कारोबार संवाददाता
आइतवार, पुष ६, २०७६
553

लिभिङ विथ आईसिटीले आयोजना गरेको फ्युजमेसिन आईसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला शुक्रबारबाट सुरु भएको छ । मेला शनिबारसम्म सञ्चालन भएको छ । थापागाउँस्थित प्रेसिडेन्टियल स्कुलमा आयोजना भइरहेको कार्यक्रममा ५० भन्दा बढी स्टार्टअप तथा कलेजका विद्यार्थीहरूका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ ।
शुक्रबार मोबाइलबाट पानसमा बत्ती बालेर कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले उद्घाटन गरेका थिए । सरकार डिजिटल नेपालको अभियानमा हिँडिरहेको र यस प्रकारका कार्यक्रमले उद्देश्य पूरा गर्न सहयोग गर्ने बताए । सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्र मिश्र क्यान महासंघका पूर्वअध्यक्ष विनोद ढकाल र प्रोफेसर डा. सुवर्ण शाक्यले उद्यमशीलता र सरकारको डिजिटल नेपालको अभियानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक राजन लम्सालले भने, “हामीले पुर्वको पाँचथरदेखि पश्चिम रोल्पासम्म पुगरे आईटीका कार्यक्रम गरेका छौं, स्टार्टअप, उद्यमीलाई प्रवद्र्धन गर्दै डिजिटल नेपालको अभियानलाई सहयोग पु-याउनका लागि कार्यक्रम गरेका हौं ।”
प्रविधिको यो मेलामा स्टार्टअप कम्पनीका नयाँ प्रडक्टहरू, विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्ट, रोबोटहरूको फुटबल प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपालीका नयाँ इन्नोभेसनहरू विशेष आकर्षण रहेका छन । यसैगरी शुक्रबार एआई र क्लाउड प्रविधि विषयमा वर्कसप सञ्चालन भएको थियो । शनिबार ब्लकचेन, आईओटी र पाइथनमा वर्कसप सञ्चालन हुनेछ भने स्टार्टअप र उद्यमशीलताको विषयमा कन्फ्रेन्स सञ्चालन हुनेछ । यस मेलाको शीर्ष प्रायोजन फ्युज मेसिन्सले गरेको छ । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणको विशेष सहयोग छ । आईसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेलामा ६ हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । शुक्रबार मात्रै ४ हजार बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । प्रदर्शनी अवलोकन सबैलाई निःशुल्क गरिएको छ ।
लिभिङ विथ आईसिटीले यसअघि नै वैशाख र जेठमा विराटनगर, बुटवल र नारायणगढमा आईसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला आयोजना गरिसकेको छ भने विगत ४ वर्षदेखि आईसिटी अवार्ड आयोजना गर्दै आइरहेको छ ।