मीनकुमार नवोदित
आइतवार, फाल्गुन ११, २०७६
332

 

होटलका ६० प्रतिशत कोठा खाली

भारतीय पर्यटकको आवागमन पनि घट्यो

पूर्वाधारको विकासमा एकमुष्ट बजेट लगाउन व्यवसायीको सुझाव

विराटनगर-नेपाल भ्रमण वर्षले प्रदेश–१ का पर्यटन व्यवसायीमा अझै खुसी ल्याउन सकेको छैन । विगतभन्दा झनै भ्रमण वर्षमा पर्यटन क्षेत्र खस्किएको व्यवसायीहरू बताउँछन् । “हाम्रा लागि भ्रमण वर्ष ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ,” पर्यटन व्यवसायी पुण्य भट्टराई भन्छन्, “भ्रमण वर्षले हालसम्म खुसीको सञ्चार गर्न सकेको छैन ।” संघीय र प्रदेश सरकारले जनवरी १ तारिखमा ठूलै तामझामका साथ भ्रमण वर्षको शुभारम्भ गरेको थियो । प्रदेश–१ सरकारले पनि प्रदेश राजधानी विराटनगरस्थित सहिद रंगशालामा भव्यताका साथ भ्रमण वर्षको उद्घाटन गरेको थियो । भ्रमण वर्षको शुभारम्भमा मुख्यमन्त्री शेरधन राईले पर्यटनबाटै प्रदेशको विकासमा कायापलट हुने उद्घोष गरेका थिए । शुभारम्भपछि प्रदेश सरकारले भ्रमण वर्षका खासै गतिविधिसमेत गर्न नसकेको व्यवसायीकहरूको गुनासो छ ।
५ लाख पर्यटक भिœयाउने प्रदेश सरकारको लक्ष्य छ ।
तर, यही अवस्थामा लक्ष्यको आधा पनि पर्यटक नभित्रिने भट्टराईको कथन छ । उनकै शब्दमा ६० प्रतिशत कोठा खाली छन् । भारतीय पर्यटकको आवागमन पनि खासै बढ्न नसकेको उनी बताउँछन् । “होटलका ६० प्रतिशतभन्दा बढी रुमहरू खाली छन्,” भट्टराईले भने, “बैंक ब्याज, मजदुर–कर्मचारीको तलब, बिजुली, टेलिफोनलगायतका खर्च धान्नै गाह्रो हुने अवस्था आयो ।” पर्यटन सधैं आशामा बाँच्नुपर्ने क्षेत्र भए पनि पछिल्लो अवस्थाले व्यवसायीहरू आत्तिएको उनले बताए । प्रदेशमा ५ सयभन्दा बढी पर्यटकस्तरीय होटल छन् । ती होटलमा कम्तीमा २० हजार कोठा छन् । ती होटलमा १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
विगतको यो सिजनमा भारतीय पर्यटकले आधा कोठा भरिने गरेको अर्का पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ बताउँछन् । प्रदेश–१ को सोलुखुम्बु छाडेर अन्य जिल्ला आन्तरिक र भारतीय पर्यटकको भरमा टिकेको छ । भारतीय पर्यटकको आवागनसमेत कम भएपछि व्यवसायीहरू निराश देखिएका छन् । भ्रमण वर्षले कुनै उत्साह जगाउने काम नगरेको श्रेष्ठको कथन छ । “ल चिनियाँ पर्यटक त कोरोनाका कारण आएनन् तर भारतीय पर्यटकलाई त केहीले पनि छेकेको छैन नि,” श्रेष्ठले भने, “आन्तरिक पर्यटकका कारण सामान्य चलेको छ ।” विवाह, ब्रतबन्ध, सरकारी र गैरसरकारी संस्थाहरूले आयोजना गरेका कार्यक्रमले होटलहरू अहिलेसम्म बाँचेको उनले बताए ।
प्रदेशको पशुपतिनगर, काँकडभिट्टा र जोगबनी नाकाबाट भारतीय पर्यटक भित्रिने गरेका छन् । तीनवटै नाकाबाट दैनिक १ हजारभन्दा बढी पर्यटक भित्रिने गरेकोमा पछिल्लो समय ५ सय जति मात्रै आइरहेको उनको भनाइ छ ।
“नेपाल भित्रिने पर्यटकको आधिकारिक तथ्यांक राख्ने निकाय त नाकामा छैन,” श्रेष्ठले भने, “तर, पनि आवागमनमा आधा घटेको छ ।” पछिल्ला केही वर्षयता पर्यटन क्षेत्रमा आक्रमक रूपमा लगानी भइरहेको छ । खासगरी विराटनगरसहित इटहरी, भेंडेटार, नाम्जे, इलाम, कन्याम, फिक्कल, हिले, ताप्लेजुङ, हलेसीलगायतमा पर्यटनमा राम्रै लगानी भएको छ । पछिल्लो दुई वर्षयता मात्रै विराटनगरमा पर्यटन क्षेत्रमा ५ अर्बभन्दा बढी नै लगानी भएको उनी बताउँछन् ।
सरकारले भ्रमण वर्ष मनाउँदै गरेको र पर्यटकको आवागमन हटेको अवस्थामा आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने व्यवसायीहरूको सुझाव छ । भ्रमण वर्ष सफल बनाउन र पर्यटन क्षेत्रलाई चलायमान बनाउन एउटा प्रदेशबाट अर्को प्रदेश घुम्ने वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्ने व्यवसायी श्रेष्ठ बताउँछन् । ‘पहिला देश घुमौं अनि मात्रै विदेश’ अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । प्रदेशमा सगरमाथा, हलेसी, पाथिभरा, बराहक्षेत्र, दन्तकाली, हिले, तीनजुरे–मिल्के–जलजले, भेंडेटार, इलाम, कन्याम, श्रीअन्तु, राम्जेलगायत पर्यटकीय गन्तव्य छन् । भ्रमण वर्षका लागि नेपाल सरकारले छनौट गरेका एक सय गतव्यमध्ये १६ वटा प्रदेश–१ मा पर्दछन् । प्रदेश–१ सरकारले आगामी ५ वर्षभित्र पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन ५ प्रतिशत पु-याउने लक्ष्य लिएको छ । प्रदेशको आवधिक योजनामार्फत अघि सारेको योजना पूरा हुने संकेत नदेखिएको पर्यटन व्यवसायीहरूको भनाइ छ ।

भौतिक पूर्वाधारमा लगानी गर्न व्यवसायीको सुझाव
व्यवसायीहरूले भौतिक पूर्वाधारमा ध्यान दिन तीनै तहको सरकारलाई सुझाव दिएका छन् । मन्दिर र धर्माशाला निर्माणका लागि कनिका छरेझैं बजेट नछेरेर एकमुष्ट पर्यटकीय क्षेत्रमा लगाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । तीनै तहको सरकारले समन्वय गरेर भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने भट्टराईले बताए । बस्नेका लागि समस्या नभए पनि गन्तव्यसम्म पुग्ने सडक नभएको उनको भनाइ छ । धरानदेखि भेंडेटार, सुकेटारदेखि पाथिभरालगायतमा केबलकार सञ्चालन गर्न सकिन्छ । बराहक्षेत्रमा ठूला मन्दिर बनाउन सकिन्छ । बराहक्षेत्रका मन्दिर भत्किसकेका छन् । “पहिला सरकारले भौतिक पूर्वाधारको विकासमा ध्यान दिनुपर्छ,” भट्टराई भन्छन्, “त्यसपछि गन्तव्यको प्रचारमा लाग्नुपर्छ ।” निजी क्षेत्रका तर्फबाट पर्यटनमा लगानी गर्न कन्जुस्याइँ नभएको अर्का पर्यटन व्यवसायी राजन श्रेष्ठ दाबी गर्छन् ।