सागर परियार
सोमवार, मंसिर २, २०७६
400

जुम्ला - कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य मुगुको रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ । पछिल्लो समय रारालाई चिनाउन विभिन्न दौड प्रतियोगिता हुन थालेका छन् । जसले गर्दा खेल खेल्नका लागि भए पनि सयांैका संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिरहेका छन् ।
गएको भदौ २९ गते पर्यटन प्रवद्र्धनका लागि जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना गरियो । जसमा विभिन्न देशका १६५ खेलाडीले सहभागिता जनाएका थिए । १५५ देशमा साइकल यात्रा गरी कीर्तिमान बनाएका आरोही पुष्कर शाह गएको हप्ता मुगु रारामा पुगे । त्यस्तै पत्रकार महासंघको केन्द्रिय टोली सहित ७७ जिल्लाका अध्यक्षहरु कात्तिक अन्तिम साता जुम्ला हुँदै रारा पुगे ।

पछिल्लो समय कर्णालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु रारामा पुग्दा सोचेजस्तो गरी समय बिताउनका लागि बास बस्न उपयुक्त व्यवस्थापन नभएको गुनासो गर्छन् । सडक, बत्ति, संचारको दयनिय अवस्था त छँदैछ, खर्च गर्ने मन हुँदा हँुदै पनि राम्रो बस्ने ठाउँ नहुँदा छिटै फर्किनुपरेको भारत पन्जावका पंकज पण्डितले बताए । उनी भारतबाट दुई हप्ता लगाएर रारा घुम्न आएका थिए ।
राराको प्राकृतिक सुन्दरताले सबै दुःख भुलाए पनि पूर्वाधार अभावका कारण अझै पर्यटकले धेरै समय बिताउन नपाएको गुनासो पर्यटकहरु गर्छन् । पूर्वाधारको विषयलाई लिएर पछिल्लो समय कर्णालीमा आउने अधिकांश पर्यटकहरु गुनासो गर्छन् । पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा प्रदेश सरकारले बजेट नछुट्याएको भने हैन । तर कार्यान्वयन प्रक्रिया कमजोर भएपछि समस्या थपिएको हो ।

सुविधा सम्पन्न तीन रिसोर्ट बन्दै
प्राकृतिक सुन्दरताले भरिपूर्ण रारामा दैनिक सयौं पर्यटकको भिड हुन्छ । तर बस्नलाई भने सारै मुस्किल छ । हाल रारामा डाँफे गेष्ट हाउस, भिलेज हेरिटेज होटल र माझघट्ट होमस्टे गरी पर्यटक बस्न तीन वटामात्र सामान्य तर महँगा होटल संचालनमा छन् । जसले गर्दा पर्यटकको माग अनुसार सेवा दिन सकिरहेका छैनन् । कर्णालीमा लक्ष्य अनुसारको पर्यटक भित्र्याउन र पर्यटकको सहजताका लागि रारामा सुविधा सम्पन्न पर्यटकीय रिसोर्ट बन्दैछ । रारा भिलेज रिर्सोट प्रालिले छायाँनाथ रारा नगरपालिको सल्लेरी र मुर्माकोटमा गरि दुईवटा सुविधा सम्पन्न रिसोर्ट बनाउन लागेका हो ।
जुम्ला र मुगुको मध्यवर्ती क्षेत्रभित्र पर्ने उक्त स्थानमा रारा राष्ट्रिय निकुञ्जको अनुमति लिएर कम्पनीले रिसोर्ट बनाउन लागेको रारा भिलेज रिर्सोट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले बताए । उनले भने, “सबैखाले पर्यटकहरुको सुविधाका लागि उपयुक्त हुने रिसोर्ट निर्माणको तयारी हुँदैछ । आगामीचैत देखि संचालनमा आउने गरी कामलाई अघि बढाइएको छ ।”
साविक कर्णालीका जिल्लाभित्र पर्ने विभिन्न पर्यटकिय स्थलहरुमध्ये पहिलो मुगुको रारामा निर्माण हुन लागेको रिसोर्टको लागत २० करोड रहेको छ । अध्यक्ष शाहका अनुसार राराको पर्यटन विकासको निम्ति २० करोड लगानीमा तीन वटा रिसोर्ट बनाउन सुरु गरिएको हो । सल्लेरीमा रिसोर्ट निर्माण कार्य सुरु भइसकेको छ ।
गोर्खा इको प्यानलबाट वातावरणमैत्री र सुविधायुक्त ४० वटा कोठाको रिसोर्ट निर्माण गरिने भएको छ । हिमाली जिल्ला मुगु जस्तो चिसो हुने ठाउँमा १२ महिना नै आनन्दले बस्न सक्ने वातावरणको रिसोर्ट निर्माण हुनेछ । गर्मीमा शितल र चिसो मौसममा न्यानो बनाउन रिसोर्ट बनाउन लागिएको प्रालिका संस्थापक सदस्य बिर्ख रोकायाको भनाइ छ । रारामा रिसोर्ट निर्माणका लागि सबै सामग्री बाहिर जिल्लाबाट आयात गर्नुपर्ने भएकोले लागत बढ्ने सक्नेछ ।
आगामी चैतबाट संचालनमा आउने नयाँ रिसोर्टले करिब ४५ जना युवालाई रोजगारी दिने लक्ष्य छ । एक रिसोर्टमा १५ जनाका दरले तीनवटामा गरी ४५ जना युवा प्रत्यक्ष रुपमा रोजगार बन्नेछन् ।
रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले होटल अभावले घुम्न आएका पर्यटकबाट गुनासो खेप्नुपरेको अवस्थामा रिसोर्ट निर्माण भएपछि आर्थिक आम्दानी वृद्धिसँगै पर्यकटलाई सहज हुने बताए ।
एक रिसोर्टमा १ सय पर्यटक अटाउने लक्ष्य राखिएको छ । एकैपटक तीन सय पर्यटकले बास पाउनेछन् । त्यसका साथै रिसोर्टले पर्यटन प्रवद्र्धनका लागि मौसम अनुकूल प्याराग्लाइडिङ, साइक्लिङ दौड, म्याराथन दौड जस्ता खेलहरुको आयोजना गर्ने, कर्णालीको संस्कृति झल्किने खालको सांस्कृतिक कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।
रिसोर्टभित्रैै बैठक कुनै कार्यक्रमको निम्बि करिब ३ सयजना अट्ने सभाहल भएको वारिपारि कर्णालीको कला संस्कृति झल्किने विभिन्न ऐतिहासिक तस्बिर राखिने भएको छ । रारा भिलेज रिसोर्टले स्थानीयको बाँझो जग्गा भाडा लिएर आलु, सिमी, फापर, हरियो तरकारी समेत उत्पादन गर्ने उद्देश्य राखेको कार्यकारी अध्यक्ष शाहको भनाइ छ । रिसोर्ट संचालनमा आएपछि पर्यटन प्रबद्र्धनसँगै रोजगार पाउने, स्थानीय उत्पादन सिमि, आलु, फापर, रातो चामल, कुखुरा, अण्डा, खसी, हरियो तरकारी स्याउ बिक्री गरेर आयश्रोत बृद्धि हुने स्थानीयको आशा छ ।