अनुपमा खनाल
बुधवार, मंसिर ४, २०७६
318

गोरखा संग्रहालय साताभरी नै खुल्ला रहने भएको छ । शैक्षिक भ्रमणको सीजनसँगै पर्यटकको चाप बढकाले मंसिरदेखी माघसम्म साताभरी नै गोरखा संग्रहालय खुल्ला गरिने भएको हो । हरेक मंगलबार संग्रहालय बन्द हुँदै आएपनि पर्यटकको चाप बढेकाले बिदाको दिनमा पनि संग्रहालय खुल्ला गर्ने निर्णय गरेको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘यो शैक्षिक भ्रमणको सीजन हो’ उनले भने ‘यो सीजनमा पर्यटकको चाप बढि हुन्छ । त्यसैले हामीले कर्मचारी ब्यबस्थापन गरेर मंगलबार बीदाको दिनमा पनि संग्रहालय खुल्ला गर्ने निर्णय गरेका हौं । गण्डकी प्रदेशले आन्तरीक पर्यटन बर्ष मनाइरहेको छ । केन्द्र सरकारले पनि भ्रमण बर्षको घोषणा गरेको छ । यो अबस्थामा गोरखा आएका पर्यटकलाई एकै थलोबाट गोरखाको ऐतिहासीक, सांस्कृतिक र पर्यटकिय क्षेत्रको जानकारी दिने उदेश्यले पनि हामीले संग्रहालय मंगलबार खोल्ने निर्णय गरेका हौं ।’ आबश्यकताका आधारमा कर्मचारीलाई बोलाउने र उनीहरूलाई अतिरीक्त रकम उपलब्ध गराउने उनको भनाई छ । ‘मंगलबार संग्रहालयमा डियुटीमा रहने कर्मचारीले ६ सय रुपैयाँ पारीश्रमिक पाउनुहुन्छ ।’ उनले भने ।
शैक्षिक भ्रमणको लागि अन्यत्रबाट जिल्ला आउने क्रम बढेकाले संग्रहालय भ्रमण गर्नेको संख्या असोज महिनाको तुलनामा कात्तिकमा बढेको छ । कात्तिक महिनामा १६ हजार ४० र असोजमा चार हजार ६५२ जनाले संग्रहालयको अवलोकन गरेका गोरखा संग्रहालयले जनाएको छ । संग्रहालयले विद्यार्थीसँग १०, नेपालीसँग २५, सार्क राष्ट्रका नागरीकसँग ५० र अन्य राष्ट्रका नागरिकसँग सँग सय रुपैयाँ प्रवेश शुल्क लिदै आएको छ ।
गोरखा राज्य र नेपाल एकिकरणका सन्दर्भ, युद्धमा प्रयोग गरिएका हतियार, पुराना भाडावर्तन, विभिन्न जातीका पहिचान झल्कने सामाग्री, बाजा लगायतका सामाग्री संग्रहालयमा राखिएको छ । तत्कालीन राजा राजेन्द्रबिक्रम शाहले छोरा सुरेन्द्रविक्रम शाहका लागि बनाइदिएको दरवारमै २०६५ सालदेखि संग्रहालय स्थापना गरिएको हो । परम्परागत नेपाली वास्तु शैलीबाट बनेको लगभग अन्तिम दरवार भएकाले सो सम्बन्धी अध्ययन गर्न चाहनेका लागि पनि गोरखा संग्रहालय गन्तब्य विन्दू बन्ने गरेको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए । यसबाहेक तत्कालीन गोरखा राज्यको स्थापनाको पृष्ठभूमी र ऐतिहासिक पक्षबारे जानकारी दिन चाहनेहरूले पनि गोरखा संग्रहालय भ्रमण गर्दै आएका छन् । संग्रहालयमा ऐतिहासिक पक्ष झल्कने १२ वटा कक्ष छन् । गोरखा संग्रहालय रहेको दरवार चार रोपनी क्षेत्रफलमा फैलिएको छ भने संग्रहालय परिसरको क्षेत्रफल भने ६८ रोपनी रहेको छ ।