मनोरञ्जन शर्मा
सोमवार, मंसिर ३०, २०७६
1800

प्रदेश नम्बर ५ नेपालका अन्य प्रदेशहरुको तुलनामा निकै महत्वाकांक्षी रहेको छ । भौगोलिक, प्राकृतिक, पर्यटकीय, उद्योग व्यवसाय, कृषि र पूर्वाधार विकासको दृष्टिकोणले यो प्रदेश अन्य भन्दा निकै महत्वाकांक्षी देखिएको हो । १० वर्षमा यो प्रदेशले निकै फड्को मार्ने संकेत देखिएको छ ।
हिमाल, पहाड र तराईको संगमका रुपमा रहेको यो प्रदेशलाई पर्यटन, उद्योग, व्यापार, कृषि, पूर्वाधारलगायतले राम्रो साथ दिएको छ । पश्चिम नवलपरासीदेखि बर्दिया कर्णालीसम्म सीमाना फैलिएको यो प्रदेशमा रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, रोल्पा, बर्दिया र पूर्वी रुकमसहित १२ जिल्ला रहेका छन् ।

विश्वमै प्रसिद्ध शान्तिका दुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी यसै प्रदेशमा हुनु सबैभन्दा ठूलो कुरा हो । यही लुम्बिनीका कारण विश्वभरका बौद्ध धर्मावलम्बीहरुको ध्यान यहाँ तानिने गरेको छ । नेपाललाई विश्वमञ्चमा चिनाउने नै लुम्बिनी भएको छ । त्यसैले लुम्बिनीलाई मिनी नेपालको रुपमा प्रदेश ५ सरकारले प्रस्तुत गर्ने गरेको छ । लुम्बिनीजस्ता क्षेत्रहरु भएका कारणले गर्दा यो प्रदेश महत्वाकांक्षी प्रदेशका रुपमा देखिएको हो । लुम्बिनी र पर्यटनसँगै यसले यहाँका अन्य क्षेत्रमा पार्ने प्रभाव, भैरहवामा निर्माण सम्पन्न भएर सञ्चालन हुने क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, देशकै पहिलो आर्थिक क्षेत्र भैरहवा सेज, बाघका लागि विश्व प्रसिद्ध बर्दिया राष्ट्रिय निकुञ्ज, सँगैको बाँके निकुञ्ज, कपिलवस्तुको तिलौराकोटलगायत विभिन्न बौद्ध सम्पदाहरु, पश्चिम नवलपरासीको रामग्राम स्तुपस्थल, पाल्पाको रानीमहल तानसेन बजार, गुल्मीको रुरु क्षेत्र र रेसुंगाा, अर्घाखाँचीको सूपा देउराली, प्युठानको स्वर्गद्वारी, रोल्पा साथै रुकुमको थवांग, सिस्ने हिमाल, एशियाकै ठूलो दाङ उपत्यकादेखि तराईको समथर क्षेत्र रुपन्देहीका मर्चवार क्षेत्र देशमै चर्चामा रहेका स्थान हुन् । आध्यात्म एवम् धार्मिक पर्यटन, पर्यापर्यटन, हिमाली क्षेत्रमा पर्यटनलगायत धेरै कुराले प्रदेश ५ पर्यटनको क्षेत्रमा अन्य प्रदेश भन्दा बढी महत्वकांक्षी प्रदेश हो । आउने १० वर्ष भित्रमा यो प्रदेशले अन्य प्रदेशहरु भन्दा अग्रभागमा आफूलाई प्रस्तुत गर्नेमा दुईमत छैन् । त्यसो त यो प्रदेश ५ पर्यटनको क्षेत्रमा अब्बल भएपछि मुख्य क्षेत्रहरु भैरहवा, लुम्बिनी, बुटवल, नेपालगञ्ज, बर्दिया निकुञ्ज क्षेत्रमा होटल व्यवसायमा अर्बौं लगानी थपिएका छन् । भैरहवा क्षेत्र, लुम्बिनी, नेपालगञ्जमा पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् । आगामी १० वर्ष भित्रमा पर्यटन क्षेत्रमा कायापलट हुनेछ प्रदेश ५ ।
उता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पश्चिमकै मात्र नभइ चितवनसम्मका जनतालाई विदेश जानका लागि काठमाडौंभन्दा पायक पर्ने विमानस्थल यही हुने र बाह्य पर्यटक पनि लुम्बिनी, बर्दिया, बाँके निकुञ्ज, सिस्ने हिमालमा आरोहणका लागि यही ओर्लने मात्र नभइ काठमाडौंको विकल्पको विमानस्थलका रुपमा गौतमबुद्ध विमानस्थल प्रस्तुत हुने भएकाले पनि यो प्रदेश अन्य प्रदेशको तुलनामा अगाडी आउने निश्चित छ ।
त्यसो त यो प्रदेश ५ पर्यटनका लागि मात्र नभइ उद्योग, कृषि, व्यापार क्षेत्रमासमेत अग्र स्थानमा रहेको छ । पूर्वाधार विकाशमा आवश्यक पर्ने सिमेन्ट र रड बनाउने उद्योगहरु (जसले मुलुकको मागको ३० देखि ४० प्रतिशत उत्पादन गर्दै आएका छन्) रुपन्देही, कपिलवस्तु, दाङ, पश्चिम नवलपरासी, बाँकेमा रहेका छन् । सिमेन्ट र रड उद्योग यो प्रदेशमा पर्याप्त छन् । सिमेन्ट उत्पादन मात्र नभइ सिमेन्टमा प्रयोग हुने मुख्य कच्चा पदार्थ क्लिन्करसमेत उत्पादन यसै प्रदेशमा हुँदै आएको छ । क्लिन्कर उत्पादन सुरु भएपछि गत वर्षदेखि भारतबाट हुने आयात शून्यमा झरेको छ । सिमेन्ट र रडबाहेक अन्य धेरै ठूला उद्योगहरु, पेप्सीकोला, मदिराको रुसलान भोड्का, टेन्सवर्ग बियर, वार्सटनटायर, ब्रोडबाइजरलगायत प्रसिद्ध बियर रक्सी र अन्य पेय पदार्थ मात्र होइन, दैनिक उपभोग्य वस्तु, चाउचाउ, मैदा, चामल उद्योग, जुत्ताचप्पल धागो उद्योग धेरै छन् । जहाँ हजारौंले रोजगारी पाएका छन् । त्यसैले उद्योग व्यापारका लागि पनि प्रदेश ५ अन्य भन्दा धेरैमा उत्कृष्ट छ । अहिले प्रदेश ५ त्यस्मा पनि रुपन्देहीका भैरहवा र वरपरका क्षेत्रमा देशकै लगानीकर्ताहरुको ध्यान आकृष्ट भएको छ । आउँदो दशकभित्र यो प्रदेशमा अर्बौंको लगानी पर्यटन, उद्योग र कृषि क्षेत्रमा आउने निश्चित छ । कृषिमा पनि यो प्रदेश धेरै अगाडी छ । धान र गँहु उत्पादनका लागि प्रसिद्ध छ । एसियाकै ठूलो अष्ट्रिच फार्म यसै प्रदेशमा छ । त्यसैगरी विभिन्न कृषि कर्म, गाईभैंसी, पालन माछा पालनमा अगाडी छ । पूर्वाधार विकासको कामले पनि यो क्षेत्रमा गति बढेको छ ।
प्रदेश ५ का प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेशको मुख्य प्राथमिकता कृषि, उद्योग र पर्यटन क्षेत्र रहेको बताए ।
‘प्रदेश ५ ले विभिन्न ५१ क्षेत्र वर्गिकरण गरेको र त्यसमा पनि मुख्य रुपमा कृषि, उद्योग र पर्यटनलाई अग्रस्थानमा राखेर योजनाहरु बनाइएको र अहिले ५ वर्षे योजना तयार भएको छ’, उपाध्यक्ष गौतम भन्छन् ।
“१० वर्ष पनि कुनै पर्दैन, ५-६ वर्षमै ठूलो फड्को मार्छ, यो प्रदेश ५ ले । हामी पर्यटन, कृषि, उद्योग व्यापार, पूर्वाधार विकासमा अगाडी नै छौं, कृषि, पर्यटन र उद्योग समृद्धिका आधार पनि हुन्, प्रदेशका त्यसैले सबैभन्दा बढी प्राथमिकतमा यही क्षेत्रहरु राखिएको छ,” गौतमले भने । निर्माण सम्पन्नताको क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्का कारणले हजारौ रोजगार श्रृजना हुन्छ, पर्यटन क्षेत्रमा थप लगानी भित्रन्छ, लुम्बिनी भ्रमणमा आउने पर्यटक लाखौं हुन्छन्, समृद्धीको रेखानै यहीबाट कोरिन्छ, त्यसैले देश बनाउने सहायक मार्गनै प्रदेश ५ हो,उपाध्यक्ष गौतमको भनाई छ ।
त्यसो त अन्य क्षेत्रलाई प्रदेशले प्राथमिकतामा नराखेको होइन । शिक्षा स्वास्थ्य पूर्वाधार विकास, खेलकुद, जस्ता क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । यस प्रदेशमा तानसेन, भैरहवा र नेपालगञ्जमा गरी ३ वटा शिक्षण अस्पताल रहेका छन् । जहाँबाट चिकित्सा क्षेत्रमा वार्षिक ३ सय बढी जनशक्ति आउने गरेका छन् । उच्च शिक्षाका लागि स्तरिय कलेज, शिक्षालय यहाँ छन् । आगामी वर्षमा शिक्षामा सरकारी तथा निजी क्षेत्रले थप लगानी गर्दा जुनसुकै तहको शिक्षाका लागि काठमाडौं जानुपर्ने बाध्यता यो प्रदेशका जनतामा रहन्न । बुटवल, भैरहवा, नेपालगञ्ज, दाङलगायतका स्तरीय शैक्षिक प्रतिष्ठान र प्राविधिक शिक्षालयहरु रहेका छन् । त्यसैगरी
कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक कृषितर्फ कृषकलाई अभिप्रेरित गर्न विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था सुरु भइसकेको छ । स्मार्ट कृषि परियोजना, स्मार्ट भिलेज, मुख्यमन्त्री ग्रामिण विकास आयोजना हरेक स्थानीय तहसम्म सडक सञ्जालको पहुँच जस्ता कार्यक्रम प्रदेशमा सुरु भएका छन् । यसले पनि विकासको खाका कोर्न सुरु भइसकेको छ । मुख्य सहरहरु अस्थाइ राजधानी बुटवल र भैरहवाको २२ किलोमिटर लामो ६ लेनको बाटो सम्भवत नेपालकै लामो र चौडा सडक हो । सडकका बिचमा अपांगमैत्री पुल पनि नेपालकै पहिलो हो । भैरहवाबाट लुम्बिनीसम्म मोनोरेल, रामग्राम भैरहवा लुम्बिनीसम्म रेल मात्र नभइ चिनियाँ सरकारको सहयोगमा बन्ने भनिएको काठमाडौं पोखरा लुम्बिनी रेलमार्गले यो प्रदेशको आर्थिक, समाजिक, सांस्कृतिक पर्यटनलगायतका क्षेत्रमा थप प्रभाव पार्छ ।
भैरहवा बुटवलमा एसियाली विकास बैंकले पूर्वाधार निर्माणका लागि अर्बौ रुपैयाँ सशर्त अनुदान उपलब्ध गराएका छन् । अन्य सहरहरु तुलसीपुर, नेपालगञ्ज, घोराहीजस्ता क्षेत्रमा पनि पूर्वाधार विकाश र सहरीकरण तीव्र छ । बुटवल, नेपालगञ्ज, तुलसीपुर र घोराही प्रदेशका उपमहानगरपालिका हुन् ।
पहाडी जिल्लाहरु तानसेन नेपालकै उत्कृष्ट हिल स्टेशन हो । त्यसैगरी तम्घास, अर्घाखाँची पनि आफैमा उत्कृष्ट क्षेत्र हुन् । रुकुमको सिस्ने हिमालसम्म पदयात्र तथा हिमालको आरोहणका लागि प्रचार गर्न सकियो भने यो प्रदेशको सम्भावना अझै बढ्ने पर्यटन व्यवसायीहरु बताउँछन् । नेपालगञ्जलाई कैलाश मानसरोवर जाने भारतीय पर्यटकहरुको प्रवेशद्वारका रुपमा लिने गरिन्छ । त्यही कारणले त्यहाँ पर्यटन उद्योग क्षेत्रमा लगानी अत्यधिक भइरहेको छ ।
समग्रमा भन्नु पर्दा हिमालदेखि पहाड र तराई मधेशको संगम प्रदेश ५ हो । विभिन्न जातजातिको बसोबास गर्ने प्रदेशमा जनसंख्या ४५ लाख छ । २२ हजार २ सय ८८ वर्ग किमी क्षेत्रफल रहेको प्रदेशको साक्षरता ६६ प्रतिशत छ ।
प्रदेश ५ मा सबैभन्दा बढी संभावना बोकेको नयाँ नगरपालिकामा बुटवल र भैरहवाको बीचमा रहेको तिलोत्तमा नगर हो । गत असोजको पहिलो साता यो नगरले तिलोत्तमा लगानी सम्मेलन आयोजना गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई बोलाएर सम्मेलन समेत ग-यो । जस अनुसार केही सम्झौतासमेत भएका छन् । २ उद्योगले काम पनि सुरु गरिसकेको तिलोत्तमाका प्रमुख वाशुदेव घिमिरेले बताए ।