कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६
387

नवलपुर-संघीय सरकारले घोषणा गरेको १ सय नयाँ पर्यटकीय गन्तव्यका पूर्वाधार निर्माणका लागि नवलपुरका ३ पालिकाले १ करोड रकम प्राप्त भएका छन् । नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्न तथा त्यसको आवश्यक पूर्वाधार विकासका लागि दोस्रो किस्ता उनीहरूले सो रकम पाउने भएका हुन् । जसमा नवलपुरको गैँडाकोट नगरपालिका, कावासोति नगरपालिका र विनयी त्रिबेणी गाउँपालिका छन् । ती पालिकामध्ये सबैभन्दा बढी विनयी त्रिबेणी गाउँपालिकाले ५० लाख पाउने भएको छ भने अन्य दुई कावासोति र गैंडाकोट नगरपालिकाले २५।२५ लाख रुपैयाँ पाउने भएका हुन् ।
त्यसअघि गैंडाकोट नगरपालिकाले पहिलो किस्ता स्वरूप ४५ लाख रुपैयाँ पाएको थियो भने अन्य २ पालिकाले २५।२५ लाख रुपैयाँप्राप्त गरिसकेका छन् ।
सोही पालिकाहरूले दोस्रो किस्ता प्राप्त गर्नका लागि यही फागुन मसान्तभित्र फारम बुझाइसक्नुपर्ने छ । आयोजनाको सुशासन कार्यम गर्न तथा अनुगमन र मूल्यांकलनसमेत गर्ने गरी दोस्रो किस्ता तोकिएको समयसीमामा मात्र माग गर्नका लागि नागरिक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको छ ।
माघ २६ गते गरिएको निर्णयअनुसार सो समयमा दोस्रो किस्ता रकम माग गरेका प्राप्त प्रत्रहरूको मात्र थप निकासा गरिने भएको हो । मन्त्रालयले चालू आर्थिक वर्ष ७६।७७ को नयाँ तथा स्थापित गन्तव्यहरूको पर्यटन पूर्वाधार विकाससम्बन्धी कार्यक्रमहरू संसदमा पेश भई अनुमोदित स्थानीय तहबाट कार्यान्वयन भएका सर्शत योजनाहरूमध्ये घोषित १ सय पर्यटकीय गन्तव्यको आवश्यक पूर्वाधार विकासका लागि पुस २५ मा नै प्रथम किस्ता स्थानीय तहमा कार्यान्वयनका लागि पठाइएको थियो ।
सोअनुसार नै नवलपुरमा तोकिएका हरेक स्थानीय तहमा कार्य भइरहेका छन् । जसअनुसार विनयी त्रिबेणी गाउँपालिकामा रहेको त्रिबेणी गजेन्द्र मोक्ष धाम र दाउन्नेका लागि बाटो र शौचालयमा खर्चिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले बताइन् । त्यस्तै दोस्रो किस्ताका लागि आन्तरिक छलफल गरिएको बताएकी हुन् ।
उता कावासोति नगरपालिकाले पनि पहिलो किस्ताबापत नगरभित्रको अमलटारी होमस्टेअन्तर्गत थारु संग्रहालय र पोखरी तालको विकास निर्माणलाई प्राथमिकतामा राखेर कार्य गरिएको नगरप्रमुख चन्द्राकुमारी पुनले बताइन् । साथै उनले पर्यटन विकासका लागि दोस्रो किस्ताबापत पाउने रकमका लागि पनि छिट्टै मागप्रत्र पेश गर्ने बताइन् ।
त्यस्तै गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरभित्रका भ्यूटावर, नारायणी सामुदायिक गिदेनिपोयड त्यस्तै पिक्निक स्पोर्ट र मौलाकालीकादेखि मणिमुकुन्दसेनसम्म जाने पैदल बाटोका लागि खर्चिने बताए । दोस्रो किस्ताका लागि तयारी थालिएको पनि प्रमुख पौडेलको भनाइ छ ।

 

 गंगा विश्वकर्मा