कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
444

लमजुङमा फागुनको अन्तिम साता दोस्रो जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, लमजुङले जिल्ला सदरमुकाम समेत रहेको बेंसीसहर नगरपालिका–९, दनाईफाँटमा महोत्सव गर्न लागेको हो । आयोजकले बुधबार सदरमुकाम बेंसीसहरमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । “मौलिक संस्कृति, भाषा र सभ्यता हाम्रो पहिचान ! एकता, समान अधिकार र आर्थिक समृद्धिका लागि पर्यटन” भन्ने नाराका साथ फागुन २३ देखि चैत २ गतेसम्म महोत्सव हुने परिषद्ले जनाएको छ ।
आदिवासी जनजातिको पहिचानलाई समय सापेक्ष विकास गर्दै अधिकारको निमित्त सिर्जनात्मक र रचनात्मक कार्यक्रमहरू गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागेको परिषद् लमजुङका अध्यक्ष हरिजङ तामाङले बताए । महोत्सवले आदिवासी जनजातिहरूको पृथक मौलिकता, ऐतिहासिक सभ्यता र बहुआयमिक संस्कृतिको संरक्षण प्रवद्र्धन र विकास गर्दै सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पनि जिल्लाका आदिवासी जनजातिलाई शसक्तिकरणमा टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष तामाङको भनाइ छ ।

भ्रमण वर्ष–२०२० सफल बनाउनका लागि समेत सो महोत्सवले मदत पुग्ने आयोजकले जनाएको छ । महोत्सवमा साँस्कृतिक झाँकीसहित प्रभातफेरी, शैक्षिक, विज्ञान तथा कृषि प्रदर्शनी, बाल उद्यान, बालमेला सूचना प्रविधिसम्बन्धी जानकारी तथा मेला, स्थानीय कलाकारको साथै राष्ट्रिय कलाकारको साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू, आदिवासी समुदायहरूको दैनिक रूपमा नौवटै समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिने आयोजकले जनाएको छ ।
महोत्सवलाई थप आकर्षण बनाउन मस्र्याङ्दी नदीको बेलौतिविसनाबाट झिँगेखेलाको दोभानसम्म जलयात्रा, विभिन्न जातजातिको साँस्कृतिक घरसहितको जातीय खाना तथा मौलिक परिकारको खाजा, आदिवासीको जनजातिहरूको जन्मदेखि मृत्युसम्मको संस्कारमा चाहिने सामग्री, जातीय किताब, पोसाक, कपडा विभिन्न बाजा र साँस्कृतिक सामग्रीहरूको प्रदर्शनी, कृषि, हस्तकला प्रदर्शनी गरिने बताइएको छ । महोत्सव अवधिभर २ लाख पर्यटकले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।
त्यस्तै महोत्सवस्थल प्रवेशको लागि सर्वसाधरणलाई ५० रुपैयाँ र ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई ३० रुपैयाँ शुल्क कायम भएको छ ।