कारोबार संवाददाता
सोमवार, आश्विन ६, २०७६
567

ताप्लेजुङ - ३० वर्षीय मिङ्मा डेबिड शेर्पाले नेपालका ८ र पाकिस्तानका ५ वटै हिमाल आरोहण गरिसकेका छन् । चीनको सिसापाङ्मा (८,०२७ मिटर) आरोहणको तयारीमा छन् । ‘फोर्टिन पिक’ (नेपाल, चीन र पाकिस्तानका १४ हिमाल) आरोहण गरेर गिनिज बुकमा नाम लेखाउने धोको छ उनको ।
‘फोर्टिन पिक’ आरोहण गर्ने कान्छा आरोही हुनका लागि यो वर्षभित्रै आरोहण गर्नुपर्छ । प्रत्येक हिमाल आरोहीको सपना हुन्छ– १४ हिमाल आरोहण गर्ने । त्यो रहर पूरा गर्नका लागि २०१९ को सेप्टेम्बर महिनालाई सदुपयोग गर्ने शेर्पाको तयारी छ ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा जन्मिएका शेर्पाका अनुसार चीनले सिसापाङ्मा हिमाल आरोहण अनुमति खुलाएको छैन । उनले भने, “यो सेप्टेम्बरमा खुल्छ-खुल्दैन थाहा छैन । सुनेअनुसार उचाई मापन तथा हावापानी अध्यनको काम जारी छ ।” विश्वका ३९जनाले मात्र फोर्टिन पिक आरोहण गरेका छन् । तीमध्ये नेपालबाट मात्र नभई साउथ एसियाबाट २ जनाले मात्र आरोहण गरेका छन् । संखुवासभाका दाजुभाइ मिङमा शेर्पा र छाङ्दावा शेर्पा यसमा सफल भएका हुन् । अहिलेसम्म फोर्टिन पिक आरोहण गर्ने कान्छा आरोही छाङ्दावा शेर्पा (३१ वर्ष) भनेर उल्लेख छ । दाइ मिङ्माको रेकर्ड भाइ छाङदावाले ब्रेक गरे । अब साथी (दाइ) छाङदावाको रेकर्ड ब्रेक गर्न आफू आतुर रहेको शेर्पाले बताए ।
६ पटक सगरमाथा (८,८४८ मिछर) आरोहण गरेका छन् उनले । २ पटक पाकिस्तानको केटु (८,६११ मिटर) २ पटक र कञ्चनजंघा (८,५८६ मिटर) एक पटक आरोहण गरेका छन् । शेर्पाले २०१९ मा ७ वटा हिमालको शिखर चुमे । अन्नपूर्ण (८,०९१ मिटर), धौलागीरी (८,१६७ मिटर), कञ्चनजंघा, नाग्गा पर्वत (८,१२५ मिटर), गासाबुम (८,०६८ मिटर) र ब्रोपिक (८,०४७ मिटर) हिमाल आरोहण गरे ।
सन् २०१० मे २३ मा सगरमाथामा र सन् २०१४ जुलाई २७ मा केटु हिमाल पहिलो पटक आरोहण गरे । २०१९ मेमा कञ्चनजंघा आरोहण गरे । देश विदेशका हिमाल आरोहणको अनुभव संगालेका शेर्पाका अनुसार ७ महादेशका (सेभेन समिट) आरोहण गर्न सरकारले सहयोग गरे सहजै सम्भव हुन्छ । एसियाको सगरमाथा, यूरोपको एलव्रुस, साउथ अमेरिकाको अकुङ्गा, अमेरिकाको डेनाली, अन्टर्टिकाको भिनसन, अफ्रिकाको किलिमेन्जरो र इन्डोनेसियाको करस्टोम पिरामिड चर्चित छन् ।
उनी आरोही मात्र होइनन्, रेस्क्यूमा सहभागी टोलीमध्येका एक हुन् । अहिलेसम्म ८० भन्दा बढीलाई जीवितै उद्धार गरेको अनुभव छ उनको । ३ जना भने मृत अवस्थामा फेला परेको पाउँदा त्यो बेला आफूलाई अत्यन्तै दुःख लागेको उनले बताए । सन् २०१६ को २ महिनाको अवधिमा सगरमाथामा ५२ जनालाई रेस्क्यू गर्ने टोलीमा थिए । शेर्पाले भने, “रेस्क्यू आफैमा जोखिमपूर्ण हो । तथापी कसरी बचाउँ भन्ने हुन्छ । बचाउन पाउँदा स्वर्गीय आनन्द मिल्छ ।”
देशविदेशका हिमाल आरोहण गरेका शेर्पा भ्रमण वर्ष २०२० सफल बनाउन उत्तिकै सक्रिय छन् । सन् २०१९ मा आरोहण गरेका सबै हिमालमा नेपालको राष्ट्रिय झन्डा फहराएका छन् । प्रचार–प्रसारको शैली सबैले आ–आफ्नो तरिकाले अपनाउन सके केही टेवा पुग्ने उनको विश्वास छ । नेपालको पर्यटन हिमालसँग बढी जोडिएकाले सरकारको प्राथमिकतामा पर्नुपर्ने उनको जोड छ । यद्यपि भ्रमण वर्ष सफल बनाउन नारा सँगसँगै काम पनि गर्नुपर्छ । आफू पनि सफल आरोही भएकाले देशकै पर्यटन क्षेत्रको विकासमा लागि पर्ने शेर्पाले बताए । “परिवारले सपोर्ट गर्ने पेशा होइन,” शेर्पाले भने, “झनै सरकारबाट कुनै सुविधा छैन । राम्रा आरोही सबै बाहिर छन्, कमैमात्र नेपालमा छन् ।”
प्रख्यात आरोहीको परिवार बिचल्लीमा परेको दृश्यले मन कुँडिने गरेको तीतो अनुभव उनले सुनाए । यद्यपि पर्यटन क्षेत्र देशको भाग्य र भविष्यसँग जोडिएकाले आरोहण पेशालाई अनुशासित, सुरक्षित र व्यवस्थित गर्न सरकारको मुख्य दायित्व हो ।

देवराज गुरुङ


सातामा धेरै पढिएको