कारोबार संवाददाता
सोमवार, माघ २७, २०७६
583

म्याग्दी- समुद्र सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकीयस्थल मालिका धुरी छ । म्याग्दीको मालिका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सीमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा र कार्तिक पूर्णिमामा दर्शन र पूजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।
मालिकाधुरीको दर्शनसँगसँगै भक्तजनहरुले प्राकृतिक हिमशृंखला, सुन्दर ठाउँ अवलोकन गर्छन् । धार्मिकस्थल मालिकाबाट लालीगुराँसको जंगल, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुछ्रे, सिस्ने, गुर्जा, मानापाथी, मनास्लु लगायतका २० भन्दा बढी हिमशृंखला, सुर्योदय, नजिकबाट अवलोकन गर्न सकिन्छ । घना जंगलको यात्रामा घोरल रतुवा डाफेँ, मुनाल, कालिज लगायतको वन्यजन्तुको आवाज भक्तजनहरुले सुन्न र देख्न सकिन्छ ।

कालिका देवी, मालिका देवी र जलवा देवी रहेको मालिका धुरीमा पूजा गर्न म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौं लगायतका देशका विभिन्न स्थानबाट हजारौ भक्तजनहरुको भिड लाग्ने गर्छ । मालिकाको पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए ।
त्यहाँ पोखराको बराह तालको जाल्पा देवी, बागलुङ कालिकाको कालिका देवी र म्याग्दीको मालिका देवीको पूजा एकै ठाउँमा हुने मालिका धुरी हो । मालिका धुरीमा भक्तजनहरु दर्शन तथा पूजा गर्दा काग आएर कराएपछि मालिका देवी आएको जनविश्वास छ ।
मालिकामा भक्तजनहरुको भिड बढेपछि पूर्वाधार निर्माणका लागि २०७० साल पर्यटन बोर्ड पोखराबाट ५ लाख, तत्कालिन जिल्ला विकास कार्यालबाट २ लाख ५० हजार, मालिका गाउँपालिकाबाट १५ लाख बजेटबाट मन्दिर, पूजाआजा गर्न सहज व्यवस्थासहित रेलिङ र बास बस्ने सत्तल, पदमार्ग बनाएको समितिका सचिव वामबहादुर रोकाले बताए ।
मालिका पुग्ने भक्तजनहरुको सडक सुविधाका लागि अघिल्लो आर्थिक ५० लाख बजेटबाट विम हुँदै दोबाटसम्म सडक आएको छ भने यस वर्ष पनि मालिका आउने भक्तजनहरुको लागि सडक विस्तारका लागि २५ लाख गाउँपालिकाबाट विनियोजन भएको सचिव रोकाले बताए ।
जिल्लाको सदरमुकाम बेनीदेखि दरवाङ, विम बिम बाइन्द फाँट, बराहताल, भाकुर, सोरबाङ्ग दोवाटासम्म ४० किलोमिटर यातायात सेवा हुँदै साढे २ घण्टाको यात्रामा विभिन्न गाउँहरु लगायतको विभिन्न बनस्पती अलोकन गर्दै सो स्थान पुगिन्छ । भक्तजनलाई सहज सेवा सुविधाका लागि मन्दिर परिसरमा हेलिप्याड, खानेपानी, रेलिङसहित पदमार्ग र मालिका धुरीमा पुग्ने पर्यटकलाई लक्षित गरेर विम, दुखु लगायतका गाउँमा होमस्टे सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ ।

धिरन खत्री