२०७६ का क्रममा यस क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी यो सेवा सुरु हुन गइरहेको र निकट भविष्यमा अन्य उत्कृष्ट सेवाहरूसमेत थपिने पाण्डेले बताए । बोधी रेडसन होटल परिसरमा अब, तारे होटलसँगै, वाटर पार्क, मिनि क्यासिनोलगायतका मनोरञ्जनात्मक गतिविधि हुने भएकाले नेपालीसँगै भारतीय पर्यटकहरूले पनि थप मनोरञ्जन पाउने पाण्डेको भनाइ छ । वाटरपार्क भारतीय पर्यटहरूलाई समेत लक्षित गरी सञ्चालनमा ल्याइएको हो ।
पार्कमा अहिलेसम्म १५ करोड लगानी भइसकेको र थप पूर्वाधार बनाउँदा करिब ३० करोड लाग्नेछ । वाटरपार्क उद्घाटनको अवसरमा पहिलो दिन सबैलाई निःशुल्क प्रवेशको व्यवस्थासँगै त्यहाँका सबै सेवाहरू निःशुल्क प्रयोग गर्न सकिने व्यवस्था आयोजकले गरेका छन् । त्यसैगरी विद्यार्थीलाई ५० प्रतिशत छुट रहेको जनाएको छ । वाटरपार्कको सेवा उपभोग गरेबापत प्रतिव्यक्ति ४ सय ५० रुपैयाँ दर कायम छ । पार्कमा बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म बिताउन सकिनेछ । एक टिकटले दिनभरि सेवा उपभोग गर्न पाइने व्यवस्था आयोजकले मिलाएका छन् ।