दीननाथ बराल
बुधवार, फाल्गुन ७, २०७६
2103

- बोल्ट हराउँदा २ महिना निर्माण कार्य प्रभावित 

पोखराको नयाँ पर्यटकीय गन्तव्यका रूपमा हाल निमार्ण हुँदै गरेको अन्नपूर्ण केबलकारको निर्माण कार्य करिब ८५ प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाखमा परीक्षण गर्ने गरी उक्त केबलकारको निर्माण कार्य करिब ८५ प्रतिशत सम्पन्न भएको अन्नपूर्ण केबलकारका सञ्चालक निर्देशक मध्यका एक तीर्थराज त्रिपाठीले बताए । उक्त केबलकारको तल्लो तथा माथिल्लो स्टेसन र भवनको फिनिसिङको काम हाल भई रहेको उनले बताए । केबलकारका लागि तार टाक्ने र गुण्डला राख्ने काम बाँकी रहेकोले त्यसभन्दा अघि टावरहरू टाइट गर्ने विषयमा केही बोल्टहरू हराएकाले गर्दा उक्त निर्माण कार्य करिब २ महिना प्रभावित हुन पुगेको निर्देशक त्रिपाठीले जनाए । उनले भने, “जापानिज कम्पनीले पठाएको मेसिनसहितको सामानमा करिब २ सय जसो बोल्ट हराएकाले गर्दा हाल टावर राम्रोसँग कस्न र तारसहितको गोण्डला राख्ने कामसमेत यसबाट प्रभावित भएको छ ।” उक्त बोल्ट पुनः जापानिज कम्पनीलाई बनाउन लागिएकाले आगामी दुई सातमा बोल्ट आउने तयारी भएको उनले जनाए । करिब २ सयवटा बोल्ट हराएको निर्देशक त्रिपाठीले बताए ।
उक्त केबलकार निर्माणको अन्तिम चरणमा पुगेकाले जापानबाट अनुगमन तथा सुपरीक्षण गर्न दुई जना प्राविधिक टोलीसमेत पोखरा आएको उनले जनाए । उनले भने, “हामीले नयाँ वर्षको अवसरमा यसअघि नै केबलकार परीक्षण गर्ने तयारी गरे पनि प्राविधिक कारणले गर्दा केही ढिलाइ हुन गएको छ, अब भने आउँदो वैशाखमा परीक्षणको तयारी गरिएको छ, यदि काम गर्दै जादा बिचमा समस्या नआएमा ।” पोखरेली तथा पोखरा आउने पर्यटकहरूलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा उक्त केबलकार सेवा सञ्चालनको तयारी गरिएको उनले जनाए । उक्त केवलकारमा प्रयोग हुने डोरी, गण्डलासहितका मेसिनरी सामानहरू केही महिनाअघि नै पोखरामा आइसकेकाले अब त्यसलाई जडान कार्य बाँकी रहेको निर्देशक त्रिपाठीले बताए । उक्त केवलकारको लागि १८ वटा टावर निर्माण गरिएको छ । 

माथिल्लो स्टेसनको भवनमै माथिल्लो तलामा आर्सिसि विल्डङमा उच्च स्तरको रेस्टुराँ सञ्चालन गर्ने तयारी गरेकोले उक्त परियोजनामा थप लगानी तथा थप समय लागेको त्रिपाठीले बताए । उक्त परियोजनाको बजेट बढ्न गएको उनले जनाए । हाल १ अर्ब ४० करोड लगानी हुने भएको निर्देशक त्रिपाठीले जनाए । नेपाल राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक र बंगलादेश बैंकले उक्त परियोजनामा बैंकीङ पार्टरका रूपमा रहेको उनले बताए । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रूपमा आफूहरूले विकसित गर्न खोजिएको त्रिपाठीले बताए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १८ वटा डिब्बा (गोन्डोला) रहने भएका छन् भने प्रतिडिब्बमा ८ जनाको सिट क्षेमता रहनेछ । एउटा डिब्बा सामान बोक्नका लागि बाँकी १७ वटा यात्रुको लागि प्रयोग हुने भएको निर्देशक त्रिपाठीले बताए । उक्त केबलकारमा करिब ३६ वटाभन्दा बढी डिब्बा क्षमताको भएको उनले जनाए । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्वजापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीय कोर १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन् । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भए पनि यो केबलकार नयाँ प्रविधि प्रयोग गरिने भएको अध्यक्ष गुरुङले बताउँदै आएका छन् । माथिल्लो स्टेसन भवनसहित स्काई हेवन वेलुन रेस्टुराँ, भ्यु टावर निमार्ण हुँदै छ भने तल्लो स्टेसनमा पार्किङ, गार्डेनसहितको संरचना निमार्ण हुने भएको छ ।
स्टेसन निर्माण गर्ने विषयमा पहिला स्टिल फेब्रिकेसन मोडल निमार्ण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसीसी (कंक्रिट) मोडलमा निमार्ण गरेकोले लागत बढ्न गएको उनले बताए । केबलकारमा यात्रा गर्दा  हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । प्रतिघण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षेमताको केबलकार निर्माण भएको उनले जनाए । केबलकार निर्माण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिनेछ । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ ।