कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६
273

अटम सिजनमा ५२ हिमाल आरोहणका लागि ६२ विभिन्न देशका १ सय ६१ टिमले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । कुल १ हजार १ सय ९१ सदस्य रहेको सो टिममा ९ सय ३७ पुरुष र २ सय ५४ महिलाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
सो टिमका लागि विभागले १ सय ५ जना लियाजन अफिसर खटाएको छ । कानुनी व्यवस्थाअनुसार ६ हजार ५ सय मिटर माथिका हिमालमा लियाजन अफिसर खटाउने प्राव्धान रहेको छ । गत वर्षको यही सिजमा ९९ जना लियाजन अफिसर खटाएको विभागले यस वर्ष सो संख्या ६ जनाले बढिरहेको जनाएको छ । विगतको तुलनामा साना हिमाल आरोहण गर्ने आरोहीको संख्या घटेको विभागका निर्देश मीरा आचार्यले बताइन् ।

विदेशीलाई हिमाल हेरेर कम्तीमा १ सय २५ अमेरिकी डलरसम्म रोयल्टी तिर्नुपर्ने कानुनी व्यवस्था छ । हिमाल आरोहणको अनुमति लिएकोमा फ्रान्सेली नागरिक बढिरहेका छन् । विभागले हाल केही टिमको डी ब्रिफिङ सकेर आरोहण गर्नेका लागि हिमालतर्फ लागेका छन् भने केहीको डी ब्रिफिङकको प्रक्रियामा रहेको जनाएको छ । हालको टोलीले डिसेम्बरसम्म समिट पूरा गर्ने विभागको भनाइ छ ।
५२ हिमाल आरोहणका लागि आमदबब्दम ६ हजार ८ सय १४ मिटरको उचाइमा रहेको हिमाल आरोहणका लागि २८ टिमका ३ सय २९ आरोहिले अनुमति लिएका छन् । दोस्रोमा मनास्लु (८ हजार १ सय ६३ मिटरको) हिमालका लागि २७ टिमका २ सय ६४ टिमले अनुमति लिएका छन् भने तेस्रोमा थापा पिक (धम्पुस ६ हजार १२)मिटरको उचाइमा रहेको हिमालको लागि १४ टिमका ८४ जना आरोहिले अनुमति लिएका छन् ।
सरकारले कानुनी प्रावधान परिवर्तन गरेसँगै साना ६ हजारभन्दा तलका हिमाल आरोहण गर्ने आरोहिको संख्यामा कमी आएको विभागले जनाएको छ । जारी सिजनमा ६ करोड ४० लाख रुपैयाँभन्दा बढी राजस्व जम्मा भएको विभागले जनाएको छ ।