कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
124

 मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनि गाउँमाथि रहेको यारुजु भ्युपोइन्टमा पर्यटकहरूको चहलपहल बढेको छ । दशैं–तिहारको अवसरमा मुस्ताङ घुम्न गएका पर्यटकहरू ३ हजार ७ सय ५० मिटर अग्लो डाडाँमा निर्माण गरिएको यारुजु भ्युपोइन्टमा पुग्ने गरेका छन् ।
थकाली सभ्यताको अध्ययन गर्न सकिने ठिनी गाउँको होमस्टेमा पुगेका पर्यटक प्राकृतिक सम्पदाले भरिपुर्ण यारुजु भ्युपोइन्टमा पुग्ने गरेका छन् । याकको सिङजस्तो डाँडामा रहेको निर्माण गरिएको भ्युपोइन्टबाट धौलागिरि, निलगिरि, स्याङ, अन्नपूर्णलगायतका हिमाल र चिनको कोरला नाका, कालिगण्डकी नदी, जोमसोम बजार, स्याङ र मार्फाको स्याउ बगैंचा र ढुम्बाताललगायतका दृश्यहरू नजिकबाट अवलोकन गर्न सकिन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले १० लाख लगानीमा निर्माण गरिएको भ्युपोइन्टबाट दन्तेलहरजस्तै मिलेर बसेको दर्जनौ हिमालसंग फोटो खिच्ने भिड लाग्ने गरेको छ । सडक सुविधा पुगेको ठिनी हुँदै सो भ्युपोइन्टमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढेको ठिनीका निरज थकाली बताउँछन् ।
ठिनीमा रहेको १ सय १० घरको थकाली जातिको समुदायमा २०७४ वैशाखदेखि सञ्चालन गरिएको होमस्टेमा स्वदेशी तथा विदेशी पर्यटकहरू ठिनीमा एकरात बासबस्न पुग्ने गर्दछन् । थकाली जीवनशैली, संस्कृति र इतिहास झल्काउने संग्रहालय, माटोले बनेको घर, स्याउको बगैचा, थकाली नृत्य लगायतको अवलोकनपछि विदेशी तथा स्वदेशी पर्यटक नजिक रहेको यारुजु भ्युपोइन्ट, गुफा र ढुम्वा ताल पुग्ने गर्दछन ।
प्राकृतिक सम्पदाले भरिपूर्ण यारुजु भ्युपोइन्टको प्रचार–प्रसार गर्न सकेमा मुस्ताङमा पुग्ने तीर्थयात्री र आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढेर स्थानीयलाई रोजगार सिर्जना हुने देखिन्छ ।

 

 

धिरन खत्री