कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६
735

इलाम-पर्यटन वर्ष सन् २०२० लाई लक्षित गर्दै इलामबाट उडान सुरु भएको छ । इलामबाट धार्मित तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथीभरा उडान सुरु भएको हो । बढीभन्दा बढी पर्यटकहरूको आवत–जावत होस भनेर सिम्रिक एयरले उडान सुरु गरेको हो । इलामको सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाबाट ताप्लेजुङका लागि उडान सुरु भएको हो । पूर्वका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले इलामसहित पूर्वका तीन स्थानबाट ताप्लुजुङको पाथीभरासम्म हेलिकोप्टर यात्रा गराउने उद्देश्यले उडान सुरु गरिएको सिम्रिक कम्पनीले जनाएको छ ।
यसअघि इलामबाट एक पटक उडान भइसकेको छ । अब पर्यटक र धार्मिक भक्तजनहरूको संख्या वृद्धि भए नियमित उडान गर्न सकिने सिम्रिक एयर कम्पनी इलामका प्रतिनिधि प्रेम आचार्यले बताए । आइतबार अर्को उडान गर्ने तयारी भएको उनले बताए । सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडासहित धनकुटाको भेडेटार र ताप्लेजुङको सुकेटारबाट पुसको तेस्रो साताबाट ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गराइने सिम्रिकका इलाम प्रतिनिधि आचार्यले जानकारी दिए ।

इलाम पर्यटकीय क्षेत्र हो । यहाँबाट पहाडी जिल्लासहित भारतका पर्यटक लक्षित गरेर उडान सुरु गरिएको आचार्यले जानकारी दिए । इलामको पूर्णेडाँडाबाट १५ देखि २० मिनेटमा पाथीभरा पुग्ने बताइएको छ । दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने र त्यसपछि पुनः सोही स्थानमा ल्याएर छोडिनेछ । पर्यटन वर्षमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वका स्थानमा नयाँ प्रोडक्ट थप गरेको बताइएको छ ।
सिम्रिकले इलामबाट २८ हजार ९ सय ९९ रुपैयाँमा पाथीभराको दर्शन गराउनेछ । त्यसैगरी भेडेटारबाट २९ हजार ९ सय ९९ रुपैयाँमा र सुकेटारबाट ६ हजार ९ सय ९९ रुपैयाँमा भ्रमण गराउने बताइएको छ । गाडीमा यात्रा गर्न असहज हुने दर्शनार्थीका लागि यो नौलो अवसर भएकाले पनि प्रचार गर्न आवश्यक रहेको पर्यटनकर्मीहरूले बताउँदै आएका छन् । यसले पर्यटन वर्षलाई सफल बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।
इलामबाट सुरु गरिने उडानबाट जिल्लावासी मात्र होइन तराई र भारतको दार्जीलिङ, सिक्किम, सिलिगुडीसहितका दर्शनार्थीलाई समेत सहज हुनेछ । इलाम प्रतिनिधि आचार्यका अनुसा इलामबाट बुकिङ सुरु गरिसकिएको छ ।
भ्रमण वर्ष सफल बनाउन जिल्लाका स्थानीय तहले पनि कार्यक्रम सुरु गरेका छन् । परिवारका साथ एकै दिनमा ताप्लेजुङ पाथीभरा मन्दिरको दर्शन गरेर फिर्न चाहनेहरूका लागि उडानमार्फत मद्दत गर्नेछ । हिन्दु धर्मवालम्बीहरूका लागि निकै नै महत्वपूर्ण आस्थाको केन्द्र पाथीभरामा दर्शन गर्न भक्तजनहरू जाने गरेका छन् । यस सिजनमा पाथीभरा मन्दिर आसपासमा हिउँ परेकाले पनि सो क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । हिउँमा रमाउन र हिउँ खेल्न तराई र पहाडी क्षेत्रका स्थानीयसमेत सो क्षेत्रमा जान रुचाउँछन् । विशेष गरेर युवा र बालबालिका सय सिजनमा सो क्षेत्रमा रुचाउने गरेका छन् । बढी जाडो हुने भएकाले बृद्धबृद्धा र बालबालिकाहरू भने फागुन, चैत महिना एवं असोज महिनामा सो क्षेत्रमा जाने गरेका छन् ।
इलाममा प्याराग्लाइडिङको सफल परीक्षण
इलाममा पर्यटकहरूलाई तान्नका लागि प्याराग्लाइडिङको सम्भावनासमेत खोजिँदै छ । भर्खरै मात्र इलामबाट सफल रूपमा परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा यसको सफल परीक्षण उडान भएको हो ।
पर्यटन र पर्यटकीय स्थानको प्रवद्र्धन गर्न सघाउ पु¥याउने प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पयएटन व्यवसायीहरूसमेत खुसी भएका छन् । साहसिक उडानका रूपमा लिइने प्याराग्लाइडिङका लािग देश तथा विदेशबाट समेत पर्यटक भित्रिने भन्दै व्यवसायीहरूमा खुसियाली छाएको हो ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन समेत यसले ठूलो मद्दत गर्ने आशा गरिएको छ । पाइलट सानोबाबु सुनुवारले डाँडामा प्याराग्लाइडिङ उडाएपछि भेला भएका स्थानिय तथा पर्यटन व्यवसायीहरूमा निकै ठूलो खुसियाली देख्न सकिन्थ्यो । सफल परीक्षण गरेपछि पाइलट सुनुवारले भने छेलेथुम्की डाँडामा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान गर्न सकिने बताए ।
नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी वडा पर्यटन विकास समितिको पहलमा छेलेथुम्की डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । समितिका अध्यक्ष हेमन सुनुवार, इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङ, वडाध्यक्ष तिर्थ गुरुङ, जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकर, प्याराग्लाइडिङका अग्रज पाइलट सानो बाबु सुनुवार, स्थानीय दलका प्रमुख एवं प्रतिनिधिहरूलगायतले प्याराग्लाइडिङ शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै यस क्षेत्रबाट सफल उडान हुने बताएका थिए ।
उनीहरूले परीक्षण उडान गरेर मात्र नहुने भन्दै निरन्तर सञ्चालनको कामना गरेका थिए । अब सो क्षेत्रबाट निरन्तर उडानका लागि प्रक्रिया पूरा गर्ने र यहाँबाट व्यावसायिक उडान गरिने बताइएको छ ।
तस्विर प्याराग्लाइडिङको मात्र छ ।