दीपक बोहोरा
सोमवार, फाल्गुन ५, २०७६
343

 

नेपाल भ्रमण वर्ष २०२०

पाँचथर - यात्राको १७ दिनपछि (माघ २ गते) म निकै आल्हादित भएँ । छुट्टै आनन्द प्राप्त भएको थियो । पाँचथरको चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाट पुगेको थिएँ । ममात्रै होइन, यात्रामा रहेका सबै नै हर्षविभोर भएका थियौं । पाँचथरमा कार्यरत पत्रकार, व्यवसायी, राजनीतिज्ञसहितको समूहले मध्यपहाडी राजमार्गको पूर्वी बिन्दुदेखि पश्चिम बिन्दुसम्मको यात्रा गरेका थियौं, त्यो पनि मोटरसाइकलमा ।
मध्यपहाडी लोकमार्गको सुरुबात बिन्दु नेपाल भारत सिमानामा पर्ने पाँचथरको चिवा भञ्जाङबाट अन्तिम बिन्दु बैतडीको झुलाघाटसम्मको यात्रालाई नाम दिएका थियौं, नेपाल यात्रा ।
यात्रा चुनौतिपूर्ण थियो । पाँचथरबाट झुलाघाटसम्मको दुरी १७७१ किलोमिटर । बाग्लुङ र पूर्वी रुकुमको सिमानामा करिब १० किलोमिटर बाक्लो हिउँ छिचोल्दै हामी बैतडीको झुलाघाट पुगेका थियौं ।
१७ दिनमा बैतडी पुगेपछि स्थानीय पत्रकार साथीहरुसँग हामी झुलाघाटतर्फ लाग्यांै । बैतडीको सदरमुकामबाट झुलाघाट १८ किलोमिटर दुरिमा रहेछ । जब झुलाघाट पुगियो, ठूलो युद्ध जितेको महसुस भयो ।

यात्राको सुरुवात र उद्देश्य
नेपाल भ्रमण वर्षको उद्घाटनकै दिन यानेकी सन् २०२० को सुरु दिनबाटै पाँचथरबाट नेपाल यात्रा सुरु भएको थियो । ६ वटा मोटरसाइकलको साथमा ११ जनाको यात्रा । भ्रमणको पहिलो उद्देश्य थियो– भ्रमण वर्षको प्रचार गर्नु र प्रदेश नम्बर १ घुम्ने निम्तो बाँड्नु । पत्रकारको नाताले मध्य पहाडी लोकमार्गको सामाजिक आर्थिक प्रभाव पहिचान गर्ने हुटहुटी पनि थियो ।
पहिलो दिन (पुस १६) चिवा भञ्जाङबाट तेह्रथुमको सदरमुकाम म्याङलुङसम्मको यात्रा गरियो । मधयपहाडी लोकमार्गले पाँचथरको च्याङथापु, फलैचा, थर्पु बजारसँगै तेह्रथुमको संक्रान्ती बजार, म्याङलुङ बजार, लसुने, वसन्तपुर लगायत बजारको विकासमा आमुल परिर्वत आएको पाइयो । पाँचथरबाट सुरु भएको यात्रा बैतडी पुग्दा १७ दिन लागेको थियो । यि १७ दिनसम्म पूर्व देखि पश्चिम पुग्दा सम्म देखेका प्राकृतिक, सांस्कृतिक, आर्थिक, पर्यटकय, ऐतिहासिक यात्राको क्रममा भेटिएका केहि कुराहरुलाई यो लेख मार्फत प्रस्तुत गर्ने जमर्काे गरेको छु ।

पहाडबाट तराई बसाइँ सर्ने घट्दै
मध्य पहाडी लोकमार्गको उद्देश्य नै पहाडबाट बसाइँसराइ रोक्ने र पहाडी बजारहरुलाई सहर बनाउनु हो । सरकारले ल्याएको नयाँ सहरहरु सहर बन्दै गएका छन् । यि बजारहरु सहर बन्दै गए पछि पहाडबाट तराईतिर बसाइँ सर्ने दर पनि घट्दै गएको मध्यपहाडी जिल्लामा भेटिएका स्थानीयले बताए । मध्यपहाडी लोकमार्गले छोएको पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बाग्लुङको बुर्तीबाङ, रुकुमको चौरजहारी, तनहुँको डुम्रे, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहरका रूपमा विकास गर्न लागिएको हो । मध्यपहाडी लोकमार्ग बनेपछि पाँचथरको च्याङथापु,थर्पु लगायतका ग्रामिण बजारहरुको मुहार फेरिँदै गएको छ । त्यस्तै तेह्रथुमको चुवानडाँडा, संक्रान्ती बजार, म्याङलुङ बजार, बसन्तपुर बजार बिस्तारै सहर बन्दै गएको तेह्रथुमका पत्रकार अमृत बाँस्तोलाले बताए । यस्तै धनकुटाको हिले पनि सहर बन्दै गएको छ । भोजपुर सदरमुकामको मुहार फेरिँदै गएको स्थानीय गायत्री श्रेष्ठले बताइन् । खोटाङको दिक्तेल बजारलाई मध्यपहाडी लोकमार्गले समृद्ध बनाउँदै गएको स्थानीय पत्रकार उत्तम चैलागाई बताउँछन् । पूर्व मात्र होइन, पश्चिमका बाग्लुङ, पर्वत, रुकुम,दैलेख, जाजरकोट, अछामको जनजीवन पनि सुधार हुँदै गएको छ ।
लोकमार्ग बनेपछि सडकको आशपास घरहरु बन्ने क्रम बढेको छ । पूर्वदेखि पश्चिमसम्म सडकको छेउछाउ घर निर्माण हँुदै गरेको देख्न थालिएको छ । घर निर्माण गर्ने क्रम बढेसँगै नयाँ बस्तिहरु पनि निर्माण हुन थालेको छ । व्यापार व्यवसाय गर्नेहरुले नयाँ बजार समेत सुरु गरेको देख्न पाइन्छ ।
पूर्वमा देखि पश्चिम सबैतिरका बजारहरु सहर बन्दै गएएका छन् । स्थानीय तहका केन्द्रहरू मध्यपहाडी लोकमार्गकै आसपास बनेका छन् । नगरपालिका तथा गाउँपालिकाका केन्द्रले गर्दा चहलपहल बढेको देखिन्छ ।
पुराना बजार आधुनिक हुँदै गएका छन् । नयाँ बजार पनि स्थापना भइरहेका छन् । बजार बन्ने क्रममा दैलेखको रावकोट, जम्मुकाट, लोहोरे खोला, चामुण्डा, दैलेख र जाजरकोटको सिमाना सिगौडी, रुकुमको लुकुम, रुकुमकोट, चौहरजहारीजस्ता ठाउँमा ग्रामीण बजारीकरण बढेको देखिन्छ । रामेछाप, बाग्लुङ, लमजुङ, जाजरकोट, दैलेख, अछामलगायत जिल्लाका ग्रामीण क्षेत्रमा सडक सुविधासँगै ग्रामीण बजारीकरण देखिन्छ ।

पहाडैपहाड पूर्व–पश्चिम गर्न सकिने
मध्य पहाडी लोकमार्गको पूर्व पश्चिम सबैतिर ट्रयाक खुलिसके पछि पहाडै पहाड पूर्व पश्चिम गर्न सकिने भएको छ । तराई पुगेर अर्को पहाडी जिल्ला पुग्नुपर्ने बाध्यता हटेको छ । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा यो राजमार्ग प्रयोग गर्न सकिने भएको छ । मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व–पश्चिम यात्रा गर्न सम्भव बन्दैछ । कतै कालोपत्रे, कतै ग्राभेल त कतै कच्ची सडकको प्रयोग गरेर पहाडैपहाड पूर्व–पश्चिम यात्रा सम्भव हुँदै गएको हो । यो लोकमार्गले सहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ । दुर्गम गाउँहरु सडक मार्गमा जोडिएका छन् । मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व–पश्चिम यात्रा गर्न सम्भव बन्दैछ भने विभिन्न जिल्लाबाट राजधानी काठमाडौंसम्मको सडक दूरी पनि छोटिएको छ । मध्यपहाडी लोकमार्गले ६ वटा प्रदेशलाई छुन्छ । लोकमार्गले चिवाभन्ज्याङ, च्याङ्थापु, आयोम, थर्पु, गणेश चोक, गोपेटार, जोरसाल, तमोर नदी, संक्रान्ति, म्याङलुङ, वसन्तपुर, हिले, लगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, घुर्मी, खुर्कोट, चौरीखोला, दोलालघाट, बाहुनेपाटी, पातीभन्ज्याङ, सल्यानटार आरुघाट, पालुङटार, कास्कीको अन्नपूर्ण गाउँपालिका, बाग्लुङ, लुकुम, रुकुमकोट, मुसिकोट, चौरजहारी, जगातीपुर, बस्ताडा, दैलेख, दुल्लु जबमुकाध, साइजिउला, बेलखेत, विनायक, साँफेबकर, सिलगडी, डडेलधुरा, पाटन, सतबाँझ, झलाघाटलगायतका क्षेत्र छोएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको लोकमार्गको सम्पूर्ण काम आर्थिक वर्ष २०८० सम्ममा सम्पन्न गर्ने सरकारी लक्ष्य छ । पूर्वमा पाँचथरको चिवाभन्ज्याङदेखि पश्चिमको बैतडीको झुलाघाट जोड्नेगरी १ हजार सात सय ७६ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग रहेको छ । मध्य पहाडी लोकमार्गले पहाड–पहाडलाई जोडेको छ ।

पूर्वेली र पश्चिमेली संस्कृति जोड्दै
मध्यपहाडी लोकमार्गले प्राकृतिक सुन्दरता, धार्मिक महत्वका स्थल, परम्परागत सांस्कृतिक सम्पदा, पुरातात्विक महत्वका क्षेत्रहरूलाई समेत पूर्व पश्चिम जोड्ने देखिन्छ । लोकमार्गले छुने २६ वटै जिल्लामा महत्पूर्ण पर्यटकीय क्षेत्रहरुलाई समेत जोड्ने छ । मध्यपहाडी क्षेत्रमा विभिन्न जातजातिको बहुल बसोबास रहेको र यि जातीको संस्कृति पनि आदानप्रदान हुने देखिन्छ ।

बिरालोको स्तम्भ भएको म्याङलुङ
तेह्रथुमको सदरमुकाम म्याङलुङमा बिरालोको स्तम्भ रहेको छ । त्यो स्तम्भमा पहिलो पटक म्याङलुङ पुग्नेहरु फोटो खिच्न पुगि हाल्छन् । म्याङलुङको नाम किन म्याङलुङ रह्यो भन्ने किंवदन्ती पनि रोचक रहेछ । ढुंगामा बिरालोको आवाज आएका किंवन्तिअनुसार यो ठाउँको नाम म्याङलुङ हुन गएको स्थानीय बिजिन निङलेकुले बताए । लिम्बू जातिको बाहुल्य रहेको म्याङलुङमा लिम्बु भाषामा म्याङ भनेको बिरालो र लुङ भनेको ढुंगा भएको भएकाले म्याङलुङ नाम रहन गएको स्थानिय बताउँछन् ।
तेह्रथुमकै लसुने भन्ने ठाउँमा लसुनको स्तम्भ छ । लसुने बजार लसुनको लागि प्रसिद्ध भएकाले लसुनको स्तम्भ बनाएको स्थानीयले बताए । उसैगरी नमुना सहरको रुपमा विकास हुँदै गएको तेह्रथुमको लालिगुराँस नगरपालिका केन्द्र वसन्तपुर बजारबिच गुराँसको स्तम्भ बनाइएको छ । लाली गुरासको लागि प्रख्यात रहेको तिनजुरे मिल्के क्षेत्रको पहिचानको लागि गुरासको स्तम्भ निर्माण गएिको स्थानीयले बताए । त्यस्तै धनकुटाको हिले बजारको बीचमा पनि तोङ्बाको स्तम्भ निर्माण गरिएको छ ।

फेरिँदै गरेको भोजपुर र खोटाङ
केही समय अगाडिसम्म विकट जिल्लाका रुपमा चिनिने पूर्वका खोटाङमध्ये पहाडी लोकमार्ग बनेपछि संघीय राजधानी काठमाडौं पुग्न सहज भएको स्थानीयहले बताए । मध्यपहाडी लोकमार्गबाट सिन्धुलीको खुरकोटसम्म आउने र खुरकोटबाट बिपि राजमार्गबाट छिट्टै काठमाडौ पुग्न सकिने भोजपुरकी पत्रकार एलिसा श्रेष्ठले बताइन् । राजमार्गका छेउछाउ राम्रा राम्रा होमस्टे र होटलहरु खुल्न थालेका छन् ।

बहुधार्मिक आस्थाको केन्द्र हलेसी महादेव
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारबाट ४० किलोमिटर दूरीमा रहेको हलेसी महादेव मन्दिर बहुधार्मिक आस्थाको केन्द्र हो । हिन्दू, बौद्ध र किराँतहरुको आस्थाको केन्द्र हलेसि महादेव पूर्वकै एक चर्चित धार्मिक केन्द्र समेत हो । हलेसि तुवाचुङ नगरपालिकामा पर्ने हलेसी मन्दिरमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीहरुको भिड लाग्ने गरेको छ ।
हलेसी महादेव मन्दिर परिषरभित्र महादेव गुफा रहेको र गुफाभित्र पापद्धार, गर्भद्धार, धर्मद्धार, कर्मद्धार र पार्वतीथान रहेको स्थानीय कमल गिरीले बताए । गिरिका अनुसार पापद्धारबाट पाप नष्ट गरिने वा हरण हुने कुरामा विश्वास राखिने बताए । यो द्धारलाई बौद्धधर्ममा पनि पाप र पुण्य छुट्याउने मुख्य मार्गको रुपमा व्याख्या गरिएको बताए । त्यस्तै धर्मद्धारबाट छिर्दा धर्म सिद्धि हुने कुरामा विश्वास गरिन्छ । बैद्धमार्गीहरुले पनि धर्मद्धारलाई अन्तरभावको अप्ठयारो बाटो भनी व्याख्या गरेको स्थानीय बताउँछन् । सबै धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको हलेसी महादेव भ्रमण वर्ष २०२० को एक उत्कृष्ट गन्तव्य हो ।

ऐतिहासिक नुवाकोट
नेपालको इतिहासमा नुवाकोट जिल्ला ऐतिहासिक जिल्ला हो । पृथ्वीनारायण शाहले ३ पटकसम्म आक्रमण गर्दा मात्र नुवाकोट माथि विजय हासिल गरेको कुरा इतिहासमा पढ्न पाइन्छ । नु्वाकोट जिल्लालाई पनि मध्यपहाडी लोकर्मागले छुँदै जाने हुँदा यहाँ रहेको ऐतिहासिक दरबारहरुको प्रचार हुने कुरा विश्वास गर्न सकिन्छ । गोर्खाका राजा पृथ्वी नारायण शाहले नुवाकोटलाई दोश्रो राजधानी समेत बनाएको हुँदा नुवाकोट आफैंमा एक ऐतिहासिक स्थान हो । नुवाकोटको दरबार भूकम्प भत्काएकोे हुँदा अहिले पुनर्निर्माणको चरणमा रहेको छ ।

फेरिँदै गरेको पालुङटार
शान्ति प्रकृयापछि तत्कालीन माओवादीले बिस्तारित बैठक बसेर चर्चामा आएको गोरखाको पालुङटार अहिले सहर बन्दै गएको छ । पालुङटारमा अहिले मध्यपहाडी लोकमार्ग पुगेपछि सहरीकरण हँुदै गएको पालुङटारका मेयर दिपकबाबु कँडेलले बताए । अब सडक निर्माण भएसँगै पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सुरु गरिएको मेयर कँडेलले बताए । मध्यपहाडी लोकमार्ग आएपछि यहाँ बजार बन्दै छ, होटल र अन्य व्यवसाय गर्न सुरु गरेका छन् । सडकले यहाँ जनजीवन सुधार गर्दै लगेको स्थानीय सुमन गुरुङले बताए ।

फेरिँदो बुर्तिबाङ
बाग्लुङ सदरमुकामबाट ८५ किलोमिटर टाढा पर्ने यो बजार ढोरपाटन नगरपालिकाको केन्द्र समेत हो । सदरमुकामबाट निकै टाढा रहेको बुर्तिबाङ बजार मध्यपहाडी लोकमार्गले छुने र सरकारले निर्माण गर्ने लागेको दश नयाँ सहर मध्येको एक बजार पनि हो । केहि वर्ष अगाडिसम्म साना, मझौला घरहरु रहेको बुर्तिबाङमा अहिले आलिसान घरहरु बनेको बाग्लुङका पत्रकार अर्जुन कार्की बताउँछन् ।
केहि वर्ष अगाडिसम्म सुनसान रहेको सानो बुर्तिबाङ बजार मध्यपहाडी लोकमर्ग पुगेपछि धेरै गाउँहरुको सेन्टर बन्न पुग्यो । बाग्लुङको निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका र रुकुम जिल्ला र रोल्पा जिल्ला पुग्न पनि बुर्तिबाङनै पुग्नुपर्ने भएपछि बुर्तिबाङ बजारबाट सहर बनेको स्थानीय सुन्दर घर्ति मगरले बताए ।
बुर्तिबाङ बजार बाग्लुङको सदरमुकाम पछाडिको ठूलो बजार हो । बुर्तिबाङ बजार सहर बन्दै गएपछि र मालपोतको काम गर्ने, नागरिकता बनाउने काम बुर्तिबाङबाटै हुन थालेपछि ढोरपाटन नगरपालिका, निसिखोल गाउँपालिका, तमानखोला गाउँपालिकाका नागरिकहरुले २,४ दिनसम्म हिँडेर बाग्लुङ बजार धाउनुपर्ने समस्या हल भएको पत्रकार कार्कीले बताए । गाउँमा सडक आएपछि सरकारले नयाँ सहरका रूपमा बुर्तिबाङलाई विकास गर्ने घोषणा गरे पछि बुर्तिबाङ बजारबाट सहर हुन थालेको स्थानीयहरु बताउँछन् । बुर्तिबाङमा अहिले अहिले ठूलाठूला घर, बैंक, वित्तीय संस्था, सुविधा–सम्पन्न होटलमात्र छ । बुर्तिबाङ बाग्लुङको मुख्य व्यापारिक केन्द्र समेत बनेको छ । बुर्तिबाङमा अहिले पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पा जिल्लाका समेत मान्छेहरु बसाइँ सरेर आउने स्थानीय सुन्दर घर्तिले बताए । रुकुम र रोल्पाका जनताहरुलाई काठमाडौं र पूर्व आउन समेत बुर्तिबाङ आउनु पर्ने भएपछि रुकुम र रोल्पाको समेत सेन्टर बन्दै गएको छ बुर्तिबाङ बजार ।
दरम खोलाको किनारमा रहेको बुर्तिबाङमा अहिले नेपाल सरकारको आधुनिक सहर बनाउने कार्यक्रम अन्तर्गत नयाँ सहर आयोजनाले बसपार्क निर्माणको लागि जग्गा खरिद गरि निर्माण कार्य अगाडि बढाउन थालेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बताउँछन् । बसपार्कसँगै नयाँ सहर आयोजनाबाट बुर्तिबाङ बजारभित्रको सडकको पिच गर्ने नालि बनाउने कार्य सकिएको नेपालीले बताए । “अघिल्लो वर्ष नयाँ सहरको काम गराई केहि सुस्त थियो । यो वर्ष केहि काम हुने जस्तो छ,” नेपालीले भने, “स्वास्थ्य उपचार गर्नलाई पनि यहाँ उति साह्रो गाह्रो छैन । यहाँ उपचार गर्न नसकिने बिरामी पाल्पातिर रेफर गर्ने गरेका छौं । यहाँ हेलिको सुविधा भएकाले बाग्लुङबाट भन्दा छिटो पाल्पा पु-याउन सकिन्छ ।”
बुर्तिबाङ बजार सहर बनेसँगै यो एउटा आर्थिक र व्यापारिक केन्द्र समेत बन्दै गएको छ । ढोरपाटन राष्ट्रिय निकुञ्ज जान पनि यहिबाट जानु पर्ने भएकाले निकै सुधिायुक्त होटलहरु समेत खुलेको मेयर नेपालीले जानकारी दिए । बुर्तिबाङ बजारमा अहिले करिब १० वटा जति वित्तिय संस्थाहरु र ३ वटा रेडियो समेत रहेको पत्रकार कार्कीले बताए ।

कान्छो जिल्ला पूर्व रुकुम
देशमा नयाँ संरचनाले रुकुमबाट छुटेर बनेको पूर्वि रुकुमको अहिलेको सदरमुकाम रुकुमकोटमा विभिन्न कार्यालयहरुको भवनहरु धमाधम निर्माण भइरहेका छन् । नयाँ संरचनाबाट पश्चिम र पूर्वमा विभाजन भएपछि पुरानो सदरमुकाम मुसिकोट पश्चिम रुकुममा परेपछि रुकुमकोट अहिले पूर्वी रुकुमको सदरमुकाम बनेको हो । नयाँ संरचनाबाट पश्चिम रुकुम कर्णाली प्रदेश र पूर्वी रुकुम प्रदेश नम्बर ५ मा विभाजन भएका हुन् । हिमाली जिल्लाको पहिचान बनाउँदै गरेको पूर्वी रुकुमको ५३ हजार जनसंख्या रहेको छ ।
नयाँ संरचनाले बनेको नयाँ जिल्ला पूर्वी रुकुममा ३ वटा स्थानीय तह रहेका छन् । पूर्वी रुकुमका सिस्ने गाँउपालिका, भुमे गाउँपालिका र पुथा उत्तर गंगा गाउँपालिका रहेका छन् । पूर्वी रुकुमको अहिलेको सदरमुकाम रुकुमकोट सिस्ने गाउँपालिकामा रहेको छ । कान्छो जिल्ला रुकुम पूर्वमा जिल्ला सदरमुकामको केही विवाद रहेको स्थानीय पत्रकार जयमान बुढा मगरले बताए । रुकुमकोटमा रहेकाले रुकुमकोटबाट जिल्ला सदरमुकाम चले पनि सदरमुकामको विषयमा विवाद रहेको उनले बताए । नयाँ संरचना बन्दै गर्दा तत्कालीन शेरबहादुर देउवाको सरकारले पूर्वी रुकुमको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ मा रहेको गोलखादालाई सदरमुकाम बनाउने निर्णय रहेकाले सदरमुकामा गोलदाखामै रहन पर्ने विवाद रहेको मगरले बताए ।
नयाँ जिल्ला भएकाले धेरै कार्यालय एउटै भवनबाट सञ्चालन गर्नुपर्ने समस्या रहेको प्रमुख जिल्ला अधिकारी मोहन कुमार अर्यालले बताए । अहिले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय एउटै भवनबाट सञ्चालन हँुदै आएको छ । पुरानो इलाका प्रशासन कार्यालयको भवनबाट अहिले जिल्ला प्रशासन कार्यालयले सेवा दिइरहेको अर्यालले बताए । अन्य संरचनाहरु पनि निर्माण हुने क्रममा रहेको सिस्ने गाउँपालिका प्रमख कुमारी बरालले बताइन् ।
हिमाली जिल्ला भएकाले सम्बन्धित हिमाल रहेका स्थानहरु सम्म पुग्ने पर्यटकिय पदमार्ग निर्माण गरि व्यावसायिक धर्मशालाहरु निर्माण र बेसक्याम्प निर्माण गरी पर्यटनबाट जिल्लाको विकास गर्ने तयारी रहेको समन्वय समिति प्रमुख गजेन्द्र बहादुर बलीले बताए । जिल्लामा ५ हजारदेखि ७ हजार उचाइ रहेका हिमालहरु रहेको उनले बताए । जिल्लामा पुथा हिमाल ७२४६ मिटर देखि ४५०० मिटर उचाइमा रहेको हिमाल रहेको वलीको भनाइ छ । पूर्वी रुकुममा पुथा हिमाल, दोगारी हिमाल, साम्जाङ हिमाल, सिस्ने हिमाल, ङिम्कुँ हिमाल, मुसिकोल्टा हिमाल रहेका छन् ।

दैलेखको दौलत
दैलेख ऐतिहासिक, प्राकृतिक र संस्कृतिको धनि छ । कुनै बेला गहना र छालाको जुत्ताको चर्चित दैलेख जिल्ला अहिले प्राकृतिक ग्यासको कारण चर्चित छ । दैलेख जिल्लामा अहिले चिनियाँ टोलीले प्राकृतिक रुपमा ग्यासको बारेका अध्ययन गरिरहेको छ । दैलेखमा रहेको ज्वाला क्षेत्रमा जमिनबाट ग्यास निस्की ज्वाला बलिरहेको छ । ज्वाला क्षेत्रमा २,४ ठाउँमा ज्वाला बलिरहेको देख्न सकिन्छ । दैलेख जिल्ला ऐतिहासिक जिल्ला पनि हो । खस आर्यहरुको उद्गम जिल्लाको रुपमा पनि लिने गरिन्छ । दैलेख जिल्लामा नेपाली भाषाको पहिलो शिलालेख पनि रहेको छ । दैलेखको दुल्लुबाट दुलालहरु बास्कोटबाट बास्कोटाहरु, नेपाल, चापागाई लगायत २९ जातिहरुको उद्गम स्थालको रुपमा लिने गरेको स्थानीयले बताए ।
सबै भन्दा बढी संख्यामा देवलहरू दैलेख जिल्लामा निर्माण गरिका छन् । स्थानीय जन विश्वास अनुसार महाभारत कालका पात्र पाण्डवहरू द्वारा निर्माण गरिएका भनिने यि देवलहरू किन र कुन प्रयोजनको लागि निर्माण गरिएका हुन् भन्ने आजसम्म कुनै ठोस प्रमाणहरू जुट्न सकेका छैनन् ।

फेरिँदो अछाम
द्वन्द्वको चपेटामा परेको अछामको मंगलसेन तङ्ग्रिरदै गरेको अवस्थामा छ । मंगलसेन दरबार भूकम्पले भत्किएपछि पुनर्निर्माण हुँदै गरेको अवस्थामा रहेको छ । अछाम जिल्ला कतिपय जात जातिको उद्गम स्थल पनि रहेको छ । भौगोलिक हिसाबले विकट रहेको अछाम जिल्ला पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरूले भरिपूर्ण छ । रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदा देवी मन्दिर, वैजनाथ मन्दिर, दर्ना दरबार, मंगलसेन दरबार, विनायकका पञ्च देवलहरू, दर्नाका देवलहरू, बान्नीगढी, जैगढ, बयलपाटा आदि यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थानहरू हुन् । साँफेबगर दश नयाँ सहर मध्येको एक हो । साँफेबगर पनि बिस्तारै सहर बन्दै गएको पाइन्छ ।

ऐतिहासिक अमरगढी
डडेल्धुराको सदरमुकाम नजिक ऐतिहासिक अमरगढी रहेको छ । नेपाल एकीकरणको अभियानका बेला वि.सं. १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौजले डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रशासक नियुक्त भएका थिए । उनै अमरसिंह थापाले किल्ला बनाएको पछि त्यहि किल्लाबाट गोर्खाली फौजले युद्ध लडेको इतिहास पाइन्छ ।

झुलाघाट
नेपालका चार सहिदहरु मध्ये एक सहिद दशरथ चन्दको जन्म भएको जिल्ला हो बैतडी । दशरथ चन्दको सम्मानको लागि उनको नामबाट एक स्थानीय तहको नामाकरण समेत गरिएको रहेछ । बैतडीको पाटन नयाँ सहर मध्येको एक सहर हो । बैतडी जिल्लामा रहेको सहिद दशरथ चन्दको जन्मघर लाई अहिले पाहुना घरको रुपमा विकास गरिएको छ । बैतडी पुग्ने अथितिहरु यस घरमा बास बस्न सक्ने छन् । बैतडीको सदरमुकामबाट १८ किलोमिटरको दुरीमा झुलाघाट रहेको छ । यो नेपाल भारतको सिमाना हो । महाकाली नदीले सिमाना छुट्याएको छ । महाकाली नदि पारि भरतको उत्तराखण्ड रहेको छ । महाकाली नदीमा झोलुङे पुलले दुई देशलाई जोडेको छ । झुलाघाट व्यापारिक केन्द्र रहेछ । झुलाघाटमा पक्की पुल निर्माण गरी यातायात सहज बनाउन स्थानीयको माग छ ।