मुकेश चौधरी
सोमवार, पुष २८, २०७६
825

धनगढी-१० वर्षे पर्यटन विकास रणनीति (२०१६–२०२५) ले पर्यटनका कार्यक्रमहरू सञ्चालनमा ल्याई भारतीय पर्यटकहरूलाई सुदूरपश्चिममा आकर्षित गर्ने लक्ष्य साकार भएको छ । नेपाल भ्रमण वर्ष–२०२० सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटक आउने क्रम उल्लेख्य रूपमा बृद्धि भएको छ । भ्रमण वर्षको सुरुका १० दिनमै सुदूरपश्चिमका विभिन्न नाकाबाट ११ हजार ५ सय ४३ जना पर्यटक भित्रिएका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाको तथ्यांक अनुसार २ हजार ८ सय ३८ वटा भारतीय गाडीमा ती पर्यटक नेपाल आएका छन् । तथ्यांकअनुसार धनगढीको त्रिनगर भन्सार नाकाबाट १ हजार ७ सय २३ गाडीमा ६ हजार ८ सय ३२, भीमदत्तनगरको गड्डाचौकी नाकाबाट ८ सय ४१ गाडीमा तीन हजार ३ सय ४० र टीकापुरको खक्रौला नाकाबाट १ हजार ३ सय ७१ जना पर्यटक सुदूरपश्चिम भित्रिएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भ्रमण वर्षसँगै प्रदेशमा भित्रिने भारतीय पर्यटकको तथ्यांक राख्न शुरु गरिएको बताए । त्रिनगर, खक्रौला र गड्डा चौकीबाट उल्लेख्य रुपमा भारतीय पर्यटक भित्रिए पनि बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट पर्यटक भित्रिएका छैनन् ।
सुदूरपश्चिमबाट भित्रिने भारतीय पर्यटकहरूले सुदूरपश्चिमका पहाडी क्षेत्रमा भइरहेको हिमपात हेर्न डडेल्धुरा जाने गरेका छन् । यसबाहेक उनीहरूले चिसापानी, पोखरा समेत जाने गरेको ट्राफिक प्रहरीले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा अहिले तीन÷चार फिटसम्म हिउँ जमेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार र यहाँका निजी क्षेत्रले समेत भ्रमण वर्ष–२०२० मा भारतीय पर्यटक भिœयाउने लक्ष्य बनाएका छन् । प्रदेश सरकार र निजी क्षेत्रले संख्या नै अनुमान गर्न नसकेपछि भ्रमण वर्षमा सकेजति भारतीय पर्यटक भिœयाउने लक्ष लिएका छन् ।
विश्व पर्यटन दिनव र भ्रमण वर्षकै पहिलो दिन त्रिनगर र गड्डा चौकी नाकामा भारतीय पर्यटकलाई गरिएको स्वागतले भारतका उत्तर प्रदेश र उत्तराखण्डमा निकै चर्चा भए पनि भारतीय पर्यटक आउन थालेका हुन् । पहिलो दिनको स्वागत र भ्रमण वर्ष–२०२० को चर्चालाई स्वीकार गर्दै लक्ष्य अनुसार सुदूरपश्चिममा भारतीय पर्यटक भित्रिने क्रम बढेको भए पनि सीमानामा पुगेपछि सूचनाको अभावमा भारतीय पर्यटक अलमलमा पर्ने गरेका छन् ।
संघीय सरकारले २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले भारतीय पर्यटक समेतलाई लक्षित गरी सातवटा सूचना केन्द्र स्थापना गर्ने वार्षिक कार्यक्रम बनाएको छ । तर आर्थिक वर्ष आधा भइसक्दासमेत प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले सूचना केन्द्र स्थापनाको मोडालिटी तय गर्न सकेको छैन ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ (पर्यटन एकाइ) का प्रमुख किशोर अर्यालले सूचना केन्द्र स्थापनाका लागि स्थलगत अध्ययन भइरहेको बताए । उनले स्थानीय तहसंग सहकार्य गरी सूचना केन्द्र स्थापना गर्ने कार्यक्रम रहेकाले स्थानीय तहसंग सहकार्यका लागि छलफल भइरहेको बताए । सकेसम्म स्थानीय तहसँगै सहकार्य गर्ने नभएमा स्थानीय निकाय (स्थानीयस्तरमा पर्यटनका लागि काम गर्ने संस्था वा नीजि क्षेत्र) सँग सहकार्य गर्ने सोच बनाएको पर्यटन एकाइ प्रमुख अर्यालले बताए ।
उनका अनुसार इञ्जिनियर र ओभरसियर सहितको आठ जनाको टोली सूचना केन्द्र स्थापनाका लागि अध्ययनमा खटिएको छ । अध्ययन सकेर लागत अनुमान तयार गरी सो टोलीले पर्यटन एकाइमा पठाएपछि सूचना केन्द्र स्थापनाको प्रक्रिया सुरु हुने अर्यालले बताए ।
मन्त्रालयले सात सूचना केन्द्रका लागि प्रति सूचना केन्द्र १० लाखका दरले ७० लाख रुपैयाँ विनियोजन गरेको छ । सो रकमले सूचना केन्द्रको कार्यालय सञ्चालन गर्ने र सूचना केन्द्रमा स्थानीय तह वा स्थानीय निकायले सूचना दिने कर्मचारी राख्ने योजना रहेको अर्यालले बताए । तर कतिपय स्थानीय तह आफैं कर्मचारी अभावमा काम गर्न नसकिरहेको अवस्था छ ।
कार्यक्रमअनुसार कैलालीको धनगढी–त्रिनगर नाका, टीकापुर–खक्रौला नाका, कर्णाली–चिसापानी, कञ्चनपुरको गड्डचौकी नाका, बैतडीको झुलाघाट नाका, दार्चुलाको धार्चुला नाका र बझाङको धुली–साइपालमा सूचना केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ । त्रिनगर, खक्रौला, गड्डाचौकी, झुलाघाट र धार्चुला नाकामा भारतीय पर्यटक लक्षित सूचना केन्द्र स्थापना गरिने पर्यटन एकाइ प्रमुख अर्यालले बताए । उनका अनुसार कर्णाली–चिसापानीमा देशको अन्य प्रदेश हुँदै भित्रिने पर्यटकलाई लक्षित गरी सूचना केन्द्र सञ्चालन हुने छ भने धुलीमा साइपाल हिमाल आरोहरण अभियानलाई सहयोग गर्ने सूचना केन्द्र स्थापना हुनेछ ।
यसैगरी, भारतीय पर्यटकहरू सुदूरपश्चिममा आकर्षित भए पनि प्रदेश सरकारले भारतीय पर्यटकहरूको तथ्यांक राख्न सकेको छैन । प्रदेशको पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख भोजराज पाठकले प्रदेशमा आउने पर्यटकको विवरण राख्ने संयन्त्र तयार नभएको बताए । उनले मन्त्रालयको आफ्नै संयन्त्र नभएको बेला ट्राफिक प्रहरीले राखेको तथ्यांकलाई आधिकारिक मान्नुपर्ने बताए । उनले मासिक रुपमा ट्राफिकसंग तथ्यांक लिएर प्रदेशमा आउने पर्यटकको विवरण दिन सक्ने बताए । यद्दपि, सूचना केन्द्र स्थापना भइसकेपछि सूचना केन्द्रले पर्यटकको विवरण समेत राख्ने पर्यटक शाखा पाठकले बताए ।