कारोबार संवाददाता
बुधवार, पुष २३, २०७६
754

सिड्नी-अस्ट्रेलियाको पर्यटकीय नगरी सिड्नीस्थित ओपेरा हाउसको आँगनबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यूसाउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओडीले संयुक्त रूपमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरेका हुन् ।
मंगलबार नेपाली राजदूतावासको आयोजना तथा एनआरएन अस्ट्रेलियाको सहयोगमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरिएको हो । कार्यक्रमको सुरुमा अस्ट्रेलियामा डढेलाले पु-याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख प्रकट गर्दै मौनधारण गरिएको थियो ।

शुभारम्भमा मन्त्रीले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे । उनले नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताउँदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरूलाई सहयोगमा जुट्न आग्रह गरे ।
मन्त्री भट्टराईले अस्ट्रेलियाले यो पीडादायक अवस्थाबाट मुक्ति पाउने आशा व्यक्त गरे । मन्त्री भट्टराईले भने, “अस्ट्रेलियाली जनताले भोग्नु परेको प्राकृतिक विपत्तिप्रति नेपालको गहिरो सहानुभूति छ । मलाई आशा छ, चाँडै नै अस्ट्रेलियाले यो पीडादायक अवस्थाबाट मुक्ति पाउनेछ ।”
मन्त्री भट्टराईले गत वर्ष झन्डै ३० हजार अस्ट्रेलियाली नेपाल भ्रमणमा गरेको र वर्ष त्यो संख्या १ लाख पुग्ने अपेक्षा गरिएको बताए । कार्यक्रममा न्यू–साउथ वेल्सको प्रदेश सभाका सभामुख जोनाथन वडीले नेपाल सुन्दर मुलुक भएको र एक पटक हेर्न पर्ने बताए । ओडीले अस्ट्रेलियाले बेहोरिरहेको संकटमा नेपालीहरूको पनि साथ र सहयोग रहेको बताए ।
कार्यक्रममा एनएसडब्लूका पूर्वप्रिमियर नाथन रिजले आफू मार्च महिनामा नेपाल जान लागेको जानकारी दिए । कार्यक्रममा नेपालीहरूले डँढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रूपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरू बोकेका थिए । नेपाली स्वोयाम्सेवकहरूले जिवजन्तुहरूका लागि पनि सहयोग संकलन गरे ।
कार्यक्रमपछि अस्ट्रेलिया न्यू–साउथ वेल्सको संसदमा नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा मन्त्री भट्टराईले आगलागीको कारण मृत्यु भएकाको परिवारमा समवेदना व्यक्त गरेका थिए ।
मन्त्री भट्टराईले नेपाल र अस्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध ६८ औं वर्ष पुगेकोमा दुई देशको सम्बन्ध अझै राम्रो हुने विश्वास लिएको बताए । उनले नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने मात्रै नभई हरेक पर्यटकको सुरक्षाका लागि काम गरिरहेको बताए । पर्यटन पूर्वधारको विकासको लागि गौतम बुद्ध, पोखरा विमानस्थाल निमार्ण गरिरहेको उनले बताए । उनले नेपाल भ्रमण गर्नेलाई पर्यटन व्यवसायीले विशेष छुट दिएको जानकारी दिए ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले नेपाल सुन्दर प्रकृति, संस्कृति, हिमालका लागि राम्रो भएको बताउँदै अस्ट्रेलियाका नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गरे ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष कँडेलले अस्ट्रेलियाको नेपाली समुदायले अग्निपीडितको लागि सहयोग गरिरहेको जानकारी दिए । उनले भने, “हामीले २० हजार डलर संकलन गरी हस्तान्तरण गरिसकेका छौं । फेरि ५ हजार डलर संकलन भएको छ ।”
शुभारम्भ कार्यक्रमपछि मौन ¥यालीसमेत निकालिएको थियो । सर्कुलर किस्थित कस्टम हाउसदेखि ओपेरा हाउससम्म निकालिएको मौन ¥-यालीमा नेपालीहरू आ–आफ्नो सांस्कृतिक पहिरन र पहिचानसहित सहभागी थिए ।
¥यालीमा माननीय मन्त्री भट्टराईसँगै अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरू दीपक खड्का र चन्द्र योन्जनसहित १०० भन्दा बढी सहभागी थिए । तर, ओपेरा हाउस पुगेपछि सुरक्षाकर्मीहरूले सहभागीहरूलाई व्यावसायिक ब्यानरसहित नजान अनुरोध गरेका थिए ।
झन्डा र ब्यानर बोकेका मानिसभित्र पस्न खोजेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोकेर के–को झन्डा हो ? किन ल्याएको ? सामान्य सोधपुछ गरेका थिए । त्यसपछि सहभागीहरूले बढो अनुशासनपूर्वक ब्यानर हटाएर ओपेरा हाउस पुगेका थिए ।
मन्त्रीसहितको टोली पनि ओपेरा हाउसभित्र पुगेर सामूहिक तस्बिर खिचाएका थिए । तर, बाहिर भने यही विषयलाई कार्यक्रममै अबरोध भनेर प्रचार र प्रपोगान्डा गरिएको थियो । स्रोतका अनुसार कार्यक्रममा सहभागी नै केहीले कार्यक्रममा अबरोध भयो भनेर स्थानीय सञ्चार माध्यमलाई समेत गलत सूचना दिएका थिए । राजदूत दाहालले सुरक्षाकर्मीले गरेको त्यही सोधपुछलाई बढाइचढाइ गरी समाचारहरू आएको भन्दै दुःख व्यक्त गरेका छन् ।
मन्त्री भट्टराईले गलत सन्देश प्रवाह भएको भन्दै दुःख व्यक्त गरोक छन् । उनले यस्ता भ्रम फैलानमा गम्भीर नियत लुकेको बताएका छन् । उनले लेखेका छन्, “काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो? नियत गम्भीर छ ।”