निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्याश मंसिरभित्रै हुनेमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवले नै आशंका व्यक्त गरेका छन् । बुधबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नै विमानस्थलको शिलान्याश मंसिरभित्र हुनेमा आशंका व्यक्त गरेका हुन् । मन्त्री भट्टराईले यसअघि विमानस्थलको निर्माणकार्य मंसिरभित्रै सुरु गर्ने बताउँदै आएका थिए । तर, समितिको बैठकमा मन्त्री भट्टराईले विमानस्थल अन्तै लान भन्दै सांसददेखि ठूला नेताहरूले नै दबाब दिएको बताए । उनले निजगढ विमानस्थल मुलुकको विकासको अर्को विकल्पको रूपमा सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति भए पनि व्यक्तिगत रूपमा भेटेर ठूलाबडा नेताहरुले नै परियोजना रोक्ने प्रयास गरेको बताए । यद्यपि, उनले ठूला नेताको नाम भने सार्वजनिक गरेनन् ।
यता, बैठकमा मन्त्रालयका सचिव अधिकारीले समेत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन अनुसार रुख काट्ने विषयमा विवाद आएको स्वीकार गरे । उनले विवादित समस्या चाँडो समाधान गरेर परियाजना निर्माण प्रक्रिया सुरु गर्न ढिलाई गर्न नहुने बताउँदै विमानस्थलको निर्माण प्रक्रियालाई ढिलो गर्ने प्रयास भइरहेको आभाष आफूलाई पनि भएको बताए । सबै मिलेर एउटै धारणा बनाउन नसके विमानस्थल निर्माण प्रक्रिया अबको २०÷२५ वर्षमा पनि सुरु नहुने चेतावनी उनले दिए ।
विमानस्थल निर्माण आयोजनाले बाराको सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना प्रमुख ओम शर्माले २४ लाख रुख काटिने हल्ला निराधार भएको जनाउँदै सवा लाख रुख काटेरै निर्माण सम्भव भएको दावी गरेका थिए । शर्माले बाहिर प्रचार गरिएजस्तो विमानस्थल निर्माणमा वन क्षेत्र ८ हजार हेक्टर नभई १६५० हेक्टरमात्र रहेको र यसमा रहेकामध्ये अधिकतम १ लाख २९ हजार रुखमात्रै कटान हुने जानकारी दिएका थिए ।
शर्माले २४ लाख सालको रुख काटिने भन्ने हल्ला विमानस्थल बन्न नै नदिने षडयन्त्रको उपज रहेको भन्दै यस्तो भ्रमको पछि नलाग्न आग्रहसमेत गरेका पनि थिए । उनले कम क्षतिमा विमानस्थल निर्माणको अवधारणा पर्यटनमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरिने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार काम अघि बढाइने बताएका छन् ।
दुई धावनमार्गका लागि आवश्यक कुल २३ सय ५० हेक्टर क्षेत्रफलमध्ये साविकको टाँगियावस्तीलाई बाराकै कोल्हवीमा स्थान्तरण गरिँदैछ । यो वस्ती जम्मा ६ हजार हेक्टरमा फैलिएको छ । यस्तै, बुट्यान १ हजार हेक्टर, जंगल १ हजार ६५० हेक्टर रहेको र यसमा १४ हजार ४० वटा सालका रुख रहेका छन् भने बाँकी बिभिन्न प्रजातिका रुख र बुट्यान पर्ने आयोजनाले प्रस्तुत गरेको खाकामा उल्लेख छ ।