दीपेन्द्र थापा
बिहिवार, कार्तिक २१, २०७६
260

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सुधारका योजना अघि सारेको छ । झन्डै ४० अर्ब रुपैयाँ घाटामा रहेको निगमले चालू आर्थिक वर्षभित्र प्रणालीगत सुधारबाट१ अर्ब ६९ करोड ३३ लाख ५२ हजार र आर्थिक मितव्ययिताबाट रु ५८ करोड २८ लाख गरी २ अर्ब २७ करोड ६१ ५९ हजार रुपैयाँ बराबर रकम बचत गर्ने प्रक्षेपण गरेको छ ।
निगमले चालू आर्थिक वर्ष (२०७६-७७) को पछिल्लो चार महिनामा यस्तै सुधारबाट २ अर्ब हाराहारीमा रकम बचत गर्न सफल भएको दाबी गरेको छ ।आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहवद्र्धक आर्थिक उपलब्धि प्राप्त गरेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अध्यक्ष खरेलले प्रणालीगत सुधार, फजुल खर्च कटौती तथा राजस्व बढी उठाएबापतसञ्चिती बढाउन सफल भएको बताए । उनले निगमको अपरेसन र इन्जिनियरिङ विभागको प्रणाली परिवर्तन गरी खर्च व्यवस्थापन गरिएको दाबी गरे ।

निगमको अन्तर्रािट्रिय उडानका गन्तव्य विस्तारबाट भएको आम्दानीसहित सेवा व्यवस्थापनलाई प्रभावकारी बनाइएकाले पनि निगमलाई फाइदा भएको छ । विभिन्न गन्तव्यमा वाइड बडी जहाजको आर्थिक उपलब्धि सन्तोषजनक रुपमा भइरहेको व्यापारले पनि निमगको आर्थिक अवस्थालाई सुधार्न योगदान पुगेको खरेलको भनाइ छ ।निगमले अहिले जापानको ओसाका उडान गरिरहेको छ । सुरुमा यो गन्तव्यमा घाटा भए पनि पछिल्ला दिनमा राम्रै फाइदा भइरहेको अध्यक्ष खरेलले बताए । ओसाकाको अकुपेन्सी अहिले राम्रो रहेको र चाँडै नै जापानकै नारिता गन्तव्यमा चार्टर उडान पनि व्यावसायिक रुपमा सफल भएको उनको भनाइ छ । निगमको वाइड बडी ‘ए’ ३३० जहाजले अहिले दैनिक १३ घण्टा उडान गर्दै आएको छ । यो विश्वव्यापी एयरबसको उडान दरको तुलनामा निकै बढी भएको उनको भनाइ छ ।
यसैबीच, नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सहयोग पु-याउने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । अहिले एक लाख विदेशी पर्यटक बोकिरहेको निगमले भ्रमण वर्षको अवधिमा २ लाख ५० हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । निगमले हाल विभिन्न सात देशका नौ वटा गन्तव्यमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि वाइड बडी ‘ए’३३० जहाज दुई थान र न्यारो बडी ‘ए’३२० दुई थान जहाज छन् । निगमसँग अहिले भएको एक मात्र ७५७ बोइङ बिक्रीका लागि अन्तिम तयारी गरिएको छ । बोइङ बिक्रीका लागि एक-दुई दिनभित्रै वार्ता हुने निगमले जनाएको छ ।