दिलबहादुर केसी
सोमवार, कार्तिक १८, २०७६
333

दोलखा-जिरीलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रदेशद्वारको रूपमा चिनिन्छ । लामो समय काठमाडौंबाट जिरीसम्म मात्र सडक यातायातको पहुँच हुँदा पर्यटकहरू जिरीसम्म बसमा गएर पैदल यात्रा तय गर्थे । सगरमाथाका पहिलो आरोहीको रूपमा रहेका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन हिलारी पनि जिरीमै रात बिताएर सगरमाथातिर लागेका थिए ।
केही वर्षयता सोलुखुम्बु र जिरी पूर्वसम्म सडक सञ्जाल फैलिएपछि जिरीमा विदेशी पर्यटकको चहल पहल घटेको छ । तर, जिरीका नागरिकहरू पुराना पर्यटकीय चहल पहललाई फर्काउन विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । ‘एक वडा एक पार्क’ क्लिन जिरी, ग्रीन जिरी र अर्गानिक जिरीजस्ता अभियान चलाएर पर्यटकहरू आकर्षित गराउन स्थानीय तह जिरी नगरपालिकासमेत लागि परेको छ ।

त्यही जिरीमा एक महिनाअघि सञ्चालनमा आएको एउटा पार्कले विगतको सगरमाथा आरोहीको झल्को दिएको छ । तेन्जिङ हिलारीका प्रतिमा स्थापना गरिएको छ । यी मूर्ति राखेर यस पार्कको नामै तेन्जिङ हिलारी पार्क नामाकरण गरिएको छ । यो पार्क जिरी नगरपालिकाको ‘एक वडा एक पार्क’ मध्येको वडा नं. ५ को पार्क हो ।
विश्व पर्यटन दिवसका दिन पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अनावरण गरेपछि जिरीमा विभिन्न कार्यक्रमसमेत सञ्चालन भएका छन् । एक महिनायता हजारौंले पार्कको भ्रमण गरेको जिरी युवा सञ्जालका अध्यक्ष समेत रहेका पर्यटन प्रबद्र्धन अभियान्ता केन्द्रज्योति खड्काले बताए । युवा सञ्जाल र स्थानीय व्यवसायीहरू मिलेर सडक खाना महोत्सवसमेत मनाएका छन् ।
पटक–पटक जिरी आएका हिलारीले एकपटक जिरीको एउटा छाप्रोमा बसेर चिया पिएका थिए । भर्खरै जिरी बहुउद्देश्सीय विकास कार्यक्रम सञ्चालन गर्न स्वीट्जरल्यान्डबाट आएका स्वीसहरूका साथमा उनले त्यहाँ रात पनि बिताएका थिए । त्यो बेला स्वीसका लागि क्यान्टिन बनाइएका उक्त छाप्रोसहितको क्षेत्रलाई पर्खालले घेरेर तेन्जिङ हिलारी स्मृतिपार्क निर्माण गरिएको हो । त्यहाँको छाप्रोलाई संग्रहालय बनाउनका लागि क्यान्टिन अन्यत्र सारिने जिरी नगरपालिकाका मेयर जिरेलले बताए ।

जिरीबाट १४ दिनमा सगरमाथाको शिखरमा
सन् १९५३ को मे २९ का दिन तोन्जिङ र हिलारीले जिरीबाट थप १४ दिन पदयात्रा गरिकन सगरमाथामाथि पहिलो मानव पाइला टेकेका थिए । विजयको त्यो पहिलो उत्सवको सन्दर्भमात्रै हैन जिरीसँग हिलारीको नाता गहिरो छ । हिलारी भने सन् १९७६ सम्म पटक पटक जिरीको विभिन्न स्थानमा आएको मेयर जिरेलको भनाई छ ।
जहाजको सुविधा नभएसम्म उनीहरूलाई काठमाडौंबाट जिरी आउन नै ६ दिनको पदयात्रा गर्नुपथ्र्यो । सोलुखुम्बुका विभिन्न क्षेत्रमा सञ्चालन गरेको मानवीय सहायता र शिक्षा विकाससम्बन्धी कार्यक्रमका लागि उनी पटकपटक जिरी आएको स्थानीयको सम्झाना छ । तर, सगरमाथा पहिलो आरोहणपछिका दिनमा भने तेन्जिङलाई भने स्थानीयले जिरीमा नदेखेको बताउँछन् ।
पहिलो सफल सगरमाथा आरोहण दल प्रमुख कर्णेल हण्टको नेतृत्वमा आएका हिलारी र सहयोगी तेन्जिङसहितको टोली सिक्री गाउँ किनारबाट बग्ने खोला छेउमा पाल टाँगेर रात कटाएका थिए । टोलीमा सोही गाउँका लालबहादुर जिरेल भारी बोक्ने कार्यमा सहभागी भएका थिए ।
प्रदेश सरकारको बजेटमा बनाइएको पार्कमा रहेको छाप्रोलाई संग्रहालय बनाउने सोच नगरपालिकाको छ । म्युजियममा उनले सन् १९७० को डिसेम्बर ८ का दिन जिरी हाइस्कुलमा हस्ताक्षरसहित लेखिएको सम्झनाको प्रतिलिपि पनि राखिनेछ ।
स्वीट्जरल्यान्डको जुरिक, याक चिज र सगरमाथा प्रवेशद्वारले परिचित जिरीलाई पुरानै अवस्थाको चर्चित र चहलपहल गराउने जिरी नगरपालिकाकाले योजना अघि सारेको छ । पर्यटक जिरीमा आकर्षित गराउन जिरीका होटल व्यवसायीले लज भाडामा ५० प्रतिशतसम्म छुटको प्याकेजसमेत सञ्चालन गरेका थिए ।
सन् १९६० को दशकदेखि सुरु भएको तर हाल बन्द भएको एयरपोर्ट पुनः सञ्चालन, बहुउद्देश्यीय जिरी ताल निर्माण, मालीमा विश्वकै अग्लो गुरु रेम्पोचेको मूर्ति स्थापना, हनुमन्तेमा हनुमानको मूर्ति राख्ने, र स्वीस राष्ट्रपति ओर्लिएको स्थलमा आर्नोल्ट कोलार पार्क निर्माण लागि योजना बनाइरहेको मेयर जिरेलले जानकारी दिए ।