विप्लव काफ्ले
शुक्रवार, फाल्गुन २, २०७६
456

भरतपुर–२२ मा पर्यटकीय गन्तव्य थप भएको छ । भ्रमण वर्ष–२०२० का लागि १ सय गन्तव्य सूचीमा परेको पटिहानी क्षेत्रमा ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको छ । ३ करोड लागतमा बनाइएको अम्ब्रेला स्ट्रिटको पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार उद्घाटन गरे ।
राप्ती खोलामा तटबन्धन गरिएपछि बाढीको चपेटाबाट मुक्त बनेको पटिहानीमा २०६० सालदेखि पर्यटन गतिविधिले तीव्रता पाउन थालेको हो । चितवन राष्ट्रिय निकुञ्ज र राप्ती खोलाको किनारमा रहेको पटिहानी यतिबेला पर्यटक घुम्ने क्षेत्रमा रूपमा चिनिन थालेको छ । ३ करोड खर्चेर बनाइएको अम्ब्रेला स्ट्रिट नेपाल आउने पर्यटकलाई नयाँ स्वादका रूपमा छ । भरतपुर महानगरले १ करोड ५० लाख, पर्यटन मन्त्रालयले १ करोड र वडा कार्यालयले ५० लाख विनियोजन गरेपछि नयाँ गन्तव्य तयार भएको हो । यो घट्गाई नजिकै राप्ती किनारमा बनाइएको छ । “सूर्यास्तको दृश्यमा रमाउँदै हेर्न पाइनेछ”, भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतोले भने, “निकुञ्जबाट नदी तटीय क्षेत्रमा आउने जंगली जनावरसमेत नजिकैबाट हेर्न पाइनेछ ।” उनले अम्ब्रेला स्ट्रिटले पटिहानीमा पर्यटक संख्या बढाउने दाबी गरे । “यो नयाँ स्वाद हो, स्थानीय संस्कृति पनि हेर्न मिल्ने, ‘वाइल्ड लाइफ’ पर्यटनको पनि आभाष दिलाउने ठाउँ हो”, उनले भने, “पटिहानी चिनाउने नयाँ गन्तव्य हो ।”

१ सय २० मिटर लामो बाटोको ९० मिटरसम्म ४ सय ८० वटा रंगिन छाता राखेर आकर्षक छानो तयार पारिएको छ । सप्तरंगीसहितको छाताको आकारमा पानीको फोहरा दिने ‘वाटर फाउन्टेन’ समेत बनाइएको छ । नदी किनार छेउमै ‘भ्यू प्वाइन्ट’ बनाइएको छ । जहाँबाट गैंडा, मृग, गोही, चरा नियाल्न सकिनेछ । पटिहानी थारु र बोटे समुदायको बसोबास भएको क्षेत्र हो । “रात्रिकालीन फुड प्वाइन्टका रूपमा पूर्वाधार बनाइएको छ”, पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलियाले भने, “दिनभर घुमेर आएका पर्यटक यहाँ आएर रमाउनेछन्, पटिहानीको संस्कृति अवलोकन गर्नेछन् ।” उनले पटिहानीमा सरकारी हात्ती सफारी र डुङ्गा सफारीका लागि निकुञ्जसँग समन्वय गर्न सके पर्यटक चहलपहल बढाउन सकिने बताउँछन् । पटिहानीमा विक्रमबाबा, सीतामाई, कमलपोखरी, तमोर ताललगायतका गन्तव्यहरु छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकको मन लोभ्याउने गरेका छन् । पटिहानीमा २ वटा तीनतारे होटल सञ्चालनमा छन् । यस्तै २ वटा तीनतारे होटल निर्माणको चरणमा छन् । पटिहानी क्षेत्रमा मात्रै ९ सय ५० बेडसहितका ठूला रिसोर्ट तथा होटलहरु छन् । “भ्रमण वर्षमा पटिहानी आउने पर्यटकलाई सहुलियतको व्यवस्था मिलाइएको छ”, वडाध्यक्ष महतोले भने, “खानाको बिलमा १५ र बसाईको शुल्कमा २० प्रतिशत छुट दिइनेछ ।” पर्यटक घुम्नका लागि छितामाई, विक्रम बाबा, लामिताल, तमोर ताल, थारु बोटे समुदायको बस्ती, कमलपोखरी छन्। स्थानीय सांस्कृतिक कार्यक्रम र भेषभूषाले पर्यटकलाई लोभ्याउँछ ।
पटिहानीम फुड फेस्टिभल
पर्यटकीय गन्तव्य पटिहानीमा पहिलो पटक फुड फेस्टिभल हुँदैछ । बिहीबारदेखि सुरु भएको फुड फेस्टिभल अम्ब्रेला स्ट्रिट परिसरमा हुँदैछ । प्रसार–प्रचार उपसमितिका संयोजक रामहरि सेढार्इंले २० वटा स्टल रहने बताए । निःशुल्क प्रवेशको व्यवस्था छ ।
वडा कार्यालयले आयोजना गरेको फुड फेस्टिभलमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले गीत–संगित प्रस्तुत गर्नेछन् । घोङ्गी, चिचर, हाँसको माछालगायतका परिकार राखिनेछ । डुङ्गा, गाडा, हात्ती, जीप सफारीको समेत व्यवस्था छ । फेस्टिभल ३ दिन चल्नेछ ।