कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६
234

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् ।
उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनका लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । “नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरू आउनेमा हामी विश्वस्त छौं,” उनले भने । उनले धार्मिक पर्यटनले भ्रमण वर्ष–२०२० सफल बनाउन टेवा पुग्ने स्पष्ट पारे ।

शनिबार बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सव–२०७६ मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल हिन्दू र बौद्धिष्ट दुवैको आस्था केन्द्रको रुपमा विश्वमै परिचित रहेको सुनाए ।
“अहिले विभिन्न देशहरूमा जातीय तथा धार्मिक द्वन्द्व भैरहेका छन्, तर नेपाल यसबाट सुरक्षित छ ,” उनले भने, “हाम्रो देश सानो देश भए पनि सांस्कृति, सामाजिक र धार्मिक रूपमा हामी धनी छौं । हामीसँग विभिन्न जातजाति छन्, तर जातीय रूपमा विविधिता भए पनि हामी भित्र एकता छ ।”
उनले नेपालमा सबै धर्मले एकैसाथ पूजा गर्ने स्थल पनि रहेको उल्लेख गरे । मन्त्रालयले धार्मिक स्थल र तिनीहरूको संरक्षणको लागि बजेट छुट्याएको उनले जानकारी दिए । विश्वभरिबाट नेपालको धार्मिक यात्रामा आउने विभिन्न धर्मका मानिसहरू यहाँ सुरक्षित हुने पनि उनले विश्वास दिलाए । “सहज ढंगले आवातजावत गर्न सकेका छन्,” मन्त्री भट्टराईले थपे ।
उनले वर्तमान सरकारले हरेक किसिमका आलोचना सहेर अघि बढिरहेको पनि सुनाए । तर, बाहिर आलोचना भए पनि सरकारले विकास र समृद्धिका लागि द्रुत गतिमा काम गरिरहेको उनको जिकिर थियो । “भ्रमण वर्षको सुरुवातकै दिनमा हामीले १ सय ८ शंख फुकेका थियौं । यो भ्रमण वर्षलाई सफल पार्नका लागि दुईवटा संस्था धार्मिक संस्था पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषले अहिले राम्रोसँग काम गरिरहेका छन् । धार्मिक पर्यटनलाई पनि भ्रमण वर्षसँग जोड्ने काम गरेका छौं ।” उनले आगामी फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरि नगरपालिकाकै ऐतिहासिक बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सवलाई पूर्ण रूपमा सफल बनाउनका लागि सहयोग गर्नेपनि घोषणा गरे ।
त्यस्तै, उनले शिवरात्री पनि नजिकिँदै गरेको सुनाउँदै यसलाई भव्य रूपमा सफल पार्न र मनाउनका लागि सरकार अहिलेदेखि नै लागिपरेको सुनाए । नेपाल गौतम बुद्ध, मुक्तिनाथ, माता जानकी, पशुपतिनाथको देश भएको सुनाउँदै नेपालमा धार्मिक पर्यटनको ठूलो संभावना रहेको ऋषि धमलाको भनाइ छ । “धार्मिक पर्यटनको विकास र सम्वद्र्धनका लागि अब राष्ट्रव्यापी अभियान अघि बढाउनुपर्छ । कार्यक्रममा ज्योतिष डा. रुद्रनाथ अधिकारीले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनका लागि पनि राज्यले धार्मिक पर्यटनको विकासमा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।
उनले भने, “हामीले त नेपाल भ्रमण वर्षकै पूर्वसन्ध्यामै यो महायज्ञको शुभारम्भ गरेका थियौं । नेपालमा सबैभन्दा बढी सम्भावना भएको क्षेत्र पर्यटन र जलस्रोत भनिँदै आएको छ । तर, यसको विकासको लागि यो क्षेत्रलाई प्रभावकारी बनाउनको राज्यले ध्यान दिएको छजस्तो मलाई लाग्दैन् ।
उनले नेपाल धार्मिक र जैविक विविधिता भएको देश भएकाले आफूहरूसँग राज्यले धर्म पर्यटनबारे छलफल नगरेकोमा भने दुःख व्यक्त गरे । “यो धार्मिक पर्यटनको देश हो । सरकारले यसलाई समावेश गरेर लैजानुपर्छ । अनिमात्रै भ्रमण वर्ष सफल हुन्छ,” उनले थपे ।
चन्द्रागिरि नगरपालिका काठमाडौंभित्र रहेको सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटनको महत्व बोकेको क्षेत्र भएको पनि अधिकारीको भनाइ छ । “यो क्षेत्रको विकास हुनुपर्छ । यो आजको आवश्यकता हो । यसप्रति सरकारको ध्यान जाओस् । हामी यो महायज्ञमा भ्रमण वर्षसँग जोडेर हवन गर्नेछौं । यो यज्ञले श्राप देशबाट सबैखाले हटाउँछ । देशलाई समृद्ध बनाउँछ ।”
पत्रकार सम्मेनलको सभापतित्व भने समितिका अध्यक्ष राजाराम थापाले गरेका थिए । उनले भ्रमण वर्षलाईनै टेवा पु-याउने गरी आफूहरूले उक्त महायज्ञ तथा पर्यटन महोत्सवको आयोजना गर्न लागेको सुनाए ।
उनले भने, “हामीले धार्मिक पर्यटनको विकासमा जोड दिएका छौं । यसको लागि विभिन्न देशका धार्मिक निकायहरूसँग कुरा गरिरहको छौं । हामीले यस्तो आग्रह गर्दा उहाँहरूबाट सकारात्मक सन्देश पाएका छौं ।”