कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६
395

दमौली-मनमोहक प्राकृतिक दृश्य र मगर संस्कृतिमा रम्न चाहनेका लागि बन्दीपुर गाउँपालिका–३मा पर्ने रामकोट गाँउ उत्कृष्ट गन्तव्य बनेको छ । रामकोट गाउँ मगरहरूको संस्कृति, परम्परागत शैलीमा निर्मित घर र वरपरका मनमोहक प्राकृतिक वातावरणमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको हो ।
समुद्री सतहबाट करिब १ हजार मिटर उचाइमा पर्ने रामकोटमा २०७५ भदौ ८ गते दर्ता भई सुरु भएको रामकोट सामुदायिक होमस्टेमा सुरुका दिनहरूमा बाह्य पर्यटक मात्र आउने गरेको भए पनि हाल आन्तरिक पर्यटकको रोजाइमा समेत पर्ने गरेको छ । बन्दीपुर घुम्न आउने पर्यटकहरू रामकोट आउने क्रम बढेसँगै रामकोट होमस्टे भरिभराउ हुने गरेको होमस्टे सञ्चालक समितिकी अध्यक्ष बिहीशरा आलेले बताइन् ।
“बन्दीपुर गाउँपालिकाले दिएको ३ महिने तालिमबाट प्रेरित भएर हामीले होमस्टे सञ्चालन गरेका हौं,” उनले भनिन् । पहिले–पहिले पनि बन्दीपुर आउने पर्यटक रामकोटको सुन्दरता नियाल्न धेरै आउँथे तर पाहुनालाई खाने बस्ने उपयुक्त प्रबन्ध नहुदाँ बन्दीपुर नै फर्किनुपर्ने बाध्यताले पनि गाउँमा होमस्टे सञ्चालन गरेको समितिको सचिव कृष्णमाया मगरले बताइन् । होमस्टेमा प्रायः समूहमा पर्यटकहरू आउने गरेका छन् । ८८ घरधुरी मगरहरूको मात्र बसोबास रहेको रामकोटका १४ घरमा मात्र होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा अहिलेसम्म हजारभन्दा बढी पर्यटकहरू बास बसिसकेका छन् । होमस्टेमा अहिले एकै साथ ४० जनासम्म पाहुना राख्न सक्ने क्षमता छ ।
पृथ्वी राजमार्गबाट ८ करिब किलोमिटरको दूरीमा अवस्थित रामकोट गाउँमा होमस्टे सञ्चालन पछि छुट्टै रौनकता छाएको स्थानीय जयन्तीमाया आलेले बताइन् । चाडपर्वको बिदा मनाउन बन्दीपुर आएका अधिकांश पर्यटकहरू रामकोट आएका छन् । मगरहरूको बाक्लो बस्ती रहेको रामकोट मगरहरूको नमुना गाउँ हो जहाँ मगरहरूको एकीकृत बस्ती छ । “अहिलेसम्म गाँउमा दुःखसुख पर्दा हामी एक घर पनि छुटिएका छैनौं,” हाम्रो गाउँको एकता नै पर्यटकले मन पराउँछन् आलेले भनिन् ।
“घाँस दाउराको भारि, मलको डोको नै हाम्रो दैनिकी थियो अहिले पाहुनालाई स्वागत, सत्कार खाजा र खानाको व्यवस्थामा नै दिन जान्छ होमस्टे सञ्चालन भएपछि यहाँको महिलाहरूको दैनिकीमा परिवर्तन आएको छ अध्यक्ष आलेले भनिन् ।”
पाहुनालाई खाना भने उनीहरू समूहमा नै खुवाउने गर्छन । होमस्टेमा आएको दिनदेखि खाजा, खाना सांस्कृतिक कार्यक्रम बास बसेको र भोलिपल्टको खाजासहित ८ सय रुपैयाँको प्याकेज रहेको समितिकी कोषाध्यक्ष वृद्धिसरा आले थापाले बताइन् । रामकोट मगर होमस्टे भएकाले त्यहाँ पुग्ने पर्यटकले कोेदोको ढिंडो, कोदोको रोटी, फापरका परिकार गुन्द्रुकको अचार आदिको स्वाद लिन पाउँछन् । त्यतिमात्र होइन बुंगुरको मासु, लोकल कुखुराको मासुका लागि पनि रामकोट प्रसिद्ध छ ।
पहाडकी रानी सुन्दरताकी खानीको उपमा पाएको बन्दीपुरसँगै जोडिएको गाउँ हो रामकोट । बन्दीपुर आउने अधिकांश पर्यटकहरू रामकोट पुगेकै हुन्छन् । उत्तरतर्फ लहरै देखिने हिमाल र विशाल सुखौराफाँट पनि पर्यटकलाई आनन्दित तुल्याउने विशेषता हुन । विशुद्ध मगरहरूको बस्ती रहेको रामकोटमा मगरहरूका जोडिएका घरहरू पनि हेर्न लायक विशेषता हो । सानो ठाउँमै व्यवस्थित रूपमा परम्परागत शैलीमा बनेका मगरहरूको मौलिक घुमाउने घर अर्को विशेषता हो । त्यहाँको एकीकृत बस्तीबाट पर्यटकहरूले मगर भाषा, संस्कृति र रहनसहनका बारेमा सिक्न एकदमै रमाइलो मान्ने गरेको स्थानीय बताउँछन् । मगरहरूको कौरा नाच पर्यटकहरूले अत्याधिक मन पराउने गर्छन् ।

 

सुनिता आचार्य