मेगराज खड्का
सोमवार, माघ ६, २०७६
327

रुकुम - सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा अघि सारेको छ । पर्यटन मन्त्रालयले २०२० को जनवरी १ मा काठमाडौंको दशरथ रंगशालासहित ७ वटै प्रदेशमा विशेष कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको औपचारिक उद्घाटन गरियो ।
आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि गरेर प्रचारप्रसार तथा दिर्घकालिन रुपमा आर्थिक समृद्धिको लक्ष्य राखिएको छ । यसअघि पनि नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न निकायहरुले देशमा पर्यटक भित्र्याउन काम गरिरहेका थिए । सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाएर नेपालको प्रचारप्रसार र धेरैभन्दा धेरै पर्यटक भित्र्याउन देशभर विभिन्न कार्यक्रमहरु भैरहेका छन् । देशका विभिन्न ठाउँमा भएका पर्यटकीय क्षेत्रहरुको पहिचान गर्ने, प्रवद्र्धन गर्ने र प्रचारप्रचारको काम पनि व्यापक तरिकाले भैरहेको छ ।
रुकुम पूर्व प्राकृतिक सम्पदा र कला संस्कृतिको धनी जिल्ला हो । सिस्ने हिमाल, पुथा हिमाल र गुप्ता ताल जस्तै ताल र तलैयाहरु छन् । यस्ता छन् रुकुम पूर्वमा रहेका मुख्यमुख्य पर्यटकीय स्थल तथा सम्भावनाहरु ।

कमल ताल
एकाछेउमा मानव बस्ती, अर्को छेउमा बाक्लो जंगल, त्यसकै बीचमा ताल । त्यहीँबाट आँखैअघि देखिने धौलागिरी र काञ्जिरोवा हिमशृङ्खलाका हिमालहरु । पहिलोपल्ट जाने जो कोहीलाई पनि लाग्दो हो, दिनभर तालको सौन्दर्यसँगै रमाइरहुँ । त्यति मात्र होइन, तालको निलो दृष्यसँगै कमल फूलको सौन्दर्य ।
दुर्लभ जडिबुटी कमल पाइने राप्तीको एकमात्र कमल ताल पर्यटकीय महत्वका हिसाबले पनि निकै महत्वपूर्ण छ । यो तालसँगै रुकुमको सबैभन्दा ठूलो देउराली गुफा रहेकाले र वरपर आधा दर्जन मठमन्दिर समेत रहेकाले पनि पर्यटकहरुको रोजाइमा छ । धार्मिक तथा पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण मानिएको कमलतालमा विभिन्न जातका जलपन्छिहरुले डुबुल्कि मारिरहेको हेर्दा पर्यटहरुलाई आनन्दीत तुल्याउँछ ।
२ किलोमिटर क्षेत्रफलमा फैलिएको छ यो ताल । यस ताल हाल सदरमुकाम रुकुमकोटमै पर्छ । काठमाडौँ र नेपालगञ्ज लगायतका क्षेत्रबाट त्यहाँ पुग्न हवाई तथा अन्य यातायात सेवा उपलब्ध छ । हवाई सेवाको लागि रुकुम पश्चिमको सदरमुकाम मुसिकोट भएर केहि घण्टाको गाडि मार्फत त्यहाँ पुग्न सकिन्छ भने गाडि मार्फत त सल्यान रुकुम पश्चिम वा बाग्लुङ भएर पुग्न सकिन्छ ।
तालवरपर वर्षेनी शिवरात्री, चैते दशै, हरितालिका तिज, वडादशैमा रमाईला कार्यक्रमहरु आयोजना हुने गरेको छ । यो तालमा कमल पाइने भएकाले तालमा नुहाएमा विभिन्न रोग निको हुने विश्वास समेत गरिन्छ । जाडो समयमा आकर्षक प्रकृतिका तालमा घुमन्ते चराहरु आउने गरेको स्थानीयले बताएका छन् ।

मगर बस्ती
मगर समुदायको संस्कृित, रहनसहन र पहिचान बुझ्न एक पटक पुग्नै पर्ने ठाउँ हो तकसेरा गाउँ । नयाँ जिल्ला बनेको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा यस गाउँ पर्दछ । यसअघि कोलमा रहेको गाउँपालिका केन्द्र नै अहिले तकसेरामा छ ।
तकसेरा गाउँ रुकुम पूर्व जिल्लाकै प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको गाउँ हो । प्राकृतिक सुन्दरतासँगै कृत्रिम रुपमा घरमा घर मिलेर बनेको बस्तीले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्दछ । करिब ४ सय घरधुरी रहेको तकगाउँ मगर जातीको वाहुल्यता रहेको गाउँ हो ।
यहाँका मानिसहरुको मुख्य पेसा भेडापालन र राडीपाखी बुन्ने र रोजगारीको लागि विदेश जाने लगायतको काम गर्दछन् । उनीहरु आफ्नो कर्ममा रमाउने गर्दछन् । यहाँका मगर समुदायको मुख्य भोजन ढिँडो, सिस्ने, माछा मासु हो । पछिल्लो समय यहाँका घरहरुमा होमस्टेको रुपमा समेत विकास हुँदैछ ।
होमस्टेमा बसेबापत २ सयदेखि ३ सयसम्म शुल्क लिने गरिन्छ । उनीहरुले मगर समुदायको खानाको स्वादसँगै स्थानीय रुपमा पाईने मदिरा समेत चियाको रुपमा चखाउने गर्दछन् । मगर संस्कृति हेर्न तकसेरासँगै मैकोट, राङसी, कोल लगायतका धेरै अन्य गाउँहरु पनि छन् ।

यार्सा ट्रेल 
विश्वकै बहुमूल्य जडिबुटी यार्सा (जीवनबुटी) यस जिल्लाको उत्तरी हिमाली भेगमा पाईन्छ । करिब ४००० देखि ४६०० मिटर उचाईमा अबस्थित पुपाल बुकीको रेन्जमा पाईने यस जडिबुटी बर्षेनी हजारौं यार्सा संकलक मार्फत टिप्ने गरिन्छ । दुई महिनासम्म जारी रहने यो सिजनको आफ्नै खालको स्थानिय नीति नियम हुन्छ ।
जेठको पहिलो हप्ता खुल्ने यो सिजनमा टाढा टाढाबाट यार्सा संकलक, यार्सा व्यापारी र होटल व्यवसायी आउने गर्दछन् । यसबेला राष्ट्रिय स्तरका मिडियामा पनि दैनिकजसो यार्साका विषयमा समाचार सामग्रीहरु आउने गरेको छ । साथै डकुमेन्ट्रि मेकर र फिल्ममेकर पनि आउने गर्दछन् ।

गुरिल्ला ट्रेक
नेपालमा चलेको दशक लामो द्वन्द्वलाई पर्यटनसँग जोड्ने उद्देश्य राखेर केही वर्ष अघिबाट गुरिल्ला ट्रेक अवधारणा अघि सारिएको छ । तीन वर्ष अघिदेखि मैकोटलाई केन्द्रबिन्दु बनाएर स्लोभेनिया नागरिक माट्जाज पिन्टर र ईभा पिभाचले ‘नेपालमा युद्ध कसरी शुरु भो र कसरी अन्त भो भन्ने विषयमा फिल्म थेसिस तयार गरिरहेका छन् ।
द्वन्द्वको समयमा विद्रोहीहरुको रुट, बासस्थान (सेल्टर), तालिम स्थल, भिडन्त स्थल, कब्जा गरिएका भग्नावशेष क्याम्प, सामूहिक समाधी स्थल, युद्धको पीडा प्रत्यक्ष भोगेका जनतासँगको साक्षात्कार, युद्धमा सहभागी सैन्य दस्ताका अनुभव र अनुभूति, उनिहरुको वर्तमान जीवनशैली आदिबारे थाहा पाउन युद्ध पर्यटकलाई सजिलो होस भनेर यो गुरिल्ला ट्रेकको अबधारणा र नक्सा तयार गरिएको छ ।
यसरी सो रुट प्रयोग गरेर युद्ध पर्यटनको मनोरन्जन र ज्ञान लिन सकिन्छ । गुरिल्ला टे«कलाई अझ विश्वसामु प्रचारप्रसार गर्नका लागि भुमे गाउँपालिकाको सौजन्यमा बर्सेनी भूमेको महतमा राष्ट्रिय स्तरको ‘गुरिल्ला म्याराथुन रेस’ आयोजना गरिन्छ ।

सिकार पर्यटन
यो जिल्ला ५ नम्बर प्रदेशको एकमात्र हिमाली जिल्ला हो । हिमाली जिल्ला भएका कारण यहाँ हिमाली भेगमा पाईने वन्यजन्तु जस्तैः कस्तुरी, नाउर, झारल, हिमचितुवा, रेडपाण्डा, आदि वन्यजन्तु पाइन्छन् । नेपालकै एकमात्र वन्यजन्तु सिकार आरक्ष ‘ढोरपाटन सिकार आरक्ष’को ६० प्रतिशत भूभाग यस जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा पर्दछ । सिकारका लागि अनुमति प्राप्त ब्लकहरु सेंखोला, सुनदह, दोगाडी र गुस्दुङ ब्लक यसै पालिकाको १,२ र ३ नम्बर वडामा पर्छन् ।
बर्सेनी दुई सिजन असोज अन्तिम सातादेखि मंसिर पहिलो हप्तासम्म र फागुन पहिलो सातादेखि वैशाख दोस्रो साता सम्म ढोरपाटन वन्यजन्तु सिकार आरक्ष क्षेत्रभित्र रहेका ती ब्लकहरुमा विभिन्न हन्टिङ्ग सफारी कम्पनी मार्फत विश्वका धनाढ्य व्यक्तिहरु नाउर र झारलका सिकार खेल्न आउने गर्दछन् । एक ट्रिपमा छिटोमा हप्ता दिन ढिलोमा दुई हप्तासम्म सिकार क्षेत्र अर्थात् यस जिल्लाको हिमाली क्षेत्रमा बिताउने गर्छन् ।
सिकारी टोलीले सिकारका अलावा सिकार सम्बन्धी छोटो खालका डकुमेन्ट्रि बनाई आफ्नो युट्युब च्यानलमा अपलोड गर्दै आएका छन् । जसको मद्दतबाट बर्सेनी पाहुना सिकारीको सहभागिता बढ्दो छ । यसले पनि यस क्षेत्र र जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि ठूलो सहयोग पुगेको छ ।

चुनौती र समस्या
रुकुम पूर्व जति सुन्दर छ अभाव र चुनौतिहरु पनि धेरै छन् । पर्यटकका लागि बाटाघाटा र खान्की अर्थात् व्यवस्थित होटल र होमस्टेको व्यवस्था छैन । सत्कार, बोलीव्यवहार सभ्य, शालिन र शिष्ट संस्कारको विकास भएको छैन । पर्यटक भन्नेबित्तिकै मनोमानी बढी शुल्क लिने प्रचलन छ । पर्याप्त पर्यटकीय पूर्वाधार निर्माणदेखि पर्यटनमैत्री मनोविज्ञानको विकास भएको छैन।
(स्थानीय भरतकुमार पुनको सहयोगमा )