कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
457

झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । धावनमार्ग मर्मत, विमान पार्किङ स्थल विस्तार गर्ने काम भइरहेको छ ।
विमानस्थलमा वान–वे धावनमार्ग मात्र सञ्चालन रहेकाले प्राधिकरण कार्यालयले विस्तारको योजनासमेत अघि बढाइसकेको छ । वान–वे धावनमार्ग विस्तारका लागि पूर्वपट्टीको स्थानीयको जमिन खरिद गरिसकेको छ । पश्चिमतर्फ सरकारी कार्यालयको संरचना र सडक रहेकाले त्यसलाई खाली गराउन आवश्यक पहल सुरु गरिएको चन्द्रगढी नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख पूर्णप्रसाद चुडालले बताए ।

धावनमार्गलाई विस्तार गर्न पश्चिमतर्फ रहेको नेपाली सेनाको ब्यारेक हटाउनु पर्ने बाध्यता रहेको प्रमुख चुडालको भनाइ छ । १ हजार ५ सय मिटरको धावनमार्गलाई १ हजार ८ सय मिटरको बनाउनुपर्ने भएकाले सेनाको ब्यारेक खाली गराउँदै चाराआली–केचना सडकसम्म विमानस्थलको क्षेत्रफल पुग्छ ।
“विस्तारका लागि जिल्ला प्रशासन कार्यालय झापाको भवन पनि भत्काउनु पर्ने हुन्छ,” चुडालले भने, “रात्रिकालीन उडानका लागि जहाज पूर्वबाट पश्चिम उडानुपर्ने हुन्छ, प्रशासन कार्यालयको भवनका कारण अहिले पश्चिमबाट पूर्व उडाइरहेका छौं ।” ‘सेनाको ब्यारेक हटाउँदा जमिनको आवश्यक पर्ने भएकाले यस विषयमा भद्रपुर नगरपालिकाले सम्बिन्धत क्षेत्रमा पहल गर्ने आश्वासन प्राधिकरणलाई दिएको चुडाल बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय झापाको भवन चारतले रहेको छ । धावनमार्ग विस्तार गर्दा दुई तला भवन भत्काउनु पर्ने हुन्छ । प्रशासन कार्यालयको भवन भत्काउनका लागि चन्द्रगढी नागरिक उड्डयन प्राधिकरण कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई एक हप्ताअघि लिखित प्रतिवेदन पठाइसकेको चुडाल बताउँछन् । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले जमिन खाली गराउने विषयमा पर्यटन मन्त्रालयमा पहल गर्ने चुडालले बताए ।
विमानस्थल धावनमार्ग स्तरोन्नति भइरहेकाले अहिले दिउँसो २ बजेबाट भोलिपल्ट बिहान ७ बजेसम्म उडान बन्द छ । विमानस्थलको धावनमार्ग १५ सय र चौडाइ ३५ मिटर छ । हाल विमानस्थलको थप सुरक्षाका लागि भन्दै धावन मार्गको दुवै तिर अढाइ मिटर थपेर नयाँ पिच लगाउने काम भइरहेको छ । विमानस्थलमा ठूला जहाज पनि आउन थालेपछि धावनमार्गलाई सुरक्षित बनाउन स्तरोन्नति गरिएको चुडाललले बताए । एयरपोर्टको विकास र विस्तारका लागि जनप्रतिनिधिले सक्दो प्रयास गरेको प्रमुखको भनाइ छ ।

 


सातामा धेरै पढिएको