दीननाथ बराल
मंगलबार, मंसिर ३, २०७६
353

पोखरा-घरवास कार्यक्रम (होमस्टे) को प्रबद्र्धन गर्न पोखरा महानगरपालिका २३ स्थित चापाकोटमा यही मंसिर २५ गतेदेखि चापाकोट देउराली समुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । गत बर्ष देखि संचालनमा आएको होमस्टे गाउँको प्रचार प्रसार सहित गाउँको सांस्कृतिक कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले मंसिर २९ गतेसम्म उक्त महोत्व हुने भएको चापाकोटमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
चापाकोट देउराली सामुदायिक होमस्टेमा हाल करिब २० घर धुरीमा होमस्टे संचालन भएको चापाकोट पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष भीम प्रसाद पराजुलीले बताए । उनका अनुसार चापाकोटमा एकै रातमा एक सय ५० जना पर्यटकलाई व्यबस्थापन गर्न सकिन्छ । आवासिय सहितको एक रातको प्रति पर्यटक ९ सय रुपैया शुल्क निर्धारण गरिएको उनले जनाए । आगन्तुक पाहुनालाई स्थानिय गाउँमा उत्पादन भएको साग सव्जी, फलफुल तरकारी उपलब्ध गराउने भएको स्थानिय विश्वराज पराजुलीले बताए । चापाकोट क्षेत्रमा करिब ३ सय घर धुरी रहेका छन् ।

समितिको आयोजनामा प्राकृतिक, भौगोलिक, जैविक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक रुपले महत्वपुर्ण रहेको अध्यक्ष पराजुलीले जनाए । समुद्री सतहदेखी करिब एक हजार ३ सय मिटरको उचाइमा रहेको रैकर मगर गाउँ, चापाकोट, घडेरी, ओखलढुंगा गाउँहरूको पर्यटकीय सम्भावनाहरूलाई विकसित गर्नको लागि पनि महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक घनश्याम पराजुलीले बताए । उनका अनुसार महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिता र विभिन्न स्थानिय सांस्कृतिक कार्यक्रम हुने भएको छ । प्रतियोगितामा विजेता टोलीलाई जनही २० हजार, उपविजेतालाई १० हजार र तेश्रो हुनेलाई ५ हजार प्दान गरिने भएको छ ।
महोत्सव सम्पन्न गर्न करिब १४ लाख ३० हजार खर्च लाग्ने भएको संयोजक पराजुलीले बताए । महोत्सवबाट करिब १५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ । महोत्सवबाट बचत भएको ७० हजार रुपैया स्थानिय काठमाट निर्माण गरीले भ्यु टावरमा लगानी गरिने भएको अध्यक्ष पराजुलीले जनाए । संस्कृतिको संरक्षण, झरनाहरूको संरक्षण समेत गरिने भएको उनले जनाए ।
पोखराको मुख्य बजारदेखि करिब १३ किलोमिटर पश्चिम तर्फ पर्ने फेवाताल किनारा हुदै सवारी साधनबाट ४५ मिनेटमा पुगिने, पैदलबाटै साँढे दुई घण्टामा चापाकोटमा पुग्न सकिने अध्यक्ष पराजुलीले बताए । चापाकोटमा खरीखोला मार्सी खोला, तारेभिर लगायतका ठाउँमा झर्ना समेत भएको उनले जनाए । गाउँमा धेरै सम्भावना भए पनि प्रचार प्रसारको कमीले गर्दा आफ्नो गाउँ पछि परेको पोखरा २३ का वडा अध्यक्ष बिष्णु प्रसाद पराजुलीले बताए । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले गाउँको पर्यटन प्रबद्र्धन गर्न गाउँमा उत्पादन हुने बस्तुको राम्रो बजारीकरण गर्नुपर्नेमा जोड दिए ।