दीपेन्द्र थापा
शुक्रवार, मंसिर ६, २०७६
354

सन् २०२० मा २० लाख पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्ष मनाउन लागेको सरकारले सो लक्ष्य पूरा गर्नका लागि सरकार मातहतका सरकारी संयन्त्र सार्वजनिक निकायलाई ८ बुँद निर्देशन दिएको छ । सरकारले दिएको ८ बुँद निर्देशनमा सरकारले नेपाल सरकारका मन्त्रालय एवं विभाग, सार्वजनिक संस्थानलगायतका सबै सार्वजनिक निकायबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई राष्ट्रिय अभियानका रूपमा अपनत्व लिने तथा यस्ता निकायहरूका वेबसाइटलगायत अन्य आधिकारिक सामाजिक सञ्जालहरूमा नेपाल भ्रमण वर्षको लोगो राख्ने तथा नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयको वेबसाइट लिंक गर्ने, पत्रचारमा अनिवार्य रूपमा नेपाल भ्रमण वर्षको लोगो राख्ने र प्रकाशित हुने बुलेटिनलगायतका प्रकाशनमा नेपाल भ्रमण वर्षसम्बन्धी लेख रचना र प्रचार सामग्री समेत समावेश गर्ने गराउनु पर्ने उल्लेख गरेको छ । त्यस्तै नेपाल सरकारका मन्त्रालयहरू तथा सबै सार्वजनिक निकायबाट विदेशमा गरिने भ्रमण तथा प्रतिनिधित्व हुँदा अनिवार्य रूपमा नेपाल भ्रमण वर्ष–२०२० को जानकारी दिने, वक्तव्य दिनुपर्दा यसको उल्लेख गरी नेपाल भ्रमणमा अनुरोध गर्नुपर्ने निर्देशन दिएको छ ।
नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको कायक्रममा अनिवार्य रूपमा नेपाल भ्रमण वर्षको प्रवद्र्धनको डेस्क राखी प्रचार सामग्री एवं उपहार दिने व्यवस्था नेपाल भ्रमण वर्ष २०२०– को सचिवालयसँग समन्वय गरी गर्ने गराउने जनाएको छ । नेपालमा पर्यटकको आवागमन बढी हुने जस्ता प्रमुख पर्यटकीय गन्तव्यलगायत राष्ट्रिय राजमार्गका सडक तत्काल मर्मत गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाएर चुस्त दुरुस्त बनाउने । सरकारी एवं सार्वजनिक निकायका सवारी साधनमा अनिवार्य रूपमा नेपाल भ्रमण वर्ष–२०२० को लोगो टाँस्ने व्यवस्था नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयसँग समन्वय गरी प्रचार–प्रसारमा जोड दिने ।

नेपालभित्र इन्टरनेट सेवा प्रदायक विभिन्न संस्थाहरूले इन्टरनेट सेवा खुल्दा नेपाल भ्रमण वर्षको लोगो सर्वप्रथम आउने व्यवस्था सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत मिलाउनुपर्ने साथै नेपालमा सञ्चालित सञ्चार माध्यमहरू रेडियो, टेलिभिजन, पत्रपत्रिकाबाट नेपाल भ्रमण वर्ष–२०२० को प्रचार सामग्रीहरू कल्याणकारी कोषबाट उपलब्ध हुने सुविधा अनुरूप प्रकाशन तथा प्रसारण हुने व्यवस्था सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई मिलाउन निर्देशन दिएको छ ।
सन् २०२० को जनवरी १ मा काठमाडौं तथा सबै प्रदेशका राजधानीमा हुने नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सम्बन्धित प्रदेशमा रहेका नेपाल सरकारका कार्यालहरू, प्रदेश सरकार र स्थानीय तह समेतबाट आवश्यक कर्मचारीहरूको अनिवार्य सहभागितासहित अन्य सहयोग तथा प्रवद्र्धन गर्ने गराउनुपर्ने भन्दै सरकारले नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि ८ बुँद निर्देशन जारी गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले अनुमोदन गरिसकेको छ ।