कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६
458

मनाङ जिल्लाअन्तर्गत पर्ने अन्नपूर्ण पैदलमार्गमा पर्यटक सिजन सुरु भयसँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा वृद्धि हुन थालेको छ । पर्यटकहरू बढेसँगै जिल्लामा पर्यटक सुरक्षालाई मध्यनजर दिँदै जिल्ला प्रहरी कार्यालय मनाङले पर्यटक सुरक्षा गस्ती सञ्चालन गर्दै आएको छ ।
गत असोज २२ गतेबाट २५ गतेसम्म जिल्ला प्रहरी कार्यालय मनाङले सम्पूर्ण व्यक्ति, समाज तथा विशेष गरी पर्यटकहरूलाई सुरक्षाको महसुस गराउने उद्देश्यले पर्यटन मार्ग सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको हो । प्रहरी सहायक निरीक्षक मोहदत्त शर्माको कमाण्डमा खटिएको एक टोलीले सदरमुकाम चामेबाट विश्वकै सबैभन्दा बढी उचाइमा रहेको तिलिचो तालसम्म पर्यटक सुरक्षाका लागि प्रहरी गस्ती गरेको छ ।
पर्यटक बढी आवतजावत हुने स्थानहरू चामेदेखि पिसाङ, हुम्दे, खाँङ्गसार,श्रीखर्क हुँदै विश्वकै सर्वोच्च उचाइमा रहेको तिलिचो ताल४९१९ मिटरसम्म पर्यटक सुरक्षाका लागि प्रहरी गस्ती गरेको हो । गस्तीको क्रममा पर्यटन व्यवसायी, पर्यटक, गाईडलगायत स्थानीय व्यक्तिहरूलाई सुरक्षा सचेतनामूलक अन्तरक्रिया कार्यक्रमसहित पर्चा वितरणसमेत गरेको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताए ।