कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६
395

म्याग्दी- सडक सुविधाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा पर्यटकको संख्या बढेको छ । दसंै–तिहारको अवसरमा हिमाल पारिको जिल्ला मुस्ताङ जाने पर्यटकलाई रुप्से झरनाले आकर्षमा पारेको हो ।
बेनी–जोमसोम सडकको छेउमै पर्ने रुप्से झरनालाई नजिकबाट नियाल्दै पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेहरुको दिनहुँ हजाराको घुइँचो लाग्ने गरेको छ । अग्लो छाँगोबाट खस्ने रुप्से झरनाको सौन्दर्यताको अवलोकन गर्ने युवायुवती तथा विदेशी पर्यटक नागबेली झरना देखेर दंग पर्छन् ।
अग्लो छाँगोबाट खस्ने र त्यसपछि करिब एक किलोमिटर भिरालो पहाडमा बग्ने रुप्से झरना कालीगण्डकी नदीमा मिसिने गर्छ । रुप्से झरना र संसारकै गहिरो गल्छीलाई नजिकबाट अवलोकन गर्न दसंै र तिहारको अवसरमा बेनी जोमसोम सडक भएर आवत जावत गर्ने युवायुवती तथा बाह्य पर्यटकहरुको दैनिकजसो रुप्सेमा भीड लाग्ने गरेको छ । सडकदेखि रुप्से झरना र अन्धगल्छीसम्म पुग्ने पदमार्ग, भ्युटावर र विश्रामस्थल निर्माण भएका छन् ।
पर्यटकको चापसमेत बढिरहेको रुप्सेमा सडक जाम हटाउन र पर्यटकले लामो समय रुप्से बिताउने वातावरण सिर्जना गर्न स्थानीय तहले पार्किङ सुविधालगायतका पूर्वाधार निर्माण गर्नुपर्ने पर्यटक बताउँछन् ।

 

 धीरन खत्री