कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
461

पोखराका विभिन्न चोकमा राखिएका विभिन्न व्यक्तिका शालिक पोखरा–१८ स्थित जामुनबोट (ग्र्याजाती) मा स्थानान्तरण भई सजिन थालेका छन् ।
पोखराको जिरोकिलोमिटरको चोक (आइल्याण्ड) मा रहेको योगेन्द्रमान शेरचनको शालिक मंगलबार जामुनबोट अर्थात् शहिद तथा राष्ट्रिय विभूति पार्कमा स्थापना गरिएको राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण समितिका सदस्य सचिव लक्ष्मण तिमिल्सिनाले बताए । उनका अनुसार केही समयअघि जनआन्दोलन २०६२-०६३ का पहिलो सहिद भीमसेन दहालको समेत उक्त क्षेत्रमा शालिक स्थापना गरिएको छ । मंगलबार रवीन्द्र अधिकारीको शालिकसमेत स्थापना गरिएको सदस्य सचिव तिमिल्सिनाले बताए । उनका अनुसार उक्त क्षेत्रमा नेपाल एकीकरण गर्ने पूर्वराजा पृथ्वीनारायण शाह, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पृष्पलाल र जनआन्दोलन ०६२-६३ को पहिलो सहिद भीमसेन दहालको शालिक राखिएको छ । त्यसैगरी मंगलबार शहिद पार्कमा रवीन्द्र अधिकारी र योगेन्द्रमान शेरचनको समेत शालिक राखिएको सदस्य सचिव तिमिल्सिनाले बताए ।

पोखरा महानगरमा रहेका विभिन्न व्यक्तित्वका सालिक प्रक्रिया मिलाएर विस्तारै उक्त पार्कमै व्यवस्थापन गरिने मेयर मानबहादुर जिसीले बताए । उनले भने, “पोखरामा हामीले नयाँ पर्यटकीय गन्तव्यको रूपमा पनि सहिद पार्कलाई स्थापित गर्न खोजेका हौं,” जुन पार्कमा राष्ट्रिय विभूति तथा सहिदका शालिक राखिँदैछ ।” पोखराका चोकचोकमा रहेका शालिकहरूको महानगरले उचित ढंगले व्यवस्थापन गरी थप सजाउने र सम्मान गर्ने गरी सहिद पार्कमा राख्न थालेको मेयर जिसीले जनाए ।
धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, चित्रबहादुर गुरुङलगायतको शालिक निर्माण गर्ने तयारी गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिवसमेत रहेका सदस्य सचिव तिमिल्सिनाले बताए । पोखरा लेखिएको २० फिट अग्लो, ६५ मिटरको लामो व्यानरसमेत पार्कमा रहने भएको उनले बताए । उक्त पार्क संरक्षणका लागि ८० लाखको लागतमा कम्पाउण्ड गरिने भएको छ । यस वर्ष महानगरले एक करोडको लागतमा पार्क निर्माण तथा विभिन्न भौतिक संरचनामा खर्च गर्ने भएको महानगरले जनाएको छ ।