कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
572

कोरोनाइ भाइरसले बाह्य पर्यटन क्षेत्र प्रभावित भइरहेको बेला आन्तरिक पर्यटन प्रवद्र्धन र मिथिला कला संस्कृतिको पहिचान थप अभिवृद्धि गर्न रामजानकी शोभा यात्राको आयोजना गरिने भएको छ । मिथिला सांस्कृतिक समाजले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन अभियानमा योगदान दिन र मिथिलाको कला संस्कृति उजागर गर्न यो अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
‘संस्कृति बचाऔं, पर्यटक भित्र्याऔं’ अभियानअन्तर्गत राम जानकी शोभायात्राको आयोजना गर्न लागेको समाजले जनाएको छ । मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन आयोजना गरी समाजले यो शोभायात्रा जानकी नवमीको अवसर पारी नयाँ वर्ष ०७७ को शुरूवातसँगै वैशाख २० गते शुरू गर्ने जनाएको हो ।

झापा जिल्लाको गौरीगन्जबाट सुरु भई मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा हुँदै मकवानपुरको हेटौंडामा सम्पन्न हुने जानकारी समाजका सचिव राधेश्याम विश्वकर्माले दिए ।
समाजले जारी गरेको विज्ञप्तिअनुसार हरेक जिल्लाका सदरमुकाम वा चर्चित शहरमा समितिहरुद्वारा शोभायात्राको स्वागत गर्न समारोहको आयोजना गरिने छ । यसक्रममा संस्कृतिको संरक्षण गर्ने कार्यमा योगदान पु-याएकाहरुलाई सम्मानसमेत गरिने छ । अभियानको क्रममा शोभायात्रामा कलाकारहरुले मिथिला संस्कृतिसँग सम्बन्धित विभिन्न गीतसंगीत तथा भजनकीर्तनसहितको झाँकी प्रस्तुत गरिनेछ ।
श्रीराम हनुमान अराधनामण्डल नेपालका संयोजक किशोरी महतोले यस अभियानबाट नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने र मिथिलाको कलासंस्कृतिको पनि प्रचार प्रसार हुने विश्वास व्यक्त गरे । समाजका अध्यक्ष वीरेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहन सिंह, मधेशी महिला समाजका अध्यक्ष रिना साहलगायतले शोभायात्राको सफलताको कामना गरेका थिए ।