कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६
534

निगमले आगामी जनवरी महिना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानको तयारी गरेको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको जनाइएको छ ।
निगमले जापान सिभिल एभिएसनले मागेको आवश्यक कागजात बुझाइसकेको छ, तत्पश्चात् उडान अनुमति पाउनेछ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ । गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान सुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ ।