मनोरञ्जन शर्मा
मंगलबार, कार्तिक १९, २०७६
231

रुपन्देही-बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने श्रीलंकन पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । सन् २०१९ को १० महिनामा(जनवरीदेखि नोभेम्बरसम्म) जम्मा ४२ हजार ५ सय ४ श्रीलंकन मात्रै लुम्बिनी भ्रमणमा आएका छन् । 

अघिल्लो वर्ष सन् २०१८ को यसै १० महिनामा ५१ हजार ४ सय ९७ श्रीलंकन लुम्बिनी पुगेका थिए । अघिल्लो वर्षको तुलनामा ८ हजार ९ सय ९३ पर्यटक कम हुन् ।
सन् २०१८ मा श्रीलंकाका ५९ हजार ९ सय ५९ पर्यटक लुम्बिनी आएका थिए ।

श्रीलंकनहरू सबैभन्दा बढी लुम्बिनी आउने महिना अगस्त हो । गत वर्ष अगस्तमा १६ हजार ८ सय ९२ जना आउँदा यो वर्षको सोही महिनामा जम्मा १२ हजार ५ सय १६ जना मात्र लुम्बिनी भ्रमणमा आए ।
त्यसैगरी फेब्रुअरी, मार्च, सेप्टेम्बर, अक्टोबर, नोभेम्बरमा पनि श्रीलंकन पर्यटक लुम्बिनी बढी आउँछन् । अघिल्लो वर्ष ती महिनाहरूमा क्रमशः ५ हजार ६ सय ५१, ११ हजार ५ सय ६७, ८ हजार ५ सय ८५ र ५ हजार ८ सय ९९ तथा नोभेम्बरमा ७ हजार ८ सय ६९ पर्यटक आएका थिए । तर, अहिले चालू वर्षको फेबु्रअरी बाहेक सबै महिनामा श्रीलंकन पर्यटक घटेका छन् ।
अझै २ महिना बाँकी रहेको र श्रीलंकन पर्यटक बढ्ने अपेक्षा रहेको लुम्बिनी विकास कोषले जनाएको छ । नोभेम्बर महिनामा श्रीलंकामा राष्ट्रपतिय निर्वाचन रहेकाले पनि पर्यटक बढी आउने संभावना कम छ । अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष एवं श्रीलंकाका जानकार भिक्षु मैत्रेयका अनुसार त्यहाँको चुनावका कारणले पनि नोभेम्बरमा आउने तय भएका धेरै पर्यटकले भ्रमण रद्द गरेका छन् ।
तर नोभेम्बरमा रद्द गरे पनि अगाडिको महिनामा किन श्रीलंकन पर्यटक घटे चासोको विषय हो ।
लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटक(राहदानी बाहक)मा सबैभन्दा बढी श्रीलंकन पर्यटकहरू छन् ।
लुम्बिनीमा श्रीलंकनहरूको लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करनी कुन्ड, श्रीलंकन बिहार आकर्षणको केन्द्र बनेको छ भने श्रीलंका सरकारले श्रीलंकन पिलिग्रिम्स रेष्ट हाउस समेत निर्माण गरेको छ ।
नेपाल सरकारले वर्ष २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरी प्रचारात्मक अभियान सुरु गरेको धेरै भइसकेको छ ।
नेपाल सरकार एवं नेपाल टुरिजम बोर्डको ध्यान चिन, युरोपतिर मात्र बढी भएको र दक्षिण एसियाली मुलुकमा खासै प्रचार हुन नसकेको पर्यटन व्यवसायीको भनाइ छ ।
प्रचारमुखी कार्यक्रमहरू श्रीलंकासहित भारतको बिभिन्न सहर र अन्य बौद्ध मुलुकमा पनि गर्नुपर्ने र जुन कारणले पर्यटक आगमन बढने सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेसन सोट्टो नेपालका प्रदेश ५ अध्यक्ष सञ्जय बजिमयले बताए ।