कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
420

पोखरा-नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको इतिहासमै पहिलो पटक दुई प्यानलसहित निर्वाचन भएको नाट्टा गण्डकी प्रदेश अध्यक्षमा संजयकान्त सिग्देल विजयी भएका छन् । शनिबार पोखरामा सम्पन्न भएको नाट्टाको ११ औं अधिवेशनमा सिग्देलले आफ्ना निकटतम प्रतिद्वन्द्वी झवि अधिकारीलाई २० मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । सिग्देलले ९० मत ल्याउँदा अधिकारीले भने ७० मत प्राप्त गरेका थिए ।
आफ्नो प्यानलको अधिकांश पदाधिकारी सहितको सदस्य निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै सिग्देलले निर्वाचित भएपछि अब सबैलाई समेटेर र सबैलाइं मिलायर सिंगो टिम भएर व्यावसायिक हकहितमा लाग्ने वचन दिएका छन् । यसअघि उनी प्रथम उपाध्यक्ष थिए भने अधिकारी द्वितीय उपाध्यक्ष थिए ।

त्यसैगरी प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्षमा किशोर दाहाल महासचिवमा कमला गिरी, सचिवमा संगीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी निर्वाचित भएकी हुन् । अध्यक्षका प्रत्यासि अधिकारीको प्यानलबाट सह–कोषाध्यक्ष नवराज भण्डारी र दुई सदस्य खेमबहादुर नेपाली र सुशीला सिग्देल मात्र निर्वाचित हुन सफल भए भने अन्य सबै सिग्देल प्यानलबाट विजयी भएका हुन् ।
त्यस्तै अन्य सदस्यहरूमा शुभाष पहारी, तारा गौतम र सन्दिप श्रेष्ठ निर्वाचित भएका हुन् । उक्त समितिमा २ जना सदस्यलाई अध्यक्षले मनोनीत गर्ने भएका छन् । नाट्टामा १ सय ८१ जना सदस्य रहेको निवर्तमान अध्यक्ष सन्तोष पोख्रेलले बताए ।
नाट्टाको निर्वाचनको लागि केही दिन अघिदेखि घर दैलो कार्यक्रममा अधिकारी र सिग्देल प्यानल जुटेको थियो । सिग्देलले आफ्नो प्यानललाई समावेसी प्यानलको घोषणा गरेका थिए भने अधिकारीले संस्थामा आफू ३ दशक लामो समयसम्म लागेको हिसावले अध्यक्षको दाबी गर्दै आएका थिए ।