कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
275

इलाम- सूर्योदय नगरपालिकामा रहेको अन्तुपोखरीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । नगरपालिकालाई आम्दानी नभएको भन्दै नगर कार्यपालिकाको बैठकले डुंगा सञ्चालनमा रोक लगाएको हो । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको अन्तुपोखरीमा मंगलबारदेखि डुंगा चलाउन रोक लगाइएको छ । पाँच वर्षभन्दा अघिदेखि अन्तुपोखरीमा पुगेका पर्यटकलाई डुंगा सयर गराइँदै आएको भए पनि अहिले आएर सूर्योदय नगरपालिकाले त्यहाँ डुंगा चलाउन रोक लगाएको हो । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले अन्तुपोखरीमा अहिले सञ्चालन गरिँदै आएको डुंगा रोक्ने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार अन्तुपोखरी सार्वजनिक स्थल भएकोले त्यहाँ डुंगा चलेर त्यसबाट नगरपालिकाको आम्दानी नदेखिएकाले रोक लगाइएको हो । नगरपालिकासँग सम्झौता गरेर नगरपालिकाको मातहतमा डुंगा सञ्चालन गर्ने ब्यवस्था नहुञ्जेलसम्मका लागि डुंगा चलाउन रोक लगाइएको नगर प्रमुख रणबहादुर राईले बताएका छन् ।

अन्तुपोखरीमा यसअघि स्थानीय बासिन्दाले गठन गरेको एक निजी समूहका नाममा ठेक्का लगाएर नै डुंगा सञ्चालन गरिँदै आएको थियो । उक्त समूहले बर्सेनि २ लाख रुपैयाँको हाराहारीमा वार्षिक ठेक्कामा स्थानीय खगराज घिमिरेलाई डुंगा चलाउन ठेक्का दिएर सञ्चालन भइरहेको थियो । यो समूह कहीँ कतै गठन नभएको र समूहमा रहेका सदस्यहरूले सेयरको रुपमा रकम संकलन गरेर डुंगा खरिद गरी सञ्चालनमा ल्याएको बुझिएको वडाध्यक्ष मधुसूदन लामिछानेले बताए । गत वर्षदेखि नै नगरपालिकाको मातहतमा पोखरीको आम्दानी ल्याउन खोजिए पनि सम्भव नभएको उनको भनाइ थियो ।
गत आर्थिक वर्षहरूमा पोखरीको आम्दानीमा खासै वास्ता नगरेको नगरपालिकाले चालू आवमा ठेक्कामा डुंगा सञ्चालन गर्ने भनेर बोलपत्र नै निकालेको थियो । तर, चार पटकसम्म बोलपत्र भर्ने कोही ननिस्किएपछि तत्काललाई डुंगा सञ्चालनमै रोक लगाउन नगरपालिका बाध्य भएको हो ।
स्थानीय बासिन्दाको दबाब र पोखरीको जग्गा निजी भएको स्थानीयको दाबीका कारण अहिलेसम्म नगरपालिकाले डुंगा सञ्चालनको आम्दानी लिन सकेको थिएन । तर, तत्काल गरिएको अनुगमनमा डुंगा सयरका क्रममा लगाउने लाइफ ज्याकेट नलगाई डुंगा चड्ने गरेको देखिएकाले रोक लगाइएको प्रमुख राईको भनाइ थियो । उनले अब लाइफ ज्याकेटको व्यवस्था सँगसँगै नगरपालिकासँग सम्झौता गर्ने संघ–संस्था या व्यक्तिलाईमात्र डुंगा चलाउन दिइने बताएका छन् ।
नगरपालिकाले यही मंसिर १४ देखि पाँचदिने प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ सञ्चालन गर्ने भएको छ । महोत्सवको उद्घाटन नै प्रमुख अतिथिले अन्तुडाँडामा सूर्योदयको पूजाबाट गर्ने बताइएको छ । अन्तुमा सूर्योदयको दृश्यावलोकन गर्नेदेखि दोस्रो आकर्षण यही अन्तुपोखरी र त्यहाँको डुंगा सयर हो । अहिले नगरले डुंगा रोक लगाएर महोत्सवसम्म सञ्चालनमा नआएमा महोत्सवमा त्यहाँ पुगेका पर्यटकको डुंगा सयरको धोको अधुरो रहने निश्चित छ । यसतर्फ नगरपालिकाले सोच्नुपर्ने स्थानीयको भनाइ छ । महोत्सवमा डुंगा चढ्न नपाउँदा पर्यटकहरूलाई पनि खल्लो लाग्ने भएकाले पनि पहल गर्न आवश्यक रहेको उनीहरूको माग छ ।
वर्षौंदेखि सञ्चालन गरिँदै आइएको डुंगा महोत्सव हुने समयमा आएर रोक्दा गलत सन्देश जाने पनि स्थानीय बताउँछन् । एकातिर सरकारले नेपाल भ्रमण वर्ष–२०२० घोषणा गरेको छ, अर्कातिर स्थानिय सरकारले पर्यटकीय स्थलमा सञ्चालन भइरहेका डुंगा सञ्चालनमा रोक लगाइनाले स्थानीय र केन्द्र सरकारविच मदभेद बढ्न सक्ने भएकाले पनि यसतर्फ सम्बन्धित निकायले सोच्नुपर्ने बेला आएको विज्ञहरू बताउँछन् । सानातिना कुरामा अल्झिनाले समस्या बढ्ने भएकाले यसतर्फ सच्न र निर्णय हेरफेर गर्न आवश्यक देखिन्छ ।