कारोबार संवाददाता
सोमवार, आश्विन ६, २०७६
374

मुगु - कर्णाली प्रदेशको मुगुमा अवस्थित पर्यटकीय सम्भावना बोकेको ठाउँ हो, दूध दह । छायाँनाथ रारा नगरपालिका–१४ बाममा गाउँको उत्तरमा पर्ने यो स्थानमा एकै ठाउँमा सातवटा ताल छन् ।
प्रचारप्रसार नपाउँदा यी ताल पर्यटकको पर्खाइमा छन् । दूधताल पुग्न सदरमुकाम गमगढी बजारबाट २ दिन पैदल हिँड्नुपर्छ । सडक सञ्जाल नपुग्दा र प्रचारप्रसार नहुँदा एकै सेरोफोरोमा रहेको दूधताल ओझेलमा परेका छन् ।


यी तालको फरक विशेषता रहेको छ । बाह्रै महिना तालभित्र दूधजस्तो सेतो देखिने तालबाट अलि बाहिर आउँदा पानी देखिने भएको हुँदा यी तालको नाम दूध ताल नामाकरण भएको स्थानीय बताउँछन् ।

हिउँदमा हिउँले ढाकिने र बर्खाको समयमा हरियाली तथा विभिन्न प्रजातिका फूलहरुले सुन्दरता बढाएको हुन्छ । दूध तालमा घोरल, कस्तुरी मृग, हिमचितुवा, भालु, डाँफे, मुनाल आदि नाच्ने र पानी खान आउने गर्छन् । दूध ताल र अन्य पर्यटकीय क्षेत्रमा पुग्नको लागि गत आवमा कर्णाली प्रदेश सरकारबाट २५ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको छ । वडा नम्बर १४ भित्र रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, लोप हुन लागेका वन्यजन्तु, भेषभुषा, स्थानीय खाद्यान्न बालिहरुको संरक्षण र प्रचारप्रसारको लागि निकै लागिपरेको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष नन्दलाल बढुवालले बताए ।

दानबहादुर बुढा


सातामा धेरै पढिएको