कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६
1104

काभ्रे- प्रदेश ३ मा विभिन्न प्रकृतिका सम्पदा र पर्यटकीय स्थलमध्ये पाँचखाल पनि एक हो । पाँचखालमा अवस्थित अनेकोट भ्यू–टावर पर्यटकीय हिसावले महत्वपूर्ण मानिन्छ । पर्यटक आकर्षणलाई मध्यनजर गर्दै अनेकोटमा बुधबारबाट अनेकोट कृष्णमन्दिर भ्यू–टावर होमस्टे सञ्चालनमा आएको छ ।
सुरुवाती चरणमा १२ वटा घरमा सञ्चालन गर्ने होमस्टेको बुधबार उद्घाटन भयो । होमस्टेको पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले उद्घाटन गरे । स्थानीय जनताको सक्रिय सहभागिता र लवग्रीन नेपाल जापानी दातृ संस्थाको सहयोगमा सञ्चालन भएको होमस्टेमा उद्घाटनकै दिन १२ जना जापानी पर्यटकहरू होमस्टेमा बसेको संयोजक तुलसीप्रसाद सापकोटाले जानकारी दिए ।

तामाङ, ब्राह्मण, दलित जनजातीहरूको बाहुल्यता रहेको यो गाउँ साँस्कृतिक र प्राकृतिक रूपमा निकै नै धनी छ । गाउँमा रहेको भ्यू–टावर, कृष्णमन्दिर पर्यटकका लागि मुख्य आर्कषणका केन्द्र हुन् । त्यस्तै यही बाटो हुँदै पर्यटकीय स्थल नगरकोटसम्म जोडिने ट्रयाक पनि रहेको छ । उक्त स्थानबाट हिमालयन रेञ्जका दृश्य अवलोकन गर्न सकिन्छ । जसमा गौरीशंकर हिमाल, जुगल हिमाल, गणेश हिमाललगायत काभ्रेको शिखरसम्मका डाँडाकाँडा, धुलिखेल, नगरकोट लगायत अन्य ठाउँको पनि एकै स्थानबाट अवलोकन गर्न सकिन्छ । साथै हरियाली वनजंगल वरपरका गाउँ, तामाङ संस्कृति यहाँको आर्कषण हुन् । भ्यू–टावरबाट देखिएको हिमालको दृश्य गाउँमा उत्पादन भएका अर्गानिक कुराहरू कोदोको ढिडोको परिकार, ध्यू, मह, लोकल कुखुराको मासु, जिरा मसिनो चामलको भात, गाउँकै स्थानीय आलुको विभिन्न परिकारको स्वाद लिन सकिने उनीहरूको भनाइ छ । पर्यटकहरूको आकर्षणका लागि तामाङ संस्कृति झल्कने लोक संस्कृति देखाउने पनि संयोजक सापकोटाले जानकारी दिए ।
उद्घाटनकै दिन पनि विभिन्न झाँकीसहित पर्यटक र स्थानीयले नाचेर खुसियाली मनाए । नगर प्रमखु महेश खरेललगायतको टोली स्थानीय बाजागाजासहित अनेकोटका विभिन्न स्थानमा ¥यालीमा सहभागी हुनुभएको थियो । अनेकोट शसस्त्र द्वन्द्वकालमा पनि चर्चामा रहेको ठाउँ हो ।