दीपेन्द्र थापा
मंगलबार, माघ २८, २०७६
495

नेपाल वायुसेवा निगमले फागुन १९ देखि जापानको नारितामा उडान गर्ने भएको छ ।साताको तीन उडान गर्ने गरी निगमले समयतालिका तयार पारेकोे जनाएको छ ।निगमले काठमाडौं–जापानको–नारिता सीधा उडानभर्न लागेको हो ।
एयरबस ए३३०–२०० गरिने सीधा उडान सोमबार, बुधबार र शुक्रवार हुनेछ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ । जापानमा प्यासेन्जर सेल्स एजेन्ट (पीएसए) यसअघि नै नियुक्त गरिसकेको छ । निगमले मार्च २ बाट नारिता उडानको लागि उडान अनुमति प्राप्त गरिसकेको प्रवक्ता अर्चना खड्काले बताइन् ।उनले भनिन्, “जापान उडानको सम्पूर्ण तयारी पूरा भइसकेको छ, निगमले फेब्रुअरीको अन्तिमसम्म ओशाका र मार्च २ बाट नारिता उडान गर्नेछ।”सोमबारसम्म एक सयभन्दा बढी बुकिङ संकेत भएको जनाइएको छ । नारिता उडानसँगै ओसाका उडान बन्द हुने छ । भदौ १२ देखि जापानकै ओसाकामा सीधा उडान सुरु गरेको निगमले यात्रु पाउन नसकेपछि नारिता उडानका लागि पहल गर्दै आएको थियो ।

चीनको ग्वाङ्जाओमा व्यावसायिक उडानका लागि पनि सम्पूर्ण तयारी पूरा भइसकेको भएपनि चीनमा देखिएको नोबल कोरोना भाइरसका कारण पर्ख र हेरको अवस्था रहेको प्रवक्ता खड्काले बताइन् ।
ग्वाङ्जाओमा व्यावसायीक उडान गर्ने गरी निगमले आन्तरिक गृहकार्य तीव्र पारेको थियो । निगमले चीन उडानको लागि अनुमति पनि पाएको जनाएको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुरु भएसँगै राष्ट्रिय ध्वाजावाहक निगमले नयाँ गन्तव्यको विस्तारमा जोड दिएको हो । निगमले चीनको ग्वाङ्जाओ उडान गर्ने निश्चित भएको थियो । मार्च१५बाट चीन उडान भर्ने मिति तय भएको थियो । नारिता र ग्वाङ्जाओमा ग्राउण्ड ह्यान्डलिङ ग्राउण्ड ह्याण्डलिङ, इन्धन र स्लट सेवाको प्रकृया समेत पुरा भएको निगमको भनाइ छ ।
हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरिएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५÷२५ के.जी. का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३÷२३ के.जी.का २ वटा व्यागेजको सुविधा पाउने छन् ।
नारिताको उडान प्रारंभ भएपछि टोकियो र वरपरका यात्रुहरूलाई सुविधा हुनेछ भने सीधा उडानले गर्दा ट्रान्जिटको झन्झटसमेत समाप्त हुनेछ । यता, साउदी अरेबियाको रियादमा पनि उडान भनेका लागि जिएए नियुक्तीको प्रक्रियामा रहेको निगमले जनाएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई विशेष प्राथमिकताका साथ निगले गन्तव्य विस्तारमा जोड दिएको छ । निगमको नयाँ दुई गन्तव्यमा उडान भरे सँगै नेपालको पर्यटन आगमनमा सुधार हुने समेत अपेक्षा राखिएको छ ।
विगतमा काठमाडौं ओसाकाबीच सन् १९९४ मा सुरु भएको उडान २००७ सम्म नियमित रूपमा भएकोे थियो । बोइङ्ग ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गरिन्थ्यो । तर अवको उडान काठमाडौंबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौंसम्म वाइडबडी विमानबाट सीधा उडान गरिने छ । तत्कालिन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो।
नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता अघिल्लो वर्षको असारमा पुनारावलोकन भएको थियो । हवाई सम्झौतासँगै नेपाल र जापानबीच सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति भएको छ ।नयाँ सम्झौतामा जापानको हनेडा विमानस्थल बाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सम्झौतामा उल्लेख छ ।सन् २०१९को तथ्यांकअनुसार जापानबाट ३० हजार ५ सय ३३ले नेपाल भ्रमण गरेका छन्।टोकियोमा १ लाखभन्दा बढी नेपालीको बसोवास रहेको छ ।
हाल निगमले २ थान एयर बस ए३३०–२०० (२७४ सिट) र २ थान न्यारोवडी एयर बस ३२०–२०० (१५८ सिट) गरि ४ विमानले ९ गन्तव्यमा उडान भरिरहेका छन् । नयाँ २ गन्तव्यमा उडान भरे सँगै निगमको उडान गन्तव्यको संख्या ११ पुग्ने छ ।