दीपेन्द्र थापा
सोमवार, फाल्गुन १२, २०७६
2319

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको २५ प्रतिशत सेयर बिक्री गरिने भएको छ । सेयर बिक्रीका लागि आइतबारको सञ्चालक समितिको बैठकले सैद्धान्तिक स्वीकृति दिएको हो । सञ्चालक समितिका सदस्य अच्युतराज पहाडीका अनुसार समितिले सेयर बिक्रीका लागि स्वीकृति दिएको हो । जसअनुसार ७५ प्रतिशत सरकार आफैंले राखी बाँकी २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सैद्धान्तिक स्वीकृति दिइएको हो । निर्णयअनुसार २२ प्रतिशत सरकारी संस्थालाई र तीन प्रतिशत सेयर कर्मचारीलाई दिइनेछ । यो निर्णय पर्यटन मन्त्रालय र अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुग्नेछ । उनका अनुसार अब निगमको सम्पत्ति मूल्यांकनका लागि डीडीए गरिनेछ र त्यस अनुसारले २५ प्रतिशत बराबरको रकम सेयरमार्फत् बिक्री गरिनेछ । निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि सञ्चालक समिति अध्यक्षता पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्हालिरहेका छन् । अधिकारी अध्यक्ष भइसकेपछि निगमको सेयर बिक्री गर्ने निर्णय गरिएको हो ।