मनोरञ्जन शर्मा
मंगलबार, मंसिर ३, २०७६
312

भैरहवा-मायादेवी मन्दिरको जस्तै आकृति अहिले भैरहवामा देख्न सकिन्छ । टाढाबाट हेर्दा बुद्धजन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिरजस्तै देखिने आकृति भैरहवामा निर्माण भइरहेको छ ।
उद्योग ब्यापार संगठन रुपन्देहीले मंसिर ३ गते मंगलबारदेखि १६ गतेसम्म भैरहवाको अञ्चलपुरमा आयोजना हुन गइरहेको पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन तथा कृषि एवं औद्योगिक ब्यापार मेलास्थलमा मायादेवी मन्दिरको प्रतिरूप बनाएको हो । हेर्दा दुरुस्तै देखिने मन्दिरभित्र प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा रहेका प्रमुख पर्यटकीय गन्तव्यस्थलका आकृति राखिने उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले बताए ।

लुम्बिनी नपुगेकाले मायादेवी मन्दिरको बारेमा जानकारी पाउनुका साथै भित्र प्रवेश गरेपछि प्रदेश ५ का १२ जिल्लाका मुख्य गन्तव्यस्थलको आकृतिसमेत देखिने छ । यसले लुम्बिनीसहित अन्य पर्यटकीयस्थलको प्रचार हुन्छ, हामीले मेलालाई लुम्बिनी पर्यटनसँग जोडनुको उद्देश्य पनि यही हो, मूल आयोजक समितिका अध्यक्षसमेत रहेका भण्डारीले भने । उनले महोत्सवको सबै तयारी पूरा भएको बताए । महोत्सवले पर्यटन र कृषिलाई महत्व दिएको भन्दै पशुपति मन्दिरको प्रतिरूपमा सचिवालय, प्रवेश गेटमा पनि मायादेवी मन्दिरको झल्को, कृषिको छुट्टै पेभेलियन रहेको भण्डारीले बताए ।
महोत्सवमा पर्यटन, कृषि, अटो, होटल रेस्टुराँ, सूचना प्रविधि, घरेलु हस्तकला, तयारी पोशाक, छालाजुत्ता, खाद्य, निर्माण सामग्री, बालउद्यान बैंक वित्त गरी ४ सय बढी स्टल रहने महासचिव अनिल ज्ञवालीले बताए ।
विगतका वर्षमा भन्दा भिन्दै महोत्सव हुने, प्रत्येक दिन ९ बजेदेखि ११ बजेभित्र निःशुल्क प्रवेश गर्न पाइने (शनिबारबाहेक), खेलकुदलाई समेत प्रवद्र्धन गर्ने गरी महोत्सव हुन गइरहेको वरिष्ठ उपाध्यक्ष गिरिश त्रिपाठीले बताए । महोत्सवमा निःशुल्क वाईफाई तथा सेल्फी जोन, निःशुल्क सिमकार्ड वितरणसमेत हुने त्रिपाठीले जनाए ।
महोत्सवमा बाहिर बजारभन्दा मूल्य कम हुने, नियमित अनुगमन हुने स्थानीय उत्पादनलाई महत्व दिइने र विभिन्न विषयमा कार्यपत्र एवं छलफल अन्तरक्रियासमेत हुने उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए । महोत्सवमा तेक्वान्दो, ब्याडमिन्टन र कुस्तीसमेत आयोजना हुने संयोजक एवं संघका उपाध्यक्ष दर्पण श्रेष्ठले जनाए । महोत्सव सञ्चालनमा करिब ९५ लाख खर्च हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । महोत्सवको उदघाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् ।