दिलबहादुर केसी
आइतवार, पुष २७, २०७६
1312

दोलखा-हनुमन्तेडाँडामा विश्वकै अग्लो हनुमानको मूर्ति स्थापना हुने भएको छ । गौरीशंकर गाउँपालिका, जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकाको संगम हनुमन्ते डाँडामा हनुमानको मूर्ति राख्ने प्रक्रिया अघि बढेको छ ।
हनुमानको मूर्र्ति स्थापना र हनुमन्ते क्षेत्रको एकीकृत अध्ययनका लागि तीनवटा स्थानीय तहले चासो देखाएका छन् । धार्मिक तथा पर्यावरणीय पर्यटन प्रवद्र्धनका लागि हनुमन्ते क्षेत्र अत्यन्तै महत्वपूर्ण स्थान भएकाले एकीकृत हनुमन्ते विकासका लागि योजनाको काम भइरहेको यस योजनाको अगुवाइ गरिरहेका प्रदेश सांसद विशाल खड्काले बताए ।

समुद्री सतहबाट ३०५० मिटरको उचाइमा अवस्थित हनुमन्ते पर्वत भौगोलिक हिसाबले दोलखा जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्दछ । जिरी नगरपालिका, गौरिशंकर गाउँपालिका र हनुमन्तेश्वर गाउँपालिकाको सीमाक्षेत्रमा फैलिएको हनुमन्ते पर्वत शृङ्खला प्राकृतिक रूपमा मात्र नभई धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ ।
प्रशिद्ध गौरिशंकर हिमाललगायत रोल्वालिङ हिमशृङ्खलाको दर्जन बढी हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने यस पर्वतबाट पूर्वमा नुम्बुर हिमाल र पश्चिममा गणेश हिमाल, लाङटाङ हिमाललगायत तिब्बततर्फका समेत हिमालको तथा उच्च पहाडहरूको दृष्यावलोकन गर्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यावलोकनका लागि पनि यो क्षेत्र महत्वपूर्ण रहेको छ । यहाँबाट दोलखा, रामेछाप र सोलु तथा ओखलढुंगाका अधिकाँश भू–भागको दृश्यावलोकन गर्न सकिन्छ ।
हनुमन्तेमा विश्वकै अग्लो मूर्र्ति स्थापनासँगै ट्रेकिङ, साइकिलिङ रुट निर्माण, लेकाली वनस्पति र जडिबुटी अध्ययनस्थल, चौरी प्रवद्र्धन केन्द्रजस्ता विकासको योजना यसभित्र रहेका छन् । हनुमन्तेको गुरुयोजना निर्माणको काम भइरहेको सांसद खड्काले बताए ।

हनुमन्ते पर्वतको धार्मिक महत्व ः
हिन्दू धार्मिक ग्रन्थ रामायणका अनुसार महापुरुष राम र रावणबीचको युद्धमा लक्ष्मण मुर्छा परेका थिए । लक्ष्मणको उपचारका लागि हनुमानले संजीवनी बुटी चिन्न नसकेपछि यही हुनमन्तेकै पहाडै बोकेर लंका पुगेको रामायणमा उल्लेख छ ।
आफ्नै पर्वतलाई प्रचार प्रसार गर्न नसक्दा केही भारतीय पुस्तक, पत्रपत्रिका र वेभसाइटमा उक्त संजीवनी बुटियुक्त पर्वत उत्तराखण्डको द्रोणागिरी पर्वत रहेको भनी गलत दाबी गरिरहेको पर्यापर्यटनका अध्यता केन्द्रका ज्योती खड्काले बताए । तर हनुमानले बोकेको संजीवनीयुक्त पर्वत हनुमन्ते डाँडा नै भएको उनले दाबी गरे ।
नेपालको मात्र सन्दर्भ हेर्ने हो भने दोलखा जिल्लाको हनुमन्तेभन्दा अन्य कुनै पहाड हनुमानको नाम वा प्रशंगसँग जोडिएको भेटिँदैन । हनुमन्तेको जुँगूतर्फको पहाडमा प्राकृतिक रूपमै हनुमानको मूर्ती रहेको स्थानीय बताउँछन् । राति झलल बल्थ्यो, तर २० वर्षयता मूर्ति चोरी भएपछि त्यहाँ बत्ती नै बल्न छाडेको स्थानीय बुढापाका बताउँछन् । १० वर्षे द्वन्द्वको बेला प्राकृतिक रूपमा रहेको हीराको मूर्ति चोरी गरी सिमेन्टको सानो मूर्ति बनाएर छाडेको पूर्वसांसद तथा स्थानीय इन्द्रबहादुर खड्काको दाबी छ ।
हनुमन्ते वरिपरि रहेका गुफा तथा पहरामा रहेको अनेकौं आकृति तथा चिन्हहरू जस्तै हनुमानको हातको पञ्जाको छाप, खुट्टाको पञ्जाको छाप रहेको स्थानीयको दाबी छ । हनुमन्तेको विशाल पहराको फेदमा रहेको सानो गुफामा रहेको सिवलिंग आकारको शिला र त्यसमाथिबाट गाईको चारवटा थुनजस्तो आकार भएको चट्टानवाट झरिरहेको सेतो दूध जस्तो तरल पदार्थ झरिरहन्छ ।