दीपेन्द्र थापा
बुधवार, मंसिर १८, २०७६
1434

 
नारिता र ग्वाङ्जाओ उड्ने, साउदी र अस्ट्रेलियाको तयारी


नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले नयाँ गन्तव्य खोजीलाई तीव्र बनाएको छ । निगमले हालै जापानको नारिता उडान अनुमति पाएको छ भने चीनको ग्वाङ्जाओ उडान गर्ने पनि निश्चित भएको छ ।

अष्ट्रेलिया उडानका लागिसमेत निगमले अध्ययन समिति गठन गरेको छ । यता साउदी अरेबियामा पनि उडान गर्ने तयारी निकै अघि बढाइसकेको निगमले जनाएको छ । नारितामा ग्राउण्ड ह्यान्डलिङको सुविधा नपाउँदा योजना अनिश्चित बने पनि यस सेवाको अनुमति पाएको छ । नारिता उडानका लागि ग्राउण्ड ह्याण्डलिङ, इन्धन र स्लट सेवाको सहमति गरेको भएको पनि निगमको भनाइ छ ।
नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख जनाएको छ । यसअघि निगमले नारितामा ए ३३०–२०० जहाजमार्फत चार्टर उडान गरिसकेको छ । भदौ १२ देखि जापानकै ओसाकामा सीधा उडान सुरु गरेको निगमले यात्रु पाउन नसकेपछि नारिता उडानका लागि पहल गर्दै आएको थियो । साताको तीन उडानबाट सुरु गरेको निगमले हाल ओसाकामा दुई दिनमात्रै उडान गर्दै आएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई विशेष प्राथमिकता दिइएको निगमले बतायो ।
लामो सयमदेखि चीनमा उडानका लागि प्रयाश गर्दा पनि स्लट पाउन नसकेको निगमले अब भने ग्वाङ्जाओ उडान गर्ने भएको छ । निगमले जनवरीको अन्तिम सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरेको छ । चिनियाँ सिभिल एभिएसनले उडानका लागि स्वीकृति दिएपछि प्राविधिक तयारी गरिरहेका जनाएको छ । चिनियाँ सिभिल एभिएसनको सुरक्षा चासोलाई निगमले सम्बोधन गरेको भन्दै निगमले ग्वाङ्जाओ उडानका लागि स्लट पाएको हो ।
चीनसँग भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो । तर, चीनले सुरक्षलगायत विभिन्न समस्या देखाउँदै आउको थियो । निगमले ग्वाङ्जाओमा सातामा तीन दिन उडान गर्ने तयारी गरिरहेको बताएको छ भने चीनको राजधानी बेइजिङ र सांघाई उडानका लागि पनि चिनियाँ नियामक निकायसँगको पहल जारी राखेको पनि बतायो ।
हाल नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले गत कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा र मंसिर ४ देखि चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान सुरु गरिसकेको छ ।